~माधव बुढ़ाथोकी~
दँशैमा आनुपर्ने हस्ते, आएन । बंगलोर गएको तीन बर्ष भयो । यसपाली त आउँछु भन्थ्यो आएन । आमाले यो पाली छोरो आउँछ भनेर आशा गरेकी थिइन् , बाबुलाई पनि छोरोले आएर दँशै उज्यालो बनाउनेछ भन्ने लागेको थियो । दँशै आउनु हप्ता दिन अघि दँशै खर्च पठाइदिएछ । गाउँको चन्द्रबीरको हातमा स्वास्नी र नानीलाई अनि बाबु आमालाई लुगा पठाइदिएछ । उसले आउन मन गरेनछ यो पाली पनि ।
विहे गरेको तीन बर्षमा उ कमानको काम छोड़ेर बंगलोर लागेको , स्वास्नीलाई काम दिएर । सनमान गाउँको रहरसिंग कान्छाको छोरी वसु प्राइमेरी पढ़दा संगै पढ़ेकोसित उसले विहेबारी गऱ्यो । छोरी जन्मेपछि एकदिन हठात हस्तेले वसुलाई कमानको काम सुम्पेर तिलकबहादुर, सुकचन्द्रहरूसित लागेर बंगलोर हिँड़्यो । आमा बाबु यसरी हठात छोरो परदेश लाग्दा छक्कै परे । हस्ते जाँड़, रक्सी , मद – मदिरा खाने केटा पनि होइन, तास जुवाको लत पनि उसलाई छैन । अम्मल उसले केहि लिँदैन । स्वास्नीलाई काम दिने वेलामा एकरात उसले वसुलाई भनेको थियो । वसु – तिमी वाठी छ्यौ, चतुर पनि छ्यौ , यो कमानमा म जस्तो सोझो सीधा मान्छे भनेको जोतिनु मात्रै हो । चप्रासी वैदार मन्सीसित वेल्न सक्छ्यौ तिमी । म त महा गध्दु छु । फाइनल पास गरेर पनि मैले केहि गर्न सकिन । मन्सीको छोरा कुशल र म संगै पास गरेको, त्यो भन्दा म अझ तेजी हो, अफिसको इन्टरभ्युमा पनि त्यसले सप्पै मेरो सारेको । त्यसले भन्दा मैले कता हो कता राम्रो गरेको इन्टरभ्युमा । तर त्यो ऐले अफिसको फोन बाउ भयो । ऐले त्यल्ले मैले टिपेको पत्ती तौलिन्छ, मेरै पत्ती काट्छ । म अब यो कमानको काम गर्दिन , तिमी मेरो बद्ली हिँड़ , म बंगलोरतिर गएर राम्रो काम खोजेर घरमा पैसा पठाउँला । वसुले लोग्नेको कुरा काटिन ।
हस्ते किन घर आउँदैन, कि त्यो कु लततिर लागेको छ कि क्या हो… हस्तेको बाबु सिरिलालले चन्द्रबीरलाई सोध्यो ।
अम्मुई…., त्यस्तो काँ हो हस्ते । हस्ते भाई त अहिले कम्पनीको साह्रै विश्वासिलो मान्छे पो भा को छ त बड़ा । साह्रै सोझो मान्छे । उसलाई त कम्पनीको धेरै जिम्मेवारीहरू छ नि । कम्पनीको क्वार्टर छ उस्तै राम्रो । घरको काम गर्ने चाकर पाएको छ । उसलाई लिनु विहान गाड़ी आउँछ, वेलुकी उसलाई पुऱ्याउनु गाड़ी जान्छ । खट्नु पनि पुरा खट्छ उसले ।
अन्त, घरमा चैं किन आउँदैन त…कि त्यताको केटीहरूसित लागेको त छैन….
विचा….रा त्यस्तो अपराध चिताउनु हुँदैन उसलाई बड़ा, उ त्यस्तो खालको मान्छे नै होइन ।
चन्द्रबीर फर्कँदा बुढ़ाले एउटा लामो चिठीमा कमसेकम घरमा चिठी पठाउनु , के कसो छ जानकारी लिनु भनेर थुप्रै अर्ती उपदेश लेखेर उनले पठाए । हस्तेकी आमाले गुन्द्रुक, सिन्की, अचार, दँशैको सुकेको मासु हालिदिए । वसुले आफ्नो लोग्नेलाई नानीको फोटो, छुर्पी, हर्लिक्सको वोतलमा खारेको घिउ पठाइदिई अनि सुटुक्कै एउटा चिठी पनि लेखेर पठाई ।
कमानमा कुशल फोनबाबुको नाममा धेरै अभियोगहरू देखा परेकाले निकै गुईँ गुईँ हुन थालेको थियो । कति कुल्लीहरूले लिएको लोनको पैसा यता खर्चबाट भने पन्ध्रैपिछे लोन काटिरहेको उता बैंकमा भने जमा नभएकोले बैंकले नोटिस पठाइरहेको कुराहरूले कुल्लीहरू मुर्मुरिइरहेका थिए । कतिको ग्रेचुटीको पैसा पुरा नपाएको जस्ता थुप्रै समस्याहरूले कमानमा अशान्ति मच्चिएला जस्तो भैरहेको थियो ।
वसुले एकदिन घरमा कुरा गरी – कमान त वन्द होला जस्तो पो छ । कुन दिन चैं भयंकर लँड़ाई हुन्छ होला ।
सिरिलाल बुढ़ाले भने – हाम्रो हस्तेको पाप लाग्छ त्यो कुशललाई ।
ठीकै भयो हौ बाबा, हाम्रो उसको टाउकोमा आउँथ्यो होला कति कुरा ऐले उसलाई कुनै टेन्सन नै छैन ठीकै छ त ।
चन्द्रबीर फेरि एक हप्ताको लागि घर आएछ । चन्द्रबीरले ल्याएको खबरले छक्क परे सिरिलालको परिवार । हस्तेले सबै परिवारलाई बंगलोर बोलाएको रहेछ । बागडुग्राबाट हावाजहाजको टिकट काटेर पठाएको रहेछ, चन्द्रबीरलाई लिएर आउनु भनेको रहेछ । चन्द्रबीरले भन्यो – हस्ते अहिले हस्ते सर भएको छ , कम्पनीले उसलाई म्यानेजर बनाएको छ । उसले त उतै पढ़ेर आजकल ता टाई पो लाउँछ ता ।
अब यत्रो घर कसरी छोड़ेर जानु …
पर्दैन बड़ा, अब ठन्डा महिनाभरि उतै वसेर आउनु । यो नाथे घर हाम्रो घरकाहरूले हेरिदिइहाल्छ नि…भन्यो चन्द्रबीरले ।
हस्तेको परिवार हावा जहाजमा चड़ेर बंगलोर पुगेको दिन कुशललाई घेरेर कुल्लीहरूले ताङधिङ पारेर झमेला भएपछि मेनेजरले पुलिस बोलाएर पक्राएछ अनि हेड अफिसले इन्क्वाइरी गर्दा कुशलले धाँधली गरेको पुष्टि भएछ । बंगलोर पुगेपछि कम्पनीको गाड़ीले सिरिलाल र परिवारलाई कमानको साहेबको भन्दा दामी बंगलोमा पुऱ्याउँदा होइन हामीलाई कहाँ ल्याइपुऱ्यायो भनेर डराए तिनीहरू । बंगलोबाट निस्केर हस्तेले बाबु आमालाई ढोग्यो स्वास्नीलाई च्याप्पै हातमा समातेर नानीलाई अँगालो हालेर उचाल्दै म्वाई खायो । नोकर चाकर र ड्राइभरले सामानहरू बंगलोभित्र पुऱ्याएपछि सबैजनालाई भव्य सिटिङ रुममा बसायो । छक्क परे बुढ़ा उसको छोरो अहिले त्यो कमान हिँड़ने हस्ते थिएन । उ त अर्कै थियो, ए हो के त यो त्यही हस्ते हो के त भने जस्तो लागिरहेको थियो । वसु खुशी र लाजले खुम्चिरहेकी थिई ।
बुढ़ाले कुरा बुझे । हस्तेले आफूलाई यो स्तरमा पुऱ्याउन कति संघर्ष गरेछ अनि उ किन घर ऩआएको रहेछ भनेर ।
। मिरिक ।
24.07.2015- 6 बजे वेलुकी ।