कविता : भ्रष्टाचारी दुबो

~आयाम फुयाल~Aayam Phuyal

बेजोडले गड्गडाउँछ
खोलो गर्जेर बग्छ
हजारौँ टरबाइन घुमाउने
शक्ति भिरी आउँछ
तर…
टरबाइन झोलामा बोकिन्छन्
र शक्ति गएर गाउँमा पोखिन्छन्!
एक साता पछी,
ताल बनेको गाउँमाथी हेलिकप्टर भट्भटाउँछ
सजीव लासले गिज्याउँछ
निर्जीव लासले पनि गिज्याउँछ
र तीन पाउण्ड पाउरोटी फाल्छ
भोलिपल्टको खबरले भन्छ-
बाढीपिडितलाई तीन करोडको राहत वितरण!
अघिल्लोदिन चिल्ला रोड देखिन्छन्
भोलिपल्ट,
गाडीको चक्काले अड्डा हिँडेको कथित राष्ट्रसेवकको प्यान्टमा
बाटोको हिलो लिपिदिन्छ
सराप्छ… मज्जैले सराप्छ…
र देख्छ बाटो छेउछाउका सुकिलामुकिलाका अलकत्रे महल!
दुई व्यक्ति
दुई व्रिफकेश
चार डिब्बा
निर्धक्क हाँसोका साथ साटिन्छन्
भोलिपल्टको पत्रिकाले छाप्छ-
फलानो निकुञ्जमा चार गैँडा मृत भेटिए!

पोल्छ…
चर्किन्छ…
अनि देशभक्ति अल्लालिँदै आह्वान गर्छ-
झुन्डाइदे ती झोले
डोजर लगाइदे ती अलकत्रे महल
गिँड्दे ती टेबलमुनिका हात
र तेजाब छर्किदे यो मौलाएको
भ्रष्टाचारी दुबो माथि !!!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.