संस्मरण : लाहुरे फूलहरुलाई सम्झँदै

~ईश्वर चाम्लिङ~

सम्झनाहरुको के कुरा र ? सम्झनाले त पलभरमै निथ्रुक्क रुझाई दिन सक्छ । वर्षाको दर्के पानीले झैं वा उडाई लान पनि सक्दछ, चैत-बैशाखको हुरीले सुकेका पातहरु उडाएझैं । न यसको आउने कुनै क्रम नै हुन्छ, न त यसलाई इतिहास झैं क्रमैसँग राख्ने नै गरिन्छ । यद्यपि सँगालिन्छन् सम्झनाहरुलाई सबैको मनभरि, मुटुभरि र कहिलेकाही सम्झने गरिन्छ, बितेका पलहरु आखाभरि । सायद त्यसैले सम्झना एक अलिखित इतिहास हो, जसलाई जुनबेला र जहाँबाट पनि पढ्न सकिन्छ, देख्न सकिन्छ वा सम्झन सकिन्छ । सम्झना मेरो विचारमा मूलको पानी जस्तै हुन्छ । हरेक पलहरु बित्दै जाँदा सम्झनाहरु पनि यसै बन्दै जान्छन् । मूलको पानी उम्रन्छ र बग्दैबग्दै सागरमा पुग्दछ । सम्झना पनि त्यसरी नै जीवनको भोगाइहरुबाट बटुलिदै-बटुलिदै मनभित्र सँचित हुने गर्दछन, जीवन भोगाइका भोगहरु । तिनै जीवन भोगाइका केही विशेष तरंगहरुलाई पछ्याउन खोज्दैछु । बिना कुनै क्रम झण्डै-झण्डै जथाभावी ……तल-माथि । लेख्न बस्दा वा लेख्न बस्नु भन्दा केही क्षणअगाडि जे सम्झन्छ मनले त्यही विषयबस्तुलाई काँचो कागजमा लेखिएको अति थोत्रो तमसुकलाई झैं वल्र्टाई-पल्र्टाई पार्दै तरङ्गिदैछु ।

समय उसबेलाको जस्तो छैन । समयले धेरै नै परिवर्तनहरु ल्याई सकेकोछ । आजभोलि समय ज्यादै नै द्रूतगतिमा सिर्जनशील हावाको झोँकाहरु बोकेर बहँदैछ यो संसारमा, यस्तै लाग्छ मलाई । यहाँ हिजोआज सिर्जनाको मूल फुटेकोछ, यस्तै अनुभुत हुन्छ मलाई । प्रतिभाहरु एकपछि अर्को र अर्कोपछि अर्को आफ्नो पहिचान बनाउदै अगाडी बढिराखेकाछन् । सबैले मनमा केही न केही चिन्तन साँच्न थालेका छन् । साँच्चै भन्ने हो भने लाहुरघरमा यो एक किसिमको अघोषित क्रान्ति चलेको छ र एक पृथक आयाम चालै नपाइ भित्रिँदैछ । कठाङ्ग्रिने हिउँदे बिहानीको जाडो छिचोल्दै प्रभातकालीन किरण बनेर चुम्न शीतको थोपाहरुलाई । जुन आयाममा थामिनसक्नु देशप्रेम बोकेको म महशुस गर्दछु । हाम्रो भाषा, हाम्रो कला, साहित्य, गीत-सङ्गीत र संस्कृतिको बचाउ र विकासका लागि निस्वार्थ निरन्तर लागीपरिरहेको म देख्दछु । मैले सुनेको छु, उसबेला हाम्रा बाजे पुर्खाहरु घोँडेरम खान्थे अरे । आफू आफू मरणासन्न लाक्पा खेल्थे अरे । खुकुरी सिरानीमा नराखी सुत्ने कोही पनि हुँदैनथ्यो अरे । यो हाम्रो ऐतिहासिक कथाको अर्थ तपाईहरु के के निकाल्नु हुन्छ त्यो त तपाईहरुमा नै भर पर्दछ । तर मलाई लाग्दछ, सायद हाम्रा बाजे पुर्खाहरुले घोँडेरम खान्थे हैन, खुवाइन्थे होलान् । जबरजस्ति कोच्याएर लत बसाइन्थ्यो होला । सोँझोपनको फाइदा उठाउदै लाक्पा खेल्न र खुकुरीले काटाकाट खेल्न लगाइन्थ्यो होला । २०० वर्ष पछिको पुस्ता परेँ म । मलाई यस्तै लाग्दछ, आजकल ती कथाहरु सुन्दा । धेरै तथ्यहरु लुकाएर बनावटी कहानीहरु ज्ाोडेर सुनाइएको दन्त्यकथा जस्तो । त्यसकारणले पनि म यो आयामलाई स्वच्छ सलाम ठोक्दछु न की यस्तै दन्ते कथाहरु हाम्रा भावी सन्ततिहरुले सुन्न नपरोस् । हामी हाम्रो तथ्यकथाहरु ब्यथाहरु हाम्रै कलमले लेखेर छोडिजान सकौँ । हामी हाम्रो गीतहरु हामी आफैले लेखेर गाउँदै हिँड्न सकौँ वा भावी सन्ततिहरुलाई सुनाउन सकौँ ।

यसबेला म यो परिवेशको एक विशेष प्रतिभालाई सम्झिराखेको छु । जुन प्रतिभा लाहुरघरभित्र भित्रिसकेको नौलो आयामको प्रमुख पात्रहरु मध्येमा पर्दछ । यस्ता प्रतिभावान लाहुरेहरु मलाई फूल जस्तै लाग्दछन् । लाहुरे प्रतिभाहरुले लाहुरघरको शोभा बढाइराख्दछन्, जसरी आँगनी डीलमा फुलेको फूलले घर नै उज्यालो बनाई राख्दछ । त्यसो त लाहुरघरमा जन्मिएका यस्ता प्रतिभाहरु कोभन्दा को कम प्रिय छन् र मेरो लागि यद्यपि सम्पूर्ण प्रतिभावान साथीहरुलाई एकै बसाइमा सम्भिmन खोज्यो भने त घण्टा र दिन मात्र हैन, दुर्इचार रातहरु, चारपाँच दिनहरु नै बस्नुपर्ने हुन्छ । एक छुट्टै सिर्जनशील आकाश साहित्यिक, साङ्गीतिक, कलात्मक र संस्कारित सुन्दर संसारको भ्रमण गर्नुपर्ने हुन्छ । भविष्यमा समय सान्दर्भिक हुँदा सम्झनामा टोलाइदिने छु एक एकलाई तर यो बसाइमा भने म सायद धेरै नै प्रभावित भएर हुनसक्छ खालि सम्झिरहेकोछु, उही एक प्रतिभालाई, धेरै सम्भावनाहरुका स्रस्टालाई देखिरहेकोछ यो मनले ।

आजभन्दा करिव ९ वर्षअगाडि एकजना भाइसँग चिनजान हुन्छ मेरो ब्रुनाईमा । कुराको थालनी उसले नै गर्दछ -”दाजु म पनि चाम्लिङ नै हो ।” एक मिजासिलो ज्यादै चट्के भाइ मिलन चाम्लिङसँग साइनो गाँसिन्छ मेरो साख्य दाजुभाइको । तरहरामा जन्मेर भोजपुरमा हुर्केको भोजपुरे ठिटो मिलन भाइ, म कहाँ खोटाङको तर मलाई आजकल मेरै भाइ साइँला जस्तो लाग्दछ । उसले गरेको प्रगति देखेर म मख्ख पर्छु । मजस्तै एक सिपाही ऊ पनि तथापि एक सिपाहीले आफ्नो भाषा, संस्कृति, गीत-सङ्गीत र नेपालीपनको खातिर गरेको योगदानको कदर गरेको चाँहि पक्कै हुँ । एक सिपाहीको सामान्य दिनचर्या के हुन्छ र ? लडाइ चलेको छ भने लडाइमा बहादुर भएर लडाइ लड्न जाने । हुकुम मान्ने । लडाइ नचलेको बेला त्यही सँधैको शारीरिक अभ्यासहरु, त्यही आफू छिपेर अरुलाई देख्ने तथा आफू बाँचेर अरुलाई मार्ने । ब्यानेटले घोचिघोची मार्ने ब्याँल्क राउण्ड पड्काउदै हमला गर्ने । उही कुकहाउसमा लामलागेर भात थापेर खाने । हरेक बेलुका नाफीमा बस्ने टिभीमा फुटबल हेर्दै वियर खाने । लाइटआउट गर्ने अफिसर भित्र छिरेपछि बिस्तारै कोठातिर लाग्ने । यही क्रम त दोहोरिरहन्छ र बित्छ हप्तौ, महिनौ र वर्षौं । तर यी सिर्जनशील साथीहरुलाई मैले कहिले नाफीतिर देखिनँ । उनीहरु त नाफीमा खर्च हुने समय सिर्जनाको कार्यमा लगानी गर्दारहेछन् ।

मिलन हरेक बेलुकी २ घण्टाको लामो रेलको यात्रा गरेर २० मिनेटको काल्स लिन लण्डन पुथ्यो । कहिलेकाहिँ मध्यराततिर -”दाइ चाउचाउ छ ?” भन्दै आइपुग्थ्यो । उसको उत्साह, जाँगर र मेहनेतले मेरो धेरै निदाउनुअघि गुज्रने मीठो सुस्केराहरु रङ्गिएकाछन् । ती सुस्केराहरुमा मैले धेरै चोटी उस्लाई शिखर चुमेको देख्ने गर्थे र भन्दिने गर्थे कहिलेकाहिँ बिहानैको कफी-गफमा सफलता टाढा हुँदैन, आफ्नै पाखुरीमा हुन्छ, आफ्नै मनमा हुन्छ । यसरी वर्षौं एक किसिम तपस्या जस्तो गरेर ऊ एकदिन एउटा सुन्दर सर्टिफिकेट देखाउँदछ मलाई । मानौं, ऊ मलाई भनिराखेकोछ- अब ऊप्रान्त ऊ एक सक्षम क्यामेराम्यान र भिजुअल निर्देशक अनि भीडीयो सम्पादक भएको छ । उसको सफलतामा म मख्ख पर्दै धाप मारेर अरुले दिने गरेको भन्दा दोब्बर-तेब्बर बधाइ दिन्छु । त्यस पछिको दिनहरु हो मिलन चाम्सको, चाम्स कर्म क्षेत्र करिब चार वर्ष त भयो होला । ऊ अहिले सफल भीडीयो गीत निर्देशक तथा एकदम भरसिलो चलचित्र निर्देशक भैसकेको छ । जव उसले निर्देशन शुरु गर्‍यो, मिलनले आफ्नो चाम्लिङ थरलाई चाम्स् बनायो । किन बनायो ? राम्रो गर्‍यो कि, नराम्रो गर्‍यो ? त्यो त मलाई थाहा छैन तर चाम्स् भएर नै ऊ उदायो र त्यही पृथक नामको पछि-पछि दौडँदै महिनैपिच्छे कमसेकम एउटा नयाँ म्युजिक भीडीयो ल्याएर देखाउने गर्न थाल्यो । मैले आजसम्म करिव दुई दर्जन जस्तो उद्वारा निर्देशित म्यजिक भीडीयोहरु हेरिसकेकोछु । केही कमेन्ट गरुँ भनेर कसिन्छु तैपनि कतै कमेन्ट गर्ने ठाउँ नै पाउँदिनँ । यसोभन्दा विश्वास हुन सक्छ वा आफ्नै भाइको कुराहरु के नकारात्मक लेख्दथ्यो पनि भनिन सक्छ । तर विश्वास गर्नुस् या नगर्नुस्, यो मैले लेखिराखेको कलमको कसम, मलाई ती भीडीयोहरु कुनै नराम्रा लागेका छैनन् । यस अर्थमा म असजिलो नमानिकन मिलनले निर्देशन गरेका कुनै पनि भीडीयो नराम्रो छैन भनेर ठोकुवा गर्न चाहान्छु । मिलनले चर्चित गायक राजेश पायल राईदेखि भीषण मुकारुङ, आभा मुकारुङ, हेमन्त चेम्जोङ, भुमिराज राई, आकाश सुनुवार, मौसमी गुरुङ आदिको आवाजलाई र नेपालको ख्यातीप्राप्त कलाकारहरु धीरेन शाक्य, सुरबीर पण्डित, अमृत जंग बस्नेत, मुना कार्की, सन्जीता गुरुङ, नम्रता श्रेष्ठ, भिन्तुना जोशी, दीपसिखा गुरुङ आदि तथा धेरै लाहुरघरका र केही लाहुरघर बाहिरका आप्रवासी कलाहरुलाई भीडीयोमा सँगालेर नेपाली साङ्गीतिक आकाशका सजाईसकेकोछ । ती भीडीयोहरु उच्च स्तरको अनि मनोरञ्जनात्क भएकै कारण नेपालका पेशागत रुपमा लागेका निर्देशकहरुलाई धावा बोल्दै ग्यालेक्सि, र् इमेज तथा अन्य थुप्रै काउन्ट डाउनहरुमा नम्बर वान भएर रोकिएका छन् । मलाई यसबेला सम्झना भएकोहरुमध्ये राजेसपायल र्राईको स्वरमा “खास त केही छैन”, मौसमी गुरुङको स्वरमा “लाउन त लाइदियौ माया” ग्यालेक्सी काउन्ट डाउनमा एक नम्बर भएर रहेको थियो । त्यो समयमा हामी इन्टरनेटमा चेक गर्दै घरकै टीभीमा सीडी बजाएर सबै झुम्मिएर उसलाई बधाइ दिन्थ्यौं । परदेशिनुको लाखौँ पीडाहरुमा यस्ता कुराहरु पनि पर्दछन् । आफ्नै देशमा भएको भए ती जोशिला मनहरुले झन् कति प्रगति सोहोर्थे होलान् ?

केही महिनायता चाम्सको म्युजिक भीडीयो अलि पातलियो, त्यति अनौठो लागेन मलाई किनकि मलाई थाहा थियो, उनीहरु सबै मिलेर प्रभात प्रोडक्सनको ब्यानरमा चलचित्र ‘वास्तविकता’ बनाउँदै थिए । लाहुरघरको बिभिन्न कथाहरुबाट कुनै एक मार्मिक कथा पस्केका रहेछन् दुई हप्ताको क्रिसमस छुट्टीमा उनीहरुले (वास्तबिकता युनिटले वा प्रभात प्रोडक्सनले)। वास्तबिकताको नालीबेली त चलचित्र हेरेर नै लिनुहोला, कतै हेर्न नभ्याउनुहुनेहरुलाई मेरो भोलि पर्खन आग्रह गर्दछु । एक अर्को कुनै बसाइको लागि सम्झना साँच्न चाहान्छु वास्तबिकताको । यसरी प्रगतिशील भेलमा हेलिँदै हिँडेका मान्छेहरु कहाँ यतिकै बस्न सक्छन र ? खाली उर्ली राख्न मात्र खोज्दारहेछन् । मिलन र गीतकार दाजु जितेन्द्रले फेरि तुरुन्तै समर सिजनमा पाउने तीन हप्ताको छुट्टीमा पनि अर्को चलचित्र बनाउने योजना बनाएछन् । टेलिफोनमा हल्का कुरा चलाएको थियो जहिले भेट्दा पनि कथा र पटकथाको कुरा नै हाम्रो भलाकुसारी बन्न थाल्यो । साह्रै भयो जानी-नजानी, कनीकुथी प्रवासकै एउटा विषयवस्तुमा बाँधिए र नाम राखिदिएँ ‘पश्चाताप’ । सुटिङ्ग पनि तुरुन्तै शुरु गरी हाले यिनीहरुले र नभन्दै झन्डै समरलिभ र केही सप्ताहन्तहरु र्खर्च गरेर सिध्याई पनि हालेछन् । भर्खरै, यो संस्मरण सिध्याई हालौं भनेर सान्दर्भिक फोटोहरु लिन गएको थिएँ । उसको कुरा सुनेर म त वाल्लै परेँ । चाम्स फिल्म प्रोडक्सन प्रा.लि. दर्ता भईसक्यो रे ! ‘पश्चाताप’ राजधानीलगायत नेपाल अधिराज्य र बिदेशका बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने रे ! लाहुरघरका प्रतिभाहरुलाई स्वदेशदेखि संसारभरि ऊजागर गर्ने रे ! खै के के हो के के ? शुभकामना दिएर घर फर्किएँ । अन्तिम हरफहरु लेख्न बाँकी छाडेर मोन्टाज डिजाइन गर्दै सोचेँ । चाम्स आफै एक वहुप्रतिभावान भाइ उसको प्रगतिसँगै कति धेरै प्रवासी नेपाली कलाकारहरुको प्रेरणा बनेको छ ऊ, प्राय सबै नै लाहुरे गीतकारहरुको गीतहरुको भीडीयोदेखि चलचित्रको निर्माण तथा निर्देशनसम्म । प्रवासी नेपाली समाजका लागि उसले गरेको योगदानहरु योभन्दा ठूलो अरु के हुन सक्ला र ? अन्तमा लेख्न चाहान्छु, विश्वासले जितेको छ सबैलाई चाम्सले र मलाई पनि विश्वास छ । ऊ निरन्तर सिर्जनाकर्ममा लागि रहनेछ जुन सिर्जनाहरु युगौँयुगसम्म युगहरुले हेर्दै जानेछन्, देख्नेछन् र बुझ्नेछन् । लाहुरघरमा भित्रिएको नयाँ आयामहरु मध्येको एक आयामेली भाइ तिमी फुलिराख है, तिमी फूलेर ढकमक्क भइरहनेछ लाहुरघर ।

(स्रोत : Nepal.hk)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.