कविता : नेपालका प्रथम राष्ट्रपतिहरु

~मोती चाम्लिङ~

लिगलिग कोटको दौडजस्तै

लाखौंबाट छानिएका धावकहरु

उछिन-पाछिन धकेलेर

खुट्टा खुट्टामा छिर्के हालेर

तँछाड-मछाडको स्पर्धामा

हतास दौडिरहेका

देख्न आज दुर्लभ रहेन

नयाँ युगको नयाँ अवतार

धर्ती पलट गिराउने वराह अवतार

वन्चरोधारी पर्शुराम अवतार

महाभारतको कृष्णलीला अवतार

अयोध्यापुरीको रामचन्द्र अवतार

यस्तै थुप्रै अवतार भन्या जस्तै

आफ्नो जिकिरको आफ्नै अवतार

सपनै सपना देख्नेहरुले

लिगलिगकोटमा हङगामा चलाएर

एउटा तमासा रचिरहेका छन्

हामी रमितेहरु एकाग्र र

ध्यानमग्न भएर आफनै उल्लासमा

गणतन्त्र दिवसको रात्रिभोजसँगै

आफ्नो अमिलो डकार आफ्नै नाकले तानेर

सिद्राको अचारजस्तै तीखो मान्दै

अनायास सुंघिरहेका हुन्छौ ।

घुमाउरो रिले दौडको

भञ्ज्यांग छिचोल्न सास्ती खेप्दै

मुखभरि तरेलीको गाज निकाल्दै

एकापसमा गाली थोपरेको

यही कानले सुन्न पाइयो

जनताको छाती कुल्चेर

वनावटी दुई फूट उचाई थप्दै

लिगलिग कोट र नेपाल कोटको

योग्य अधिकारी मै हुँ,

आफ्नो आवाज भीडभित्रै

बिलाउने डरै डरमा

मै ठीक बोल्ने खेतालाहरु खोजेर

हुकुमको सन्दुकभरि सपना बुनेर

उत्रेका छन् मैदानमा

वहिस्कृत कलुषीत अनुहारहरु

नेपालका प्रथम राष्ट्रपतिहरु ।

-हेन्नेसी रोड वानचाई, हङकङ

June 17th, 2008

(स्रोत : Nepal.hk)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.