~अनिल किराती~
पहाड झरेको छ ममाथि
घर भत्किएको छ
ढुङ्गा माटोले पुरिएको छु म
छुट्टिन लागेका छन् शरीरबाट –
हात, खुट्टा र टाउको
घोचिएको छ काठका चोइटाले
कोखा, तिघ्रा र कम्मर
नङको फेद, गीजा र कुर्कुच्चाबाट
बगेको छ रगत
गाँठो परेको छ श्वासनली
र रोकिएको छ सास
कालो पर्दा खसेको छ आँखामा
दलिएको छ अनुहारमा फुस्रो रङ
तर म अझै मरेको छैन
मैले आय्या पनि भनिनँ
र दुखेन यै पटक मलाई फेरि
अर्थात् दुखेको अनुभूत नै गर्न पाइनँ
मैले जान्छु है भनिनँ
र भन्न पनि भ्याइनँ
अर्थात् म यहीँ छु
नजिकै छु
म अझै गएको छैन कतै
साँच्ची भन्नुपर्दा
तिमीले मलाई कैले देखेनौ
मैले कति बोलाएको हो कैले सुनेनौ
मैले भेट्न चाहेँ तिमीले कैले चाहेनौ
भो अब नखन मलाई
मेरोबारेमा नसोध
मलाई नखोज
म हराएको छैन
मलाई चाहिएन राहत
तिमी नै राख
नदेऊ मलाई सहानुभूति
चाहिएन श्रद्धाञ्जली
म मरेको छैन
म जहाँ छु ठिक छु
तर –
के तिमी जहाँ छौ ठिक छौ ?
के तिमीले जे गरिरहेका छौ ठिक गरिरहेका छौ ?
के तिमी बाँचिरहेको प्रमाण छ तिमीसँग ?
डुङडुङती किन गन्हाइरहेको तिमी ?
बेवारिसे पुरिएको त म हुँ
ए सरकार
होशियार !
बर्खायाम अझै बाँकी छ
थामिएको छैन सुनकोशी
चर्किएको घरभित्र
टाङटाङ टुङटुङ ठोक्किएर
खाली प्लेटहरु
आइरहेको छ परकम्प
र बढ्दैछ भयावहता ।
(स्रोत : Egkabita)