कविता : फर्कँदैछु आमा अब म

~राजेन्द्र कुमार थापा~

संविधान-सभाको नतिजा हेरेँ,
महिलाको अत्यधिक सहभागिता देखेँ,
नयाँ नेपालको नयाँपन ठान्दै भनेँ-
‘दिदी-बहिनीहरु, तिम्रा आँट तथा हौसलालाई सलाम !’
संविधान-सभाको नतिजा हेरेँ,
जनताको सर्वोपरि सत्य रुप देखेँ,
नयाँ नेपालको आधार खण्ड मान्दै भनेँ-
‘स्वदेशी वन्धुहरु, तिम्रा प्रकट फैसलालाई सलाम !’

कहाँबाट शुरु गरौँ ? कताबाट थुम्थुम्याऊँ ?
आप्रवासी जीवन भोग्ने क्रममा
स्थानीयसँग मिस्सिन खोज्ने क्रममा
मैले कसरी सीमाहरु नाँघ्दै गरेँ ?
म कसरी अनेपाली बन्दै गएँ ?
अहिले सोँच्छु-
मृगतृष्णा नै रहेछ, ‘म’बाट स्वयँलाई भगाउन खोज्नु ।
दिग्भ्रमित बनेछ सोंच, मनबाट रहर छुट्याउन खोज्नु ।
कति चाहेथें, स्थानीयझैं दुरुस्त भई प्रवासमा फ्युजन हुन !
तर हरेक मेरा प्रयासमा म फगत नेपाली भई अलग्गिएँ ।

मैले दैनिक बगाएको पसिनाका धाराहरुले,
मैले दैनिक खटाएको थकानका भारहरुले,
कुनै एकै दिन पनि मलाई स्थानीयपनको आड दिएन ।
कुनै एकै दिन पनि मलाई सहअस्तित्वको बोध दिएन ।

लाखौँ सपुतहरु विदेशिएर देश खाली बनेको बेला,
नयाँ नेपालको नयाँ खाका कोरिँदैछ स्वदेशमा,
कति मात्रै भिजाउने पसिनाले परदेशको माटो ?
स्वदेशका बारीहरु दशकौंको खडेरीले जर्जरिएका छन्,
स्वदेशमा खेत र करेसाहरुमा झाडीका झ्याङ पलाएका छन्,
कति मात्रै भिजाउने पसिनाले परदेशको माटो ?

संविधान-सभाको नतिजा हेरेँ,
महिलाको अत्यधिक सहभागिता देखेँ,
नयाँ नेपालको नयाँपन ठान्दै भनेँ-
‘दिदी-बहिनीहरु, तिम्रा आँट तथा हौसलालाई सलाम !’
संविधान-सभाको नतिजा हेरेँ,
जनताको सर्वोपरि सत्य रुप देखेँ,
नयाँ नेपालको आधार खण्ड मान्दै भनेँ-
‘स्वदेशी वन्धुहरु, तिम्रा प्रकट फैसलालाई सलाम !’

फर्कँदैछु, आमा म अब तिम्रै पाउमा,
मलाई जिउनुको सार्थकता खोज्नु छ,
फर्कँदैछु आमा म अब तिम्रै काखमा,
मलाई नेपाली हुनुको भेद खोल्नु छ ।
फर्कँदैछु, आमा अब म स्वदेशमा ।

-हङकङबाट
2008

(स्रोत : Nepal.hk)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.