~मिना लामिछाने~
समय—समयको कुरा हो । समयचक्रकै कारण ‘रामसिं’ पनि टाढा रहन सकेन त्यसैले अब ऊ बुढेसकालको चपेटामा घचेटिँदै गएको छ । आफ्नो जिन्दगीमा अत्यधिक सङ्घर्षहरूको सामना गरेर बुढेसकालमा सुखमय जीवनयापन गर्ने उसका सपनाहरू सपनामै परिणत भएका छन् । उसले यो धर्तीको माटोमा आफ्नो रगत र पसिनाले धेरै नै सिंचित गरेको रेकर्डहरू जानिफकारहरू पनि बताउँछन् र आफैले नै यो कुरा स्वीकार्दै आफ्नो दुःखेसो ‘चन्द्रकान्त’ सँग पोख्न सुरु गर्छन् ।
के गर्नु र आफू त पहाडमा जन्मिएर उहीँको वातावरणमा हुर्किन पर्यो । आफूलाई शिक्षा दिने क्रममा बाबा—आमाले धेरै दुःख उठाउनु भएको थियो । तैपनि पहाडी र गाउँले चालचलनले र पहिला गाउँमा स्कुल नभएको र सहरमा राखेर पढाउँदा धेरै खर्च लाग्ने कारण बाबा—आमालाई बढी बोझ पर्ने भएर इच्छाअनुसार पढ्न सकिएन अनि बालखैमा विवाह पनि भयो । अनि त झन् मनमा धेरै तर्कनाहरूले घर बनाउन थाल्यो, अब त आफ्नो नै बालबच्चाहरू हुन्छन् अनि उनीहरूलाई शिक्षादीक्षा दिन कठिन हुन्छ, बरु सहरमा बसेर अलिकति दुःख गरेर भए पनि केटाकेटीहरूलाई पढाउन सकियो भने त उनीहरू शिक्षित हुँदै ठूलो भएपछि आफूलाई धेरै सुख भैहाल्छ भन्ने तिर्सनाको सपना बोकेर आफ्नो जन्मस्थान (पहाड) लाई चटक्कै छोडेर चितवनको सहरमा बसेर धेरै दुःख गरियो ।
यहाँ मानिसले गर्न हुने किसिमका कुनै पनि कामहरू गर्न पछि परिएन । मेरो साथमा रहेर मेरी श्रीमतीले समेत साह्रै धेरै दुःखको सामना गर्दै सबै कामहरू गरी मलाई पूर्ण सहयोग गरकी छन्, त्यो मैले कहिल्यै पनि भुल्न सक्दिन । अनि मलाई भगवान्ले सन्तान पनि भरपूर नै दिएका छन् तर सन्ततिलाई जन्मसँगै सही र राम्रो मति भगवान्ले नदिएर हो कि म आफैले नजानेर हो मेरो इच्छा विपरीतका धेरै कुलत व्यवहारमा फसेका कारण मेरा नजर कहिलेकाहीँ आफै वर्षात्को आकाश बन्न पुग्छ । म आफू ब्राह्मणको छोरो भएको र मेरा पनि पिताले बाबु तिमीले कहिल्यै पनि मद्यपान नगर्नु भन्नु भएकोले मैले त्यस्तो मेरो पूज्यनीय पितालाई मन नपर्ने काम गर्न हुँदैन भनेर गरिन, तर मेरो त जेठो छोराले नै जाँडको घैँटामा डुबेर पौडी खेल्न थाल्यो अनि मेरो चाहनाअनुसार पढ्दा पनि पढेन र व्यवहार पनि गरेन । त्यसैले उसलाई देखेर मेरो मन अति नै रुन्छ र मलाई आँखा नै तिरमिरिएको अनुभव हुन्छ र एकान्तमा बसेर रून मन लाग्छ । अरू सन्ततिले त हालसम्म मेरो चाहनालाई लात हान्न सकेका छैनन् । त्यसैले अझै पनि मेरो सुख र सन्तोषका दिनहरूको प्रतीक्षा गर्दै दिनहरू बिताइरहेको छु ।
‘चन्द्रकान्त’ ले ‘रामसिं’ को कहालिलाग्दो दुःखेसो सुन्दा साह्रै त्रसित हुनपुगेका छन् किनभने कतै आफ्नै सन्ततिहरूमा पनि त्यस्तै व्यवहार नहोस् भनेर ऊ भगवान्को प्रार्थना गर्दै थियो । तर के गर्नु र १ भाग्यले साथ नदिए दुर्भाग्य हुन्छ, त्यसैले आज उसको मेहेनतमा हुर्केर बढेका आफ्नै सन्तानहरूले आज उसलाई नै भुलेझैँ वास्ता नगरेको जस्तो आभास देखाउन थालेको हुनाले र उसको चाहनाविपरीत चल्ने प्रक्रियाहरू देखेपछि आफ्नो आशाको विपरीत फल प्राप्त हुने भएको छ उसलाई … ।
विशालमार्ग, नारायणगढ ।
पल्लव साहित्यिक पत्रिकाको छैटौँ अङ्क, कथा बिशेषाङ्कबाट साभार गरिएको ।
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)