तराईका बिशाल फाँटहरुमा
पौरखीका पाखुरा
साहसीका आँटहरुमा
तिमी बिना बन्देज बग्थ्यौ भने
मेरो कोशी
तिमी पहेलापुर धान फलाउँथ्यौ
लटरम्म तोरी फलाउँथ्यौ
तिमी नहर बनेर गर्हाहरुमा
तिमी अदृश्य शक्ति बनेर
टाँगिएका सराहरुमा
मेरो कोशी
तिमी मेरै लागि
अविछिन्न, अविरल बगिरहन्थ्यौ
बिना अवरोध
सीमारेखाहरू/साँधहरुमा
तर तिमी बाँधिए पछि
सीमारेखाहरुका साँधहरुमा
ऊ आउँछ अनि लत्याउँछ
खेलिरहन्छ
तिम्रो कंचन अस्मिता माथि
तिमी अब बेचिएकी छौ
तिमी निरीह बाँधिन्छौ
मेरो कोशी
तिमी थुनिएपछि
तिमी उसकै लागि चुनिएपछि
तिम्रो चाहना होइन तर
तिमी तराईका बिशाल फाँटभरी
लमतन्न तेर्सिएकी छौ
लडिरहेकी छौ
अनुगमनमा उडेका
एक हूल
स्वदेशी आगन्तुक शिकारी चराहरु
ध्वस्त भएको बस्तीको भग्नावशेष
सडेको सिनो लुछ्न व्यस्त छन्
फेरि पनि फलामे जंजीरले
तिमीलाई कस्न व्यस्त छन्
हामी वाग्मतीका दुर्गान्धित पुलहरुमा
वाग्मती सभ्यताको रक्षाका लागि
बहस चलाईरहन्छौं
तिमी फेरि बाँधियौ भने
उसका लागि
पुन: एकपटक
मसान बन्ने छ हाम्रो घर
उजाड बन्ने छ हाम्रो शहर
तर हामी वाग्मतीको दुर्गन्धले
अन्धा भएका छौं
अब उठ्नै नसक्ने गरी
पक्षघातले ग्रस्त बिरामी भएका छौं
तिमी बग्दा पनि
तिमी नबग्दा पनि
हामी चूपचाप हेरिरहन्छौं
तिमी हराउँदा पनि
निरीह डराउँदा पनि
(स्रोत : Satakosahitya)