~रिना बम्जन ‘तामाङ’~
प्रकृतिले लुटेको…
बैशाख बाह्रसँगै
बस्तीहरूमा
ठूलो
मानव नरसंहार
लाशहरूको लस्कर
सपनाहरूको
निमेषमै
कन्त बिजोक ।
हूरीले खच्याखुच्युक
बनाएको,
मुसलधारे बर्षाले
निथ्रूक्क भिजेको पालमुनि
क, ख, ग गर्दै
सिसाकलमको सहायताले
जिन्दगी कोर्ने कसरत गर्दैछे
खाली पानाहरूमा,
जिन्दगी पढ्ने सपना देख्दैछे
तिर्मिर्उने स-साना अक्षरहरूमा
हो, मेरि सानी
बहिनी याङ्सिला ।
अबोध छे ऊ
प्रकृतिको कुरूप तान्डवहरूसँग
मात्रा प्रश्न गर्छे आपासँग
आपा !
हामी घरमा नबस्ने ?
आपा नाजवाफ !!
आधा मुजा फुस्किएको
आधा मुजा जोडीएको
पोलिस्टरे घाँगरमा सजिएकी
मेरी याङ्सिला,
यहिबेला
टालाटुली बटुली भन्छे-
नाना ! खेलौँ न !’
त्यही घाँगरको फेर भरि
मसिना ढुङ्गाहरू बटुल्छे
तर आधि बटुल्न नपाउँदै
आधि झरी सक्छ
घाँगरमा परेको
गरीबीको प्वालहरूबाट ।
बैशाख बाह्रसँगै
करोडौँ सपनाहरू
पोखिएका छन् यत्रतत्र
बेबारिस छन् जीवनहरू
जोर्दा, जोर्दै
टिप्दा, टिप्दै
अचानक झर्छन् आशाहरू
पोख्छन् खुशीहरू, सपनाहरू
जसरी. मेरी मायालु याङ्सिलाको
घाँघरबाट झरे ढुङ्गाहरू त्रमश: ।
यी भूलभूलैयाहरूमा
नतमस्तक मेरि मायालु याङ्सिला
अन्तत: निरास भएर
दुई ढुङ्गा ठाडो उभ्याएर
घर बनाउछे
र भन्छे- आमासँग
आमा !
“यही हो हाम्रो घर ।”
आमा, मात्र
मुसुक्क मुस्कुराउनु हुन्छ
उसको कलिलो मष्तिष्कको
खुबी र पौरखको नजर अन्दाज गर्न नसक्दा ।
आमा यो पीडा बोधले
आँसु खसाल्नु हुन्छ
प्राकृतिक विपत्तिले
विछिन्न बनाएको जीवनहरूको दुखाईमा ।
र
भुकम्पले ढालेको आफ्नै
छरप्रष्ट घरतिर
पुलुक्क हेर्दै
बेहद पीडामा ।
आमा र आपाको
मौन प्रतित्रियाले
ऊ ठुस्किन्छे
र फेरि सोध्छे
नाना !
राम्रो छैन, मैले बनाएको घर ?
रणभूमीमा युद्द लडेर
मृत्यृ जितेको
सैनिकको बेहद खुशी जस्तै
सपना र आस्थाहरूको अग्लो सगरमाथा जस्तै
अटल र दरिलो छ
तिमीले बनाएको घर
मेरी याङ्सिला ।
म-
जवाफ फर्काउछु ।
(स्रोत : Egkabita)