~पुरुषोत्तम लम्साल~
अरुको मनको कुरा म जान्दिन तर मलाई के लाग्छ भने सात समुद्रपारी आएदेखि मलाई नेपालमा मनाइने कुनै पनि चाडपर्व यहाँ मनाउन नपरिदिए हुन्थ्यो भन्ने लाग्छ । हिजो पनि आज पनि । मनजति सबै थातथलोमा राखेर यहाँ पर्वको उल्लास मनाउनुको अर्थ म देख्दिन । जहाँ रहर हँदैन त्यहाँ उल्लास र उमंग खोज्नु मेरो लागि ठीक होइन । देश परदेश जहाँ भए पनि आफ्नो संस्कृति हो भन्नेहरुको तर्कलाई मैले प्रतिवाद गरिरहनु आवश्यक छैन तर मनाउनु र मनाइदिनुमा अन्तर छ । मनाउनेहरुलाई धारे हात लगाउनु पनि छैन, शुभकामना दिन कञ्जुस्याइ पनि हैन, किन मनाइस् पनि भनिंदैन तर अरुले आफूलाई किन भन्ने प्रश्न नसोधिए जाती हुन्थ्यो भन्ने लाग्छ ।
यो बेला म घरमा दिदी र बहिनीसँग मनाइने तिहारको प्रसंग उठान गर्दिन । आजको दिन दिदी र बहिनीलाई रुवाउनु हँदैन भनेर म आफ्नो गाउँतिर फर्किएको छु । लेख्न बस्दै गर्दा आफ्नो चौध वर्षको उमेर (त्यसपछि एसएलसी दिएर शहर हानियो) सम्मका केही दृष्यहरु पूर्वदृष्य भएर आइरहेका छन्, खासमा दशैं तिहार र यसका वरपरका समय सन्दर्भमा ।
त्यतिबेला म राम्रो सँग कट्टु पनि लगाउन जान्दथें वा जान्दैनथें, त्यो भन्नेमा शंका छ । तर पत्याउनुस् त्यतिबेलाका यादहरु त्यस्तै दुरुस्त छन् जसरी ढुंगामा कुँदिएर राखिएका शब्दहरु दुरुस्त रहन्छन्, जसरी ताम्रपत्रमा लेखिएका वाणीहरु सुरक्षित रहन्छन् ।
अहिले के ठान्दछु भने विकास र चेतना दुवैको रुपमा म जन्मेको गाउँ जिल्लाका अन्य गाउँको तुलनामा कमजोर थिएन । कारण, त्यहाँको पञ्चायतकालीन राजनीतिको उर्बर पाटो एउटा थियो । त्यसैले बहुदलताका त्यहाँ कांग्रेस र वाम राजनीति हुर्कने, फल्नेफुल्ने मौका राम्रैसँग पायो । जब कुनै गाउँमा राजनीति हुर्कने अवस्था रहन्छ तब म मान्छु त्यो गाउँ कि चाँढै परिवर्तनको उपयोग गर्नेमा पर्दछ, कि परिवर्तन नै देख्न नपाउनेमा पर्दछ । त्यसैले म यो सत्य मेरो गाउँका हकमा आधाआधी लागू भएको ठान्दछु । उमेरले म अहिले पनि दुई बीस नछोएको मान्छे हो । त्यसैले म इतिहास लेखिरहेको छैन, दशैंसँग जोडिएका केही प्रसंग उप्काउने यत्न मात्र गरिरहेको छु ।
म जन्मे हर्केको समाजको दृष्यको बाहिनेपट्टि तर अलि पर, झण्डै १५ मिनेटको दूरीमा एक दर्जन घर भाँडा बनाउने समुदायको थिए । दाहिनापट्टि लहरै आधा दर्जन घर लुगा सिउने पेशाधारी समुदाय थिए। दुवै समुदायमा मेरा समवयीहरु थिए । म अहिले रामकृष्णे, फोक्से, धोक्सेलगायतका केही नाम मात्र सम्झन्छु । जातीयताको नमूना मेरो दिमागमा नहुँदो हो त अहिले म ती नामलाई रामचन्द्रजी, वा धोक्सेजी वा अरु त्यस्तै केही भनेर लिइरहेको हुन्थें । तर तुलनात्मक रुपमा मेरो समाज प्रगतिशील र उदार हुँदाहुँदै पनि जातीय उँचनीचको प्रभाव दुरुस्त थियो । यसमा प्रमुख भूमिका खेलेको थियो आर्थिक असन्तुलनले । अर्थात् एक त तल्लोजात अर्को आर्थिक विपन्नताको शिकार । जब मान्छेलाई आर्थिक विपन्नताले गाँज्छ तब मान्नुपर्दछ त्यो समाज पौराणिक युगमा पुग्दछ, त्यसको जरोकिलो जंगली सभ्यतासँग जोडिन पुग्दछ ।
पुन्की उठाउने चलन मैले यही दशैंको सन्दर्भमा बुझेको हुँ । हरेक दशैंमा आँगनको डिलमा पालैपालो आइपुग्ने मेरा साथीका बाहरुमध्ये कोही लुगा सिउने समुदायका हुन्थे त कोही भाँडा बनाउने समुदायका । उनीहरु आफूले खाएको भाँडा माझ्दथे र त्यसलाई चोख्याउन बलिरहेको कोइला हालेर फेरि पानी हाल्दथे, जुठोबिटुलो भएको मान्छेलाई चोख्याउन सुनपानी छर्किए जस्तै । मानापाथी उठाउने ती सबैका बारेमा न मैले कहिल्यै बाआमालाई सोधें न अरुले नै मलाई त्यसबारेमा पछिसम्म केही बताए ।
दशैंमा आँगनमा ढालेको खुसीको निम्सरो भाग लिन आउनेको बारेमा पनि त्यस्तै कुरा छ । यो त गरिबीको दृष्टान्त मात्र हो । किनकी कापीकलम र किताबको जोहो गर्न नसक्दा भाँडा बनाउने समुदायका जम्मा तीन चारजना मात्र केटाकेटी मसँगै स्कूल पुगेका थिए । तर लुगा सिउने समुदायका तीनजना निम्नमाध्यामिक तहसम्म र एक जना (पूर्णबहादुर परियार जसलाई हामी रचे भन्थ्यौं) मात्र एसएलसीको ढोकासम्म पुगेको थियो । अहिलेको निःशुल्क शिक्षाको राग र अलाप सुनिरहँदा म त्यो बेलाको मेरा समवयीहरुको नियती आंकलन गर्दछु मेसोमा ।
गाउँमा फल्दोफुल्दो राजनीतिले हुनेखाने बर्गकै पषपोषण गर्ने हो त्यसैले ती दुवै समुदाय आर्थिक, साँस्कृतिक र सामाजिक रुपमा समाजको मूलधारमा आउने कुरा पर नै रह्यो । लुगा सिउने हाते कललाई आुधनिकीकरण गर्न नसक्दा र आरनलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न ढिलो हुँदा मेरा समाजका यी दुई समुदायलाई विपन्नताको पहाडले उठ्नै नसक्नेगरी थिचिरह्यो, थिचिरह्यो ।
त्यहाँ हरेक दशैंमा हुने साँस्कृतिक कार्यक्रमलाई गाउँका युवाले परिवर्तनको स्वर रोप्नका खातिर उपयोग गर्दथे । दशैंलाई राजनीतिक जागरणको रुपमा उपयोग गर्न गाम्कै मान्छेले बाहिरबाट समेत मान्छे मगाउने गर्दथे । बागेश्वरी माध्यामिक बिद्यालय ९हालको बहूमुखी क्याम्पस० को चौरको एउटा कुनामा बनाइएको नाचघरमा त्रिशुलीबाट भाडामा मगाइएको पर्दा, ठूला ठूला माइक, रिहर्सलका लागि प्रयोग गरिने स्थान, कार्यक्रमस्थल सजाउन प्रयोग गरिने सर्जम, अहिले के ठान्दछु भने राजनीति आफ्नै ठाउँमा होला तर गाउँमा हुने यस्ता कार्यक्रमले त्यतिबेला गाउँको शान र मान देखाउँथ्यो । छिमेकी गेर्खु, हल्देकालिका, खानिगाउँ, लच्यांग र नर्जा गाविसको उपल्लो भेगसम्मका जनता दशैका बेला गाउँमा हुने साँस्कृतिक कार्यक्रम हेर्न रातमा बाबियोको मुठो बाल्दै आउने र जाने गदथे । कार्यक्रम सकिएपछि हाम्रो उमेरका बालकहरु तीनथुम्कीबाट हेथ्र्यौं‘बोहोरेभञ्ज्यांगको भीरको बाटोमा पनि राँके भूत दौडिरहेको छ, काफलगैरीको जंगलमा पनि राँकेभूत दौडिरहेको छ, धनारथुम्कीको मुनी पनि राँकेभूत दौडिरहेको छ र आल्डाँडाबाट हेर्दा गेर्खु जाने बाटोमा पनि राँकेभूत दौडिरहेको छ । यस्तो लाग्थ्यो चोकदेलाई पूराका पूरा राँके भूतले घेरेको छ ।
अग्रज दाजुहरु दशैंको मेसो पारेर साँस्कृतिक कार्यक्रम ९जनवादी शैलीको०गरेको दृष्य अहिले निकै ताजा भइरहेको छ । रायन, रामेश, जेबी टेहरे, जीवन शर्माका गीतहरुमा जोशिला भाका दिएको र जझारु तालमा नाचेको याद आइरहेको छ । पछि थाहा भयो, दशैंतिहार राजनीति गर्नेहरुका लागि उत्पातै उर्बर मासिक रहेछ र हुँदोरहेछ हाम्रो समाजमा । पन्ध्र दिनको अवधीमै गाउँका मान्छेको मनस्थिति र मनोविज्ञान नै फेरबदल गर्ने गरी, हुने गरी ती दाईहरुले गर्ने कार्यक्रमले निरन्तरता नपाएको सम्भवतः दुई दशक नै पुगेको वा पुग्नलागेको हुनसक्छ । सम्भवतः चाडपर्वलाई जागरण अभियान बनाउने परम्परा हाम्रो मात्र होइन धेरै गाउँमा अहिले छैन ।
भदौ लागेपछि हावाको सुवास अर्कै लाग्थ्यो । माटोको गन्ध अर्कै लाग्थ्यो । म जन्मिएको गाउँ बागेश्वरीमा त रातोमाटो र कमेरोको गन्धसँगै हामी समवयीहरु थाहा पाउँथ्यौ अब दशैं र तिहार आउने बेला भएछ । खहरेखोलादेखि धारापानीसम्म दौडँदा यदि लुगाका डंगुरहरु थुपारेर मुंग्रोको आवाज जोडले आउन थाल्यो भने हामी चाल पाउँथ्यौं दशैतिहारले छोप्ने बेला भएछ । खरानी हालेर पकाएका लुगाको भारी बाकेर गाउँका दिदी र आमाहरु पँधेरो र कुवा लम्किए भने पक्का हुन्थ्यो पर्व दैलोमा आइपुगेको छ । पालिएको वनमा घाँस फुक्का भएपछि दशैं आएको सूचना पाइन्थ्यो । वनजंगल, पाखापखेरा चाहार्दै बालबच्चा, युवायुवती घाँसको थुप्रो ठूलो बनाउने प्रतिस्पर्धामा लागेपछि थाहा हुन्थ्यो, यी सब दशैंमा मस्ती गर्ने काइदाको ‘रिहर्सल’ भइरहेको छ । जब गाउँका काका र दाइहरु रुख चढेर चारपाँच दिनका लागि पुग्ने रुखघाँस जम्मा गर्न थाल्दथे तब लाग्थ्यो अब घाँस थुपारेर गाउँमा खसी खसीबोकाको व्यापार शुरु हुन्छ । आँगन आँगनमा खसी र बोका उचाल्दै तौलको अनुमान लगाइने रमाइलो हेर्न पाइन्छ । अब आली र डालीहरुमा सानासाना जुवाको रुप देख्न पाइन्छ । अब सायद मदिराले मातेका मान्छेहरुले गर्ने झगडा पनि देख्न पाइन्छ, सायद् जनैधारी र तागाधारीबीच यही बहानामा कहीं न कहीं, कुनै पनि दिन मुक्का हानाहान हुन्छ । मेरो बालमस्तिष्कमा परेको छाप के हो भने त्यस्तो कुनै दशैं र तिहार हुँदैन जहाँ गाउँमा वल्लो गाउँ र पल्लो गाउँका बीच मारमुंग्री हुँदैन । तासको खालमा, लंगुरबुर्जाको खालमा, भलिबलको कोर्टमा, भट्टीमा कहीं पनि यस्ता भीडन्तहरु हुनसक्थ्यो ।
जब आल्डाँडाबाट पारी गाउँका आरनहरुबाट बाक्लो धुँवा बहन शुरु हुन्थ्यो, जब घनका बेजोडका आवाजहरु कानमा ठक्कर खाएर उतै फर्कन्थे, जब रामकृष्ण र फोक्सेहरु झोलामा हँसिया, खुर्पा र खुकुरी बोकेर गाउँ निस्कन्थे हामी दौडिएर पल्लो घर र माथ्लो घर गर्दथ्यौं, कसको हँसिया कुन, कसको भागमा कुन, कुनको धार कडा, कुनको बोधो खोज्न । जब घरघरबाट निस्किएर दमाई दाइहरु चोकदेको बजारस्थित कपडा पसलका वरिपरि हाते कल घुमाउँदै पसिना बगाउँथे तब लाग्थ्यो अब नयाँ लुगा लगाउने दिन अब टाढा छैन । कामको धपेडीमा उनीहरु देउराली र गैंडा चूरोटका सर्कोहरु यस्तरी तान्दथे मानौं चारपाँच सर्कोमा चुरोट बुत्याउने मान्छेले ठूलै युद्ध हार्दछ ।
एउटा निश्चित उमेरसम्म मुन्टो बांगो बनाइबनाइ दशैंको लागि घाँस दाउरा थुपारेका बालकहानी ऊ बेला केही लागेन अहिले ती अभ्यासहरुको मूल्यबोध भइरहेको भान हुन्छ । खासमा गाउँमा चीची र नानाको दशैं हुन्थ्यो । जब यार्सा भोर्लेदेखि लच्यांगसम्मका तामांग बस्तीका तामांग दाईहरु परिवारै बाकेर स्कूलको चौतारोमुन्तिर नबुझिने भाषामा कोकाहोलो गर्थे तब एउटा कुरा पक्का हुन्थ्यो दशैं बोक्नका खातिर गरिबहरुको बस्ती शहर पसेको छ । कपडा पसलेदेखि खुद्रा पसलेसम्म, चिउरा तरकारी पसलेदेखि रक्सी व्यापार गर्नेहरुकोमुखमा र्याल बगिरहेको हुन्थ्यो । त्यहाँ हातको इशारा हुन्थ्यो, आँखाको इशारा हुन्थ्यो कसरी हुन्छ उनीहरुमाथि लुछाचुँडी गर्न पाए हुन्थ्यो भन्ने मनस्थितिमा हुन्थे पसलेहरु । बारीको आलु बचेर, चौपाया बेचेर, बुलाकी र झुम्का नेपाली कागजमा दस्तखत गरी साहूकहाँ बन्धकी राखेर दशैं लिन आएका हुँदा रहेछन् उनीहरु, यतिसम्मको कुरा मैले नौ दश कक्षा पुग्दानपुग्दै अनुभव गरेको थिएँ ।
एकबारको जुनीमा पैसा हुनेलाई सधैं दशैं र पैसा नहुनेलाई वर्षदिनमा दशैं आउँदो रहेछ भन्ने लाग्थ्यो त्यतिबेला । दशैं र तिहारपछि कसका पाखाबारी बत्तिने हुन्, कतिका नाक र कान बुच्चा हुने हुन् त्यो आफ्नै ठाउँमा थियो तर कक्कडले पहेंलोपहेंलो भएको दाँत उघारेर जब महिला र बृद्धबृद्धा हाँस्दथे लाग्थ्यो खासमा यही नै दशैं हो । गरिबका बस्तीमा दिल खोलेर हाँस्न पाउनु पनि दशैंभन्दा कम हुँदैन । तोक्मेहरुको जिन्दगीमा पसिना नबगाई कुनै दिन जब मनैदेखि हाँसो फस्कन्थ्यो, अहो१ खासमा यही हो दशैं, यही हो तिहार भन्ने पर्दथ्यो । मुजा परेका गालाका छाला हठात् खुसीले, हाँसोले तन्कने याम हो दशैं तिहार गरिबका वस्तीमा। भोलीका खुसीहरु आजै बन्धकी राखेर लालाबालाका मुखमा मिठो मसिनो खुवाउने याम हो । यसकै लागि मुग्लान भासिएकाहरु जिन्स प्यान्टको पछाडिको बगलीमा झिल्के रुमाल हल्लाउँदै ठूलो स्वरमा क्यासेट बजाउँदै गाउँ फर्कन्थे । मिथुन चक्रवर्ती शैलीको कालो चश्मा, बेलिबटन प्यान्ट, जुल्फी हल्लाउँदै शानका साथ कोही गाउँ पस्यो भने थाहा हुन्थ्यो, अबका एकाध दिन त्यो गाउँमा अर्कै माहौल हुन्छ । जेठो, काइलो, साहिंलो ऊ जो भए पनि गाउँमा उसलाई हेर्नकै लागि दुई चार बिहान गाउँलेको भीड जम्छ । रमाइला किस्सा र कहानी बकिन्छन् । उसले गाउँलेलाई भनेर ल्याएको सिगरेटको खिल्ली बितरण हुन्छ । उही उमेरका भए केही तामस पनि होला ।
हो, गाउँका मान्छेलाई यही हो दशैं । मुग्लान पसेकाहरु, शहर पसेकहरु परिवार र आफन्त, गाउँले, भाइसाथी भन्दै फर्कने् संस्कृति र परम्पराले यो मौसम सूशोभित भएको छ । यसको सुवास र वासना बगैंचाका फूलहरुको सुवास र वासनाभन्दा कहीं बढी हुन्छ । गाउँतिर फर्किएर घोत्लँदा चाल पाइन्छ, दशैं र तिहार खासमा मनहरु जोड्ने पर्व हो । यसभित्र पूर्वीय सामूहिकताको संस्कृतिको अतूलनीय दृष्हरु देख्न पाइन्छ ।
शनै शनै आधुनिकताको संसारमा हल्लीखल्ली गर्ने मलाई यस्ता दशै र तिहारहरु अहिले आफ्नै गाउँमा पनि छैन भन्ने कुरो थाहा छ । त्यो रौनक, त्यो उल्लास, त्यो उमंग, त्यो आत्मियता, त्यो भीड, त्यो व्यापार, त्यो लाहूरे, त्यो मध्यरातमा घन्किएको भाका सायदै अहिले छ, तर दृष्यहरु उही लाहूरेले बोकी ल्याएको क्यासेटका रिहरुसँगै फन्फनी घुमिरहेको छ ।
(स्रोत : Nepalpati)