~आशिष दनाई~
यो ‘कंकृट’हरुको जंगलमा,
पिल्लरहरु जस्तै
उभिएका छन् मान्छे,
‘कंकृट’लनैे बनेको चार पर्खालभित्र
एउटा सोफा छ,
एउटा ‘लो-बेड’ छ,
र छन् एक थान कुर्षी-टेबलहरु !
‘सिलिङ’मा गाडीएको एउटा काँटीले
अढाएको छ झुल,
जहाँ एकहुल लामखुट्टेको बथानले
डेरा जमाएको छ,
छेवैमा घुम्दैछ एउटा टेवल ‘फेन’,..
नारायण गोपालको आवाजले
गुञ्जयमान कोठा,
खाटमा अर्धनग्न
पटिरहेको एउटा शरीर,
शरीर पुरै भिजेको छ,
ढोका खोल्नासाथ ह्वास्स गन्ध आउँछ
पसिनाको गन्ध !!
गाउँका कर्मीदाई बहत्तर बर्ष पुगे,
एउटा मैलो आशकोट
र ठाउँठाउँमा टालेको कट्टु हो
उन्को पहिचान,
बिहानै आरो, हतौडा र बसिलो
बोकेर निस्किन्छन् आफ्नो काममा,
पातले पहाडबाट गाउँलाई हेर्दा,
आँखाले देखुन्जेलका सबै घरहरु
उनी आफैले छाएका हुन्,
न हावाहुरीको कुनै डर छ,
न घामले पोल्छ उन्को शरीर,
न गनाउँछ उनको पसिना,..
हो उनको पसिना गनाउँदैन; बास्ना आउँछ,
त्यही पसिनाले धानेकोछ
एउटा सिङ्गो परिवार,
त्यही पसिनाले भिजेको आशकोटको
सिरानी बनाएर हुर्किए,
आधा दर्जन सन्तान,
त्यही पसिनाको उपज हो,
दलबहादुर नेपाली बाट
उनी कर्मीदाई बनेको !
त्यो पसिनाको बास्नाबिना
उन्लाई निन्द्रा लाग्दैन,
त्यही पसिना उन्को सबथोक हो,
हो त्यसैले उन्को पसिना बास्ना आउँछ,..
उन्को पसिन गनाउँदैन ।।
–आशिष दनाई
बेसीशहर लमजुङ
(स्रोत : Nepalpati)