~सुशीला प्रधानाङ्ग~
बिहानको चिसो हावामा फुच्चे खरायो लुसुक्क नजिकैको गाजरबारीमा गयो र किसानले भर्खरै उखेलेर थुपारेको गाजरबाट एउटा गाजर मुखले च्यापेर बारी पछाडि गई कुतुरकुतुर खान थाल्यो। त्यो देखेर किसानको भोटे कुकुरलाई रिस उठ्यो। उसले खरायो बसेको तिर हेर्दै भुक्न थाल्यो ‘भो…भो…भो।’
भोटेले भुकेको देखेर किसानले यताउता हेर्दै भने, ‘भोटे ! किन भुक्दैछौं ? मैले त केही देख्दिनँ।’ भोटेले किसानको कुराको वास्ता गरेन । उसले बारीतिर पस्ने ठाउँमा आएर ओहोरदोहोर गर्दै झन् बेस्सरि भुक्न थाल्यो, ‘भो…भो…भोंऔंऔंऔं।’
भोटेले भुकेको सुनेर फुच्चेले गाजर खान छाडेर टाउको उठायो र भुकेको आवाज आएतिर हेर्यो अनि मनमनै भन्यो, ‘कस्तो निर्दयी कुकुर होला। आरामले खान पनि दिँदैन।’
उसले फेरि गाजर खाँदै सोच्यो, ‘यस्तो ताजा मीठो गाजर स्वादले खान पनि दिँदैन।’ एकछिनसम्म उसले मुख चलाइचलाई भोटेलाई के के भन्यो भन्यो।
उसले गाजर खाएर सिध्यायो र सोच्यो, ‘अर्को एउटा खान पाए मेरो भोक पनि मर्थ्यो होला।’ उसले आफ्नो पेटमा हातले मुसार्दै भन्यो, ‘यो सानो पेटलाई पनि कति साह्रो भोक लागेको होला।’
फुच्चे विस्तारैविस्तारै बारीतिर गयो र भोटे छ कि छैन भनेर यताउता पल्याकपुलुक हेर्न थाल्यो। उसले भोटेलाई देखेन। ऊ बारीभित्र पस्न छिटोछिटो दगुर्दै थियो। भोटे दगुर्दै आयो र फुच्चेको घाँटीमा समात्यो।
फुच्चेले छटपटाउँदै भन्यो ‘काका ! बिन्ती छ, मलाई छोडिदिनुस् । मेरो घाँटी दुखिरहेको छ।’भोटेले आफ्नो आँखालाई रातो बनाउँदै भन्यो, ‘फुच्चे ! तँलाई हाम्रो बारीमा पस्न डर लागेन?यो बारीको रेखदेख मैले गर्छु। तिमीलाई मसँग डर लाग्दैन?’
‘काका ! म त हजुरको छोराजस्तै सानो जन्तु हुँ । म आफूभन्दा ठूला जनावरहरूसँग यसै पनि डराउने गर्छु’ उसले मायालाग्दो अनुहार गरेर भोटेलाई हेर्यो ।
भोटेले पनि उसलाई एकछिन आफ्नो लामो जिब्रो निकालेर देखायो र भन्यो, ‘फुच्चे ! हेर मेरो जिब्रो नै कति लामो छ।’
अनि उसले आफ्नो मुखलाई सकेसम्म आँ आँ गर्दै आफ्नो दाँत देखायो र भन्यो, ‘हेर मेरो दाँतहरू कति तिखा र ठूलाठूला छन् । मेरो दाँतले अघि तिम्रो घाँटीमा च्याप्दा नै तिमीले थाहा पायौं होला।’ त्यसको कुरा सुनेर फुच्चे डरले कुक्रुक्कै पारेर भुइँमा थचक्क बस्यो।
त्यो देखेर भोटे मज्जाले खो…खो गर्दै हाँसेर फेरि भन्यो, ‘फुच्चे तँ त अहिले नै डराइसकिस् । त्यतिबेला मैले जोडले तेरो घाँटीमा समातेको भए तँ त घुत्रुक्कै हुन्थिस् अनि खान्थिस् मेरो बारीको ताजा गाजर । बडो मलाई छलेर गाजर खान पल्केछस् होइन?’
भोटेको कुरा वरपर बसेका चराचुरुंगीहरू र गाईबाख्राहरूले पनि सुनिरहेका थिए । एउटी गाईलाई ती कुराहरू सुनेर असह्य भयो र भोटेको नजिक आउँदै उनले भनिन्, ‘भोटे ! बिचरा यसलाई किन तर्साइरहेछौं? आफूभन्दा सानालाई ठूलाले माया पो गर्छन् यसरी डराउन दिएको त देखेको छैन मैले। तिम्रो थुपारेको गाजरबाट एउटा गाजर यसले खायो त खायो के भयो? यसलाई जान देऊ।’
गाईले फेरि फुच्चेको नजिक गएर भनिन्, ‘भाइ ! तिमी यसको अगाडि जति बेर बस्छौ त्यतिबेरसम्म यो भोटेले तिमीलाई तर्साइरहन्छ । तिमी आफ्नो घर जाऊ।’ फुच्चेले गाईको कुरा मान्यो र लुरुलुरु आफ्नो घरतिर फक्र्यो।
त्यहीबेला किसानले एक भारी गाजर बोकेर आए र छायाँमा बसेर गाजर मुठा पार्न थाले । भोटे भने किसानको अगाडि आएर फुच्चे खरायोको कुरा झिकेर, ‘तिमीले ठीक गर्यौं भोटे’ भनेर भन्ला कि भन्दै उनको खुट्टानिर बस्यो र किसानको मुख टुलुटुलु हेर्न थाल्यो।
किसानले उसको टाउको मुसार्दै भन्यो, ‘भोटे ! तिमीलाई कति छिटो भोक लाग्दो रहेछ। अघि त्यो खरायोलाई भोकको रिसले भुकेको हगी?’
भोटेले टाउको फर्काएर किसानतिर हेर्यो र आँखालाई चिमचिम गर्न थाल्यो।
किसानले गाजर मुठा पार्दै भन्यो, ‘पख, म गाजर बेचेको पैसाबाट तिमीलाई मासु ल्याइदिन्छु तर एउटा कुरा भन्छु आफूभन्दा सानालाई हेप्ने नगर बिचरा ! बिहान फुच्चेलाई तर्साएको देख्दा मलाई तिमीसँग रिस उठेको थियो। उनीहरूले कति खालान् र?
खान देऊ। हामीले माया गरे पो उनीहरूले पनि हामीलाई माया गर्लान् त । त्यसपछि किसानले भोटेको थुतुनोलाई आफूतिर देखाएर भन्यो, ‘जा…घर जा, आमासँग भात मागेर खा । म एकछिन पछि आउँछु।’
भोटे जुरुक्क उठ्यो र बाटोतिर जान थाल्यो। किसानले छिटो गाजर मुठा पार्न थाल्यो।एकछिन पछि किसानले भोटेले भुकेको सुने । उनले मनमनै सोचे, ‘यो भोटेले फेरि कसलाई भुक्यो होला? यसलाई जति भने पनि हुन्न।’ भोटेको भुकाइ झन्झन् नजिकनजिक आइरहेको बेलामा किसानले अर्को पनि स्वर सुन्यो,‘ बाबा ! बाबा !’
त्यो स्वर उनको आफ्नो छोराको थियो। उनको छोरा गौतमले भोटेलाई असाध्यै माया गर्थे। उनले एउटा कटौराभरि दूध चिउरा र अर्को कटौरामा दहीचिउरा लिएर आउँदै थिए । बाटोमा भोटे भेट भयो र भोटे फेरि गौतमसँगसँगै आयो।
किसान छेउमा आएर गौतमले भने, ‘बाबा ! आज मेरो जन्मदिन हो नि।’किसानले टाउकोमा हान्दै भने, ‘ज्या…मैले त भुसुक्कै बिर्सेको रहेछु । बिहानै बारीमा आएँ।’ उनले गौतमलाई काखमा राखेर निधारमा चुमिसकेपछि भने, ‘तिम्रो जन्म सफल होस्।’ त्यसपछि उनले फेरि सोधे, ‘यो के ल्याएको छोरा?’
गौतमले जवाफ दिए, ‘आमाले भन्नुभएको मेरो जन्मदिनमा दही चिउरा बारीमा आउने खरायो, लोखर्के, काग, चराहरू र सुगालाई ख्वाउने रे। यो दूध भात चाहिँ यो भोटेलाई ख्वाउने रे।’
यो सुनेर किसान धेरै खुसी भए। उनले गौतमलाई भने, ‘जाऊ, त्यसो भए तिमीले त्यो दहीचिउरा ढुंगाको माथि अलिकति राखिदेऊ। अलिकति चरा, सुगाहरूको लागि छरिदेऊ र अलिकति रूखको फेदीमा राखिदेऊ । त्यहाँ खरायो र लोखर्केले खान आउँछ।’
उनले दूध चिउरा भोटेलाई देखाउँदै भने, ‘भोटे ! सबैलाई माया गर्न सिक है।’ त्यो सुनेर भोटेले पनि किसानलाई पुलुक्क हेर्यो।
२०७२ पौष ७ मंगलवार
(स्रोत :अन्नपूर्ण पोस्ट)