‘तपाईंको बच्चा एकदम गम्भीर छ । तुरुन्त आइसियुमा भर्ना गर्नुपर्दछ ।’ डाक्टर बुचरले उसको सातोपुत्लो उडाए ।
‘उसको आँखा हल्का पहेंलो भएर मात्र देखाउन ल्याएको हँु । बाबु हिँडेरै आएको हो । किन आइसियुमा भर्ना गर्ने ?’ उसले आफ्नो तर्क राख्यो ।
‘तपाईं डाक्टर कि म डाक्टर ? तपाईंको बच्चालाई जुनसुकै बेला जे पनि हुन सक्छ । तपाईं त्यसको जिम्मेवारी लिनुहुन्छ ?’ डाक्टर बुचरको भनाइले उसलाई डर लाग्यो ।
‘ठिकै छ नि त ! भित्र त्यस्तो गम्भीर अवस्था छ भने मैले के जान्नु ! उपचार गर्नुहोस् ।’ उसको पितृत्व विवश भयो ।
तीन दिनसम्म आइसियुमा राखेपछि डाक्टर बुचरले भने— ‘तपाईंको बच्चाको पित्तथैली पूरै बिग्रेको छ । भोलि नै अप्रेसन गर्नुपर्ने भयो, पैसाको व्यवस्था गर्नुहोला ।’
आइसियुको खर्चले ढाड भाँचिएको उसले छोराको जीवनको लागि चर्काे ब्याजमा ऋण खोज्यो । अप्रेसन भयो । डाक्टर बुचरले भने— ‘बधाई छ ! अप्रेसन सफल भयो । चारपाँच लाख खर्च भए पनि छोराकै लागि भयो । झन्डै समयमै यहाँ ल्याउनुभयो । पैसाले जीवन किन्न सकिन्न । अब चिन्ता गर्नुपर्दैन ।’
ऊ खुसी भयो । अस्पतालबाट डिस्चार्ज गरेपछि ऊ छोरालाई अँगालो हालेर धुरुधुरु रोयो । त्यसपछि डाक्टर बुचरलाई धन्यवाद दिन ऊ उनको कक्षतिर लाग्यो ।
भित्र डाक्टर बुचरले आफ्नी स्त्रीरोग विशेषज्ञ श्रीमतीसँग कुरा गर्दै थिए— ‘जसरी तिमीले नर्मल डेलिभरी हुने केसलाई जटिल छ भनेर अप्रेसन गछ्र्यौ, स्वस्थ पाठेघरलाई क्यान्सर हुने खतरा छ भनेर अप्रेसन गछ्र्याै, त्यसैगरी मैले पनि सामान्य पेट दुखेको बिरामीलाई एपेन्डिसाइटिसको डर देखाएर वा पित्तथैली बिग्रेको छ भनेर अप्रेसन गर्छु । एपेन्डिक्स र पित्तथैली निकालेर फाले पनि शरीरमा केही फरक पर्दैन । भर्खर डिस्चार्ज गरेको बच्चालाई हल्का जन्डिसमात्र देखा परेको थियो, जुन आफैं निको हुन्थ्यो । मैले उसको बाबुलाई भयङ्कर डर देखाएर पित्तथैली निकालेर फालिदिएँ !’
(स्रोत : रचनाकारको लघुकथा संग्रह “एकलब्य दृष्टि” बाट सभार )