~सागर तामाङ ~
_फुटेका
सपनाका टुक्राहरु बटुलेर …
मलाई बनाउँनु छ एउटा तारा
र
सजाउनु छ
त्यो मनको निलो आकाशमा ।
_झरेका
आँशुका थोपाहरु अञ्जुलीमा थमाएर
मलाई बनाउँनु छ
त्यो हृदयको मझेरिमा एउटा तलाउ
र
फुलाउनु छ
प्रेम र सदभावका धेरै कमलहरु ।
_ढलेका
साहसहरु बटुलेर
मलाई उभ्याउनु छ संकल्पको एउटा पहाड
र
त्यै पहाडमा उभिएर
उठाउँनु छ
धेरै माथि-माथि
मेरो सगरमाथाको उचाई ।
_भाँचिएका
रहरका टुक्राहरु बटुलेर
मलाई बनाउँनु छ मनको एउटा चङ्गा
र
उडाउनु छ
क्षितिज भन्दा माथि-माथि
बादलहरुको त्यो देशमा ।
_सम्हाल्दा- सम्हाल्दै
पोखिएर झरेका
जीवनका पलहरु सँगालेर
मलाई बनाउँनु छ, समयको एउटा जहाज
र
त्यै जहाजमा
बोकेर
विचार, प्रेम र सदभावका कमलहरु
मलाई पुग्नु छ ती वस्तीहरुमा _
जहाँ मान्छेहरुले भेटिएका छैनन् अझै
_आफ्नै जीवनको उज्यालो बिहानी
_आफ्नै अस्तित्वको अग्लो पहाड
_आफ्नै सपनाहरुको एउटा क्षितिज
र
_आफ्नै विचारको फराकिलो आकाश ।
(स्रोत : EGkabita)