~माधव सयपत्री~
‘दिदी, हेर्नुस् त, कमिलाको ताँती। भित्तामा कमिला, भुइँमा कमिला। जताततै कमिलैकमिला। यी कमिला कहाँ जान हिँडेका होलान्?’ दमनले सोधे। दीक्षाले भनिन्, ‘उनीहरूको पनि आफ्नो काम हुन्छ नि भाइ, हेर न, कसरी मिलेर काम गर्छन् कमिलाले।’
दीक्षा र दमन टहरोमा बसी दसैँ बिदाको होमवर्क गर्दै थिए। भूकम्पले घर भत्काइदिएपछि बाबाले बारीको पाटामा जस्तापाताको टहरो बनाउनुभएको थियो। भित्तामा कमिलाको ताँती थियो। कमिलाको लर्को परसम्म पुगेको थियो। दमनले छेस्कोले कमिलाको ताँतीमा छोइदिए। कमिला तितरबितर भए। फेरि ताँती मिलेर हिँडे। अर्को पटक पनि छोइदिए। कमिला यता र उता भए। केही छिनमा कमिला ताँतीमै मिले।
दमनले भने, ‘म सबै कमिला भगाइदिन्छु। यी कमिला हामी बस्ने ठाउँमा किन आएका?’ दीक्षाले सम्झाइन्, ‘हामी बस्ने ठाउँमा कमिला आएका होइनन्। उनीहरू बस्ने ठाउँमा चाहिँ हामी आएका हौँ। टहरो बनाउनुअघि कमिला कहाँ बस्थे, हामीले याद गरेका थियौँ?’
दमनले दिदीले भनेको टेर्दै टेरेनन्। उनले कमिलाको ताँती छोइदिएर खाटमा आए। होमवर्क गर्न लागे। दिदीले भनिन्,
‘तिमी कमिलासँग धेरै नजिस्क है १ तिनीहरू रिसाइसके।’ उनले भने, ‘जाबो कमिला रिसाएर के हुन्छ र? मिचेर सबैलाई मारिदिन्छु म।’ दिदीले भनिन्, ‘ल ल, सबै कमिला भागिसके। छिटो लेख। भात खाने बेला भैसक्यो।’
ल मार्यो है १ कमिलाको ताँती त खाटमै आएछ। कमिला कापीमै चढ्न लागे। कापीमा कमिला देखेर दमन झनै रिसाए। ‘लौ न दिदी, कमिलाले हामीलाई साह्रै हेपे। यिनीहरूलाई तपाईं तह लगाउनु न। जे गरे पनि कमिलाले खेदो गर्न छाडेनन्।’
दिदीले भनिन्, ‘कमिलाले हाम्रो खेदो गरेका हैनन्, हामीले कमिलाको खेदो गरेका हौँ। सबै जीव जनावरहरूलाई यो पृथ्वीमा बस्ने अधिकार छ। उनीहरूको अधिकार हामीले मिचेका हौँ। भन त भाइ, कमिला, कीराफट्यांग्रा बस्ने ठाउँमा हामीले टहरो बनाइदिएपछि उनीहरू कहाँ जान्छन्?’
दमनले ठुस्स परेर भने, ‘दिदी पनि कमिलातिरै लाग्नुहुन्छ। भन्नुस् न, अब कमिलालाई खाटबाट कसरी हटाउने? यिनीहरूले हामीलाई टोक्छन्।’ दिदीले भनिन्, ‘कमिलालाई चलाउनु हुँदैन। यिनीहरूले हामीलाई केही गर्दैनन्। कमिला आफ्नो बाटो हिँड्छन्। हामी आफ्नो बाटो हिँडौँ। कमिलालाई हटाउने हैन, हामी हट्नुपर्छ।’ दमनले भने, ‘आ, दिदी पनि जिस्किनुहुन्छ। हामी हटेर कहाँ जाने? कमिलासँग पनि डराएर भाग्ने?’ दिदीले भनिन्, ‘हामी एकछिन बाहिर गएर बसौँ। कमिला कता जाँदा रैछन्।’
दीक्षाले भनेको दमनले मानेका थिएनन्। दीक्षाले भाइको हात समातेर बाहिर ल्याइन्। दुवैजना खेततिर गए। खेतको आलीमा बसेर दिदीले भनिन्, ‘भाइ, उ: त्यो कान्लामा राम्ररी हेर। अनि भुइँमा पनि हेर।’ दमनले भने, ‘किन र दिदी? के छ त्यहाँ? म हेर्छु है त १’
दमनले खेतको कान्लामा हेरे। भुईंतिर पनि हेरे। उनले त्यहाँ कमिला र अरू कीरा देखे। उनले भने, ‘यहाँ पनि कमिला, कीराफट्यांग्रा मात्रै छन् दिदी। मलाई किन कान्लो र भुइँ हेर्न लगाएको तपाईंले?’ दिदीले भनिन्, ‘अब तल्लो कान्लामा पनि गएर हेर। अनि म भनुँला।’
दमनले तल्लो कान्लामा गएर हेरे। गह्रातिर पनि हेरे। त्यहाँ पनि कमिला, कीराफट्यांग्रा देखे। उनले भने, ‘हैन दिदी, कमिलाहरू जहाँ पनि हुँदा रैछन् त १’ दिदीले भनिन्, ‘हो, सबै जीव जनावरलाई यही जमिनमा बस्ने अधिकार छ। हामीले रिस गरेर हुँदैन।’ दमनको चित्त बुझ्यो। उनले भने,
‘हो रैछ दिदी। टहरोमा कमिला आउँदा हामीले उनीहरूको रिस गर्न नहुने रहेछ। ल, अब टहरोमै जाऊँ।’
उनीहरू टहरोभित्र पसे। खाटमा कमिला थिएनन्। भित्तातिर ताँती लागेर हिँडिरहेका थिए। दिदीले सोधिन्, ‘खाटमा कमिला छन् त भाइ?’ उनले भने, ‘छैनन् दिदी। खाटबाट झरेर भित्तातिर गैसकेछन्। अब म कमिलालाई चलाउँदिनँ दिदी। उनीहरू आफ्नो काम गर्छन्। हामी आफ्नो गरौँ।’
भाइका कुरा सुनेर दिदी मुसुक्क हाँसिन्। दिदीभाइ आफ्नो काम गर्न लागे। कमिला पनि आफ्नो काम गरिरहेका थिए।
प्रकाशित: पुस ५, २०७२
(स्रोत :कान्तिपुर – कोपिला )