~चन्द्र घिमिरे~
घर–घरलाई
सख्खारै मन्त्र फुक्न
कंगारुझैँ गुड्कँदै आउँथ्यो सूर्य
ऊ रैनछ अब ।
फकलैण्डमा लडेको कप्तान
र थियो छातीमा तक्मा
ऊ पनि रैनछ अब ।
बसपार्कमा थिई
माग्ने एउटी अपाहिज ‘हेलेन केलेर’
ऊ पनि रैनछे अब ।
स्म्याक खान पैसा माग्ने
एउटा छोरो थियो
ऊ पनि रैनछ अब ।
प्रेमिकालाई समेत घाँडो भाको
बेरोजगार युवा कवि थियो
ऊ पनि रैनछ अब ।
लडाइँबाट नफिरेको लोग्ने कुर्दी
अधबैँसे ‘मनमाया’ थिई
ऊ पनि रैनछे अब ।
फिस्स हाँसेर
एयर होस्टेसजस्तो सिउर झुकाएको
एउटा धरानगेट थियो
त्यो पनि रैनछ अब ।
हरेक साँझ छे’माको तोङ्गवा चुसेर
मार्क्स–नित्सेको टावर चढ्ने
एउटा विद्यार्थी नेता थियो
ऊ पनि रैनछ अब ।
मन्दिर थियो
जसमा जोडी–बेजोडी भक्तहरू
घन्टझैँ बज्दैथिए ।
चोक थियो
जसमा ढेसिएर लस्करै
कानेखुसी गर्दा घरहरू थिए ।
ओथारो बसेको मेरो स्कुल थियो
जसमा ‘भोलि’लाई रुँगेका
कलिला चल्लाहरु हुर्कँदै थिए
र ब्ल्याकबोर्डमा
चकझैँ खिइएका गुरुहरू थिए ।
जे थियो, थियो
भुइँचालोअघि थुप्रै थुप्रै थियो ।…..
(स्रोत : Egkabita)