कोठादेखि अफिस, आफिस देखि फेरि कोठा यहि नै हो मेरो दैनिकी । बिहानै उठेर कोठामा सामान्य औपचारिकता पूरा गरेपछि अफिसको बाटो ताक्नु, दिनभर अफिसमा भएका काम गर्नु, बेलुका आफिस टाइम सकिएपछि फेरी कोठालाई गन्तव्य बनाएर पाइलाहरु अघि बढाउनु, थकित र तनावग्रस्त शरीरलाई कोठामा बिसाएको केहि क्षणपश्चात् रात्रि भोजनादि गर्नु, केही समयपछि शिथिल र थकित शरीरलाई ओछ्यानमा फ्याँकेपछि केही बेर छटपटाहट हुन्छ निद्रादेवीको प्रतीक्षामा । शरीर जतिसुकै थकित किन नहोस्, जतिसुकै शिथिल किन नहोस् तापनि सजिलै निद्रा पर्दैन । अचम्म लाग्छ कहिलेकाहिँ निद्रा नपरेर बिहानसम्म छटपटिइरहँदा । खोई किन हो निद्रादेवी पनि हत्तपत्त आउन खोज्दिनन् । निद्रादेवीको प्रतीक्षामा हुने छटपटाहटमा सुताईको आसन हुन्छ, उत्तानो, कोल्टो, घोप्टो, अनि फेरि कोल्टो र अन्ततः फेरि उत्तानो । यसरी ओछ्यानमा शरीरलाई घुमाइरहँदा कतिबेला निद्रादेवी मलाई अंगाल्न आइपुग्छिन् पत्तो नै हुँदैन । यसरी नै चलिरहेको छ मेरे दैनिकी अझ भनौँ मेरो वर्तमान ।
मंसिरको महिना, त्यसो त ठण्डि महिना त्यसमाथि काठमाडौँमा बढ्दो चिसो । भित्र भित्र देखि मुटु नै कामेर आँउछ जस्तो लाग्छ । एकदिन अफिसमा कामको चाप अलि बढि नै थियो । ओभरटाइम गर्दैथिएँ, अफिसटाइम सकिएपछि पनि । त्यस्तै बेलुकी साढे आठ बजेतिर काम सकिएपछि म अन्तिम गन्तव्य कोठा तिर लम्किए । अफिसबाट बाहिर निस्कने बित्तिकै मंसिरको चिसो सिरेटोले शरीरको हरेक अंगहरुमा स्पर्श गर्न थाल्यो । चिसो हावाले पूरा ज्यानमा भएका नभएका सबै रौँहरु ठाडा भैरहेका थिए । ओठ च्यातेर, दाँत टोकी तल्लो र माथिल्लो दाँतको बीचबाट ‘सीऽऽ…सीऽऽ..’ आवाज निकाल्दै बुद्धनगरबाट बबरमहल पुलतर्फ सोझिएँ । दिनभरको कामको थकान, अनेक कुराहरुका तनाव र मंसिरको चिसो, यी सबैले मेरो शरीरलाई आत्मसात गरिरहेथे । बबरमहलको पुलबाट तल ओर्लिएँ, एउटा पसलमा पसेँ र चुरोट सल्काएँ । चुरोट पिउनेहरुका लागि चिसो मौसम अनि बेलुकाको समयमा चुरोट पिउनुको मजा नै बेग्लै छ ।
चुरोटको धुवाँ उडाउँदै आफ्नै तालमा हिँडेको थिएँ । अचानक मेरो कानमा एउटा आवाज ठोक्किन आइपुग्यो– ‘दाई’ । सोचेँ, मलाई पनि दाई भनेर बोलाउने भाई कहाँबाट आइपुग्यो ? पछाडि फर्किएर हेरेँ, धोवीखोलाको छेवैमा बसेको एउटा युवकको आवाज रहेछ त्यो । झट्ट हेर्दा आफ्नै उमेरको जस्तो देखिन्थ्यो, यद्यपि मलाई ऊसले दाई भनिरहेको थियो । तर पनि उमेर, र तीनपुस्ते जानकारी थाहा पाउने झंझट गरिरहन मन लागेन । ऊसको छेऊमा गएर सोधँे– ‘मलाई बोलाएका ? किन ?’ ‘तपाईंसँग अर्को चुरोट छ ?’ ऊसले प्रतिप्रश्न ग¥यो । मैले यथार्थ बकेँ – ‘अहँ, यो एउटा मात्र हो, जुन पिउँदैछु, यहि पिऊ न हुँदैन ?’ यति भनेपछि मैले ऊसलाई आफुले पिइरहेको चुरोट दिएँ, ऊसको मुखबाट रक्सीको वास आइरहेथ्यो । ऊसले बोलायो, म गएँ, चुरोट माग्यो, दिएँ सायद म अब बसिरहनु त पर्दैनथ्यो तर पनि खोई किन हो ऊसकै छेउमा मूर्तिवत् बसिरहेँ ।
ऊसले चुरोट पिउन थाल्यो । एकछिन दुवै मौन थियौँ । एकछिनपछि मैले सोधेँ– ‘कहाँ बस्छौ ?’ ‘यहि बबरमहल हो, नजिकै छ’ ऊसले जवाफ दियो । ‘के गर्दैछौ, घर कहाँ हो ? अनि यति बेलासम्म यो चिसोमा खोला छेऊ किन बसेका, कसैलाई कुरिरहेका हौ ?’ मैले एकैपटक अनेक प्रश्नहरुको पोको ऊतर्फ फ्याँकेँ । ‘१२ मा पढ्दैछु, होइन कसैलाई कुरेको छैन, को छ र कुरौँ ?’ बस् । ऊ यसपछाडि केही बोलेन । स्थिति अलि अस्वाभाविक लाग्यो र ऊसको यथार्थसँग भिज्न मन लाग्यो । अलि अप्ठेरो पनि लाग्यो, चिन्नु न जान्नु मान्छे त्यसमाथि रक्सी खाएर बसेको छ के केरकार गर्नु ? अन्ततः म ऊसँग अझै केही बेर बस्ने सोचेँ र भने ‘एकै छिन बस है, म चुरोट लिएर आउँछु ।’ ‘हस्’ ऊसले स्वीकृती दियो ।
हातमा जलिरहेको चुरोट लिएर फेरि ऊसको छेउमा उभिन पुगेँ, ऊ टुक्रुक्क बसेको थियो । सोधेँ– ‘आज अलि–अलि ट्रिपमा हो जस्तो लाग्यो नि ब्रदर ! के भयो भन्न मिल्छ भने भन क्यार !’ ऊ हाँस्यो, एकछिन चुप नै बस्यो, बोलेन । चुरोट एक सुरमा तानिरहेथ्यो । दायाँबायाँ साना ठूला घरहरुमा बलेका बत्तीको प्रकाशमा चुरोटको बाक्लो धुवाँको मुश्लो आकाशिँदै गरेको देखिन्थ्यो । केहि बेरसम्म पनि नबोलेपछि बसिरहनुको अर्थ छैन जस्तो लाग्यो तसर्थ म बाटो नाप्ने तरखर गरेँ र भने– ‘ल ब्रदर, अब तिमी केही नबोलेपछि यस्तो चिसोमा के गरेर बसिरहनु, म गएँ धेरैबेर तिमी पनि यस्तो चिसोमा नबस, कोठामा जाऊ ?’ अनि बल्ल ऊसको बोली फुट्यो– ‘यो साला केटीहरु सबै उस्तै हुन् कि क्या हो ? अनि हामी केटाहरु चाहिँसधैँ गलत मात्र किन ?’
ऊसको यो वाक्यले मेरो पाइला रोकिदियो, भर्खरसम्म ऊसैको मौनताले तताएको थियो मलाई तर अहिले फेरि ऊसैको बोलीले चिसो बनाइदियो । एकछिन् अचम्म लाग्यो, यहाँ पनि केटीकै कुरा ! मैले ऊसलाई भने– ‘ए भनेपछि यहाँ पनि कारण केटी नै हो, यस्तो चिसोमा रक्सी पिएर एक्लै खोला छेऊ बस्न सक्ने शक्ति केटीले नै दिइरहेकी छे होइन त ?’ ऊसले भन्यो– ‘त्यस्तो होइन, गलत नसोच्नुस् यार, मेरो अवस्थालाई महसुस गर्ने प्रयास गर्नुस् न थाहा भैहाल्छ नि’ । ऊसको कुरा सुनेर हाँसो लाग्यो, त्यसो त मान्छेलाई अरुको पीडामा नै खुशी मिल्छ भन्छन् खोई के हो । ‘ठीक छ, तर मैले तिमीलाई हेरेर तिम्रो अवस्था महसुस गर्न त सक्दिनँ नि ! तिमी केही बोल्छौ भने न थाहा पाउँछु तिम्रो अवस्थाको बारेमा, अनि पो थाहा हुन्छ महसुस गर्न सक्छु कि सक्दिनँ भन्ने, होइन र ?’ मैले भनेँ ।
‘हा..हा..’ ऊ हाँस्यो तर ऊसको यो हाँसो जबरजस्तीको हाँसो हो भन्ने प्रष्टै थाहा हुन्थ्यो । चुरोटको धुवाँलाई आकाशतिर यसरी फ्याँक्यो मानौ त्यो धुवाँ ऊसको शत्रु हो । अनि भन्न थाल्यो—
‘कलेजमा एउटी केटीसँग मैले फ्रेण्डशीप गरेको थिएँ । एउटा–एउटा गरेर हेर्ने हो भने त थाहा छैन, तर ओभरल हेर्दा ठीकै देखिन्थि, राम्री थिई । मेरो र ऊसको सम्बन्धको हद फ्रेण्डशीप मात्र थियो । त्यो भन्दा अगाडि मैले केही पनि सोचेको थिएन । ऊसले के सोचेकी थिई थाहा छैन । फेरि अरुको मनको कुरा थाहा पनि कसरी पाउनु र ! हाम्रो मित्रताको गति विस्तारै विस्तारै गरिकन बढिरहेको थियो । हामी एकअर्का प्रतिको मित्रभावमा सन्तुष्ट थियौँ । फोनमा लगातार कुरा भईरहन्थ्यो तर कलेजमा भेट हुँदा भने हामी बोल्थेनौँ । लाग्थ्यो हामी एक अर्कालाई चिनेकै छैनौ । त्यो अवस्था हामी दुवैको चाहनाले सिर्जना गरेको थियो । पहिले त्यति चासो दिए जस्तो लाग्दैनथ्यो, पछि ऊसको अवस्था र कुरा गर्ने शैली, अनि बोलीमा मिसिएका अदृश्य छटपटाहटहरुलाई हेर्दा लाग्थ्यो आजकल अलि चासो दिन थालेकी छे यद्यपि ऊसका शब्दहरु भने पछिसम्म पनि त्यस्ता लाग्थेनन् । कहिँ कतैबाट लुकेर एकपटक मलाई हेरैकै हुन्थी । मलाई ऊसको एउटा कुरा अति राम्रो लाग्थ्यो । म सही हुँदा सही र गलत हुँदा गलत भनेर भन्न सक्थी, भन्थी । यदि म आफु गलत हुँदा सही भनेछु भनेपनि गलत छौ भनेर भन्थी । जुन कुरा यो भन्दा अगाडि संगत गरेका केटीहरुमा पाएको थिएन । बल्ल पाएँ जस्तो छ असल मित्र भन्ने भान पथ्र्यो ममा ।’
म मौन रहेर ऊसको कुराहरु सुनिरहेको थिएँ । मलाई ऊसको कथा सुनिरहँदा, के भएछ यसलाई जसले गर्दा यस्तो चिसोको पर्वाह नगरी यहाँ आएर बसेको छ भन्ने खुल्दुली जागेको थियो । ऊ भन्दै थियो–
‘यसरी नै चलिरहेको थियो, फोनमा अत्यधिक कुराकानी हुन्थे । हरेक दिन प्रायः राति कुरा हुन्थ्यो । धेरै कुराहरु सार्वजनिक गरिन्थे हामीबीच । सल्लाह सुझाव, सहानुभुति र साथको उपस्थिति भइरहन्थ्यो । ऊसको लागि मैले आफ्नो बानी, स्वभाव र यथार्थहरुको ढोका पूरा उघारेको थिएँ, सायद ऊसले पनि उघारेकी थिई कि ? दसैँ आउँदैथियो, घर जाने बेला आएकोमा दुवैमा उमंग छाएको थियो । पछि भने हामीले अलि कम फोन गर्न थालेका थियौँ । कहिले ऊसले गर्थी, कहिले मैले । दोहोरो नै थियो भनौ । मैले ऊसलाई कुनै पनि तरिकाले धोका दिइरहेको थिएन । अहिलेसम्म कुनै कुरामा जबरजस्ती पनि गरेको थिएन । घर जाने दिन नजिकिँदै गर्दा हाम्रो कम्युनिकेशन पनि कम हुँदै गएको थियो । यद्यपि हाम्रो मित्रताको सम्बन्ध भने यथावत् नै थियो । नजिकिँदै गरेको दसैँ विदा पनि आइपुग्यो, संयोग नै भनौँ ऊ र म काठमाडौँबाट हिँडेको दिन पनि एउटै हुन गएको थियो । असोज ३ गते । ऊ झिसमिसे बिहानी मै हिँडेकि थिई र म चाहिँ मध्यान्ह १२ बजे तिर मात्र हिँडेको थिएँ । बाटोमा पनि एकाध पटक फोनसम्पर्क भयो, सोधिन्थ्यो – ‘कहाँ पुग्यौ, कहाँ आइपुग्यौ ?’
यति भनेपछि ऊसले पुनः चुरोट सल्कायो । र धुवाँलाई उहि शैलीमा आकाशतिर फ्याँक्न थाल्यो । हुन त मलाई सबै कुरा बताइरहनु त किन पथ्र्यो र ऊसले । सायद ऊसले आफ्नो कथा मलाई सुनाएर आफु हल्का भएको महसुस गर्दै थियो क्यार ! पुनः निरन्तरता दियो आफ्नो कथालाई, र म सुनिरहेँ ध्यान दिएर ऊसको कथा–
‘घर पुगेर मैले एउटी पुरानी साथी भेटेँ, जोसँग चार वर्ष देखि भेट भएको थिएनँ । त्यसो त चार वर्ष अघि पनि हामी कुनै सम्बन्धमा बाँधिएका थिएनौ, साथी पनि औपचारिक सम्बन्ध मात्र थियो । त्यही हो हामी अपरिचित थिएनौ, त्यसो त ऊ मेरो टाढाबाट नाता पनि पर्थी । भ्रममा नपर्नुस्, म अहिले कलेजवाली केटीको बारेमा भनेको छैन, यो अर्की केटी हो । ऊसले मसँग ४ वर्ष अघि नै केही समय बिताइसकेकाले यसपटक ऊ मसँग छिट्टै झ्याम्मिई, र धेरै पछि भेटेको भएर हो कि तीव्र गतिमा आफ्ना मनमा कुण्ठित भावनाहरु व्यक्त गर्न थाली । यहाँसम्म कि ऊ त मसँग अफेयर नै सुरु गर्ने अवस्था सिर्जना गर्न पुगी । मैले सम्झाएँ, त्यसो हो भने हामी फ्रेण्डशीप गरौँ, यो अफेयरको झंझटमा नपरौँ । तर के हुन सक्थ्यो र ? ऊसको त्यो फुटेको भावनाहरुको बाँधलाई मेरा यी वाक्यहरुले रोक्न सकेनन् । अतः सोचेँ आजसम्म जति केटीहरुको संगत गरे, ती सबैलाई मैले नै माया गरेको थिएँ, र उनीहरुले टुक्राएका थिए मलाई । धेरै सोचेपछि निक्र्यौलमा पुगेँ, मलाई यति धेरै माया गर्छे भने किन टुक्राउनु ऊसलाई, पहिलो पटक आफुलाई असीमीत माया गर्ने मान्छे पाएको भान भयो र स्वीकारे ऊसको प्रेमप्रस्ताव । सुरुभयो हाम्रो अफेयर ।’
ऊ रोक्कियो । मैले भने ‘के भयो ? अगाडि भन न ।’ ऊसले भन्यो –‘हुन्छ तर मैले यहाँ कसैलाई गलत भन्न खोजेको छैन, कुरा सुन्दा कसैलाई होच्याएको जस्तो लाग्ला तर त्यसरी नसोचिदिनु होला, यहाँ मैले न त मेरो व्यक्तित्वको प्रसंशा गरेको छु न त कसैको व्यक्तित्वको धज्जी उडाइरहेको छु ।’ मैले फेरि भनेँ– ‘हुन्छ, पहिले भन त सही ।’ फेरि सुरु भयो ऊसको कथा–
‘एक दिन हामी दिनभर सँगै थियौँ, अनेक कुराकानी भए हामी बीच । ४ वर्ष अगाडिका हरेक कुराहरुलाई वर्तमानमा ल्याइएको थियो । त्यसै रात पनि हामी सँगै भयौँ । खाटमा एकातिर म थिएँ र अर्को पट्टि ऊ । अचानक मेरो गालामा केही चिसो टाँस्सिनँ आयो, हेरेँ त्यो ऊसको ओठ थियो । मैले कुनै प्रतिक्रिया दिइन । यद्यपि दिनभर कुरा हुँदा हात समेत पनि समाउने काम भएको थिएन । त्यसो त सायद मैले नै सुरु गर्नुपर्ने थियो होला ती कार्यहरु । तर म सभ्य हुन चाहन्थेँ, कुनै पनि सम्बन्ध चाहे त्यो मित्रता होस् या प्रेमसम्बन्ध या त अरु कुनै, सेक्स अनिवार्य छ जस्तो लाग्दैन न त त्यति अनावश्यक नै छ जस्तो लाग्छ । दिनभर कुराकानी मात्र भयो । तर राति…नेपाली उखान छ नि– ‘जब भयो राति तब बुढि ताती’ । हो त्यस्तै भयो । ऊसको ओठ मेरो गालामा टाँसिएको केही समय पछि दोहोरो चुम्बनको वर्षा हुन थाल्यो । केहीबेरसम्म चुम्बनको क्रम चलिरह्यो । तर पनि मैले ऊसलाई बारम्बार भनिरहेँ, कन्ट्रोल गर है । ऊसले पनि ‘हुन्छ म गरिरहेछु’ भन्थी । तर राति त्यस्तै ११ः३० जति भएको थियो होला, ऊसले अश्पष्ट आवाजमा भनी– ‘म कन्ट्रोल गर्न सक्दिनँ, प्लीज आज कन्ट्रोल नगरौँ है ।’ ‘उप्m ! सायद यो वाक्य त मैले बोल्नु पर्ने हो, तर यहाँ त…, फेरि यसलाई मैले कन्ट्रोल गर पो भन्या’ यस्तै आदि इत्यादि कुराहरु दिमागमा उफ्रिन थाले । अब मैले त्यहाँ गर्नु पर्ने के थियो ? त्यसो त मेरो पनि कन्ट्रोल गर्ने अवस्था थिएन तैपनि गरिरहेथेँ आफुलाई कन्ट्रोल । ऊसलाई अनेक तरिकाले सम्झाएँ, यो सब अनिवार्य छैन, प्लीज कन्ट्रोल गर आपूmलाई । यहाँसम्म कि एकछिन छुट्टै बसौँ भनेर पनि भनेँ, तर ऊ एउटी स्त्री थिई, फेरि यसपटक त्यो फुटेको बाँध ऊसको भावनाको थिएन उत्तेजनाको थियो, मैले कसरी रोक्न सक्थेँ र ऊसलाई । त्यसो त मैले त्यो भन्दा अगाडि नबढ्ने विकल्पहरु धेरै थिए जहाँ मेरो इच्छा नै थिएन भने । तर पाएँ भन्दैमा भोको बाघले बाख्रालाई झम्टेझैँ झम्टने स्वभाव ममा थिएन, त्यसैले सम्झाउने कोशिष गरेँ, तर ऊ पूर्णतः आफ्नो शरीर मलाई सुम्पन तयार भैसकेकी थिइ । अन्ततः त्यस रात हामीबीच शारीरिक सम्बन्ध भयो । केही क्षण कामुत्तेजनाले हामीलाई एकअर्काको शरीरको रसमा लिप्त पारिदिएको थिए । त्यही एउटा कुरा गोप्य थियो सायद हामी बीच तर अब त्यो पनि बाँकी रहेन । हुनुपर्ने थियो या थिएन त्यो थाहा छैन तर भयो । र त्यस रात ऊसले आफुलाई कन्ट्रोल गरेकी भए मलाई अझ बढि सन्तुष्टि मिल्ने थियो । तर…’
‘…मैले अफेयर सुरु गरेको कुरा कलेजवाली केटीलाई भन्छु भनेर फोन गरेँ तर सम्पर्क हुन सकेन । आ.. भैगो काठमाडौँ गएरै भनौँला । यही सोचेर बसेँ । त्यसको केहि दिनपछि म काठमाडौँ फर्किएँ । काठमाडौँ आएको दुईदिन पछि त्यो अफेयर ब्रेकअप भयो । कारण थाहा पाउन सकिन, यद्यपि मैले धेरै सोधेको थिएँ, र धेरै कोशिष गरेको थिएँ तर अहँ केही हुन सकेन । परिणामतः त्यो अफेरले पनि ब्रेकअपको उपाधि पायो । सोचेँ सबैकुरा ऊसले नै सुरु गरेकी थिई, र अन्त्य पनि ऊ आफै गरी । मैले गर्न के मिल्थ्यो र ? रुने कराउने कुरा भएन, जाने मान्छेलाई नजाऊ भन्दै खुट्टा समातेर राख्ने कुरा भएन, सम्भवतः ऊ यस्तै गर्नमा रमाउथी । अनि यता कलेजवाली केटीसँग पनि सम्पर्क जारी नै थियो, ब्रेक–अप नै भैसकेपछि पनि के सुनाइरहनु भनेर केही समयसम्म त सुनाइन । तर एकदिन मनले मानेन । जब कि कुनै कुरा लुकेका छैनन् भने यो कुरालाई पनि के लुकाउनु, फेरि ऊ मेरो मिल्ने साथी न हो, बुझिहाल्छे नि मेरो समस्या, यो भन्दा अगाडि पनि बुझेकै थिई क्यार । तसर्थ ऊसलाई सबै कुरा बताएँ । सबैकुरा भनिसक्दा ऊसले शारीरिक सम्बन्ध भएको कुरा पनि थाहा पाई । त्यसपछि त मेरो कुरा सुन्न छाडी, भनौ बोल्नै दिइन अनि अलि रुखो स्वरमा बोली– ‘तिमी केटाहरु सबै उस्तै हौ, पायौ भने केही छोड्दैनौँ । आफ्नो गल्ती लुकाउँछौ, अनि केटीलाई नै गलत देखाइदिन्छौ…’ वाह ! कस्तो नारीवादी सोच । एक हिसाबले त ठीकै हो तर त्यतिविधि भनिरहँदा कतिपय ठाऊँमा तीनै नारीहरु पनि गलत हुन्छन् भनेर ऊसले सोची होला त ? त्यसो त मैले ऊसलाई आफ्नो गर्वानुभूति सुनाएको थिइनँ । हरेक समस्या र परिस्थितिलाई बुझ्ने साथीको नाताले र सबै कुराहरु नलुकाई भनिरहेकाले यो सत्य भनेको थिएँ । सायद मैले झुट बोल्नु पर्नेथियो होला हरेक पटक ऊसँग, सायद त्यसो गरे झुटको डोरीले सम्बन्धलाई बाँधिराख्थ्यो होला । फेरि म जातैले केटा थिएँ र ऊ पनि जातैले केटी । यसै पनि यौनको मामलामा हरेकपटक केटाहरु नै गलत ठहरिन्छन् । म पनि अनायास गलत भएँ ।’
मलाई यति सुनिसकेपछि कताकता अचम्म लाग्यो, कताकता हाँसो पनि लाग्यो, कताकतादुःख पनि लाग्यो । सम्झेँ ऊसले सुरुमा भनेका वाक्य– ‘यो साला केटीहरु सबै उस्तै हुन् कि क्या हो ? अनि हामी केटाहरु चाहिँसधैँ गलत मात्र किन ?’ त्यसो त आँप छुरी माथि खसोस् या छुरी आँप माथि काटिने त आँप नै हो । अनि त्यो काटिने आँप गलत हुने पनि कसरी ? गलत त काट्ने छुरी नै हुन्छ नि । ऊसको कुरा सुनेपछि कता कता मैले त्यस केटामा मूर्खता पनि देखेँ, किन भन्नु पथ्र्यो र त्यस्ता कुराहरु पनि त्यै माथि केटीलाई ! अनि कता–कता कस्तो अत्मीय रहेछ अनि कति विश्वास रहेछ आप्mनो मित्रतामा जस्तो पनि लाग्यो, त्यस्तो कुरा पनि आप्mनी केटी साथीलाई भन्न सक्ने कस्तो रहेछ ? अनि ऊसलाई फेरी सोधेँ, मानौ म एउटा सञ्चारकर्मी हुँ र ऊ कुनै विशिष्ट व्यक्ति जसको म अन्तर्वार्ता लिँदैछु– ‘अनि के भयो त, के गरी त्यो केटीले, राम्रो सँग सम्झाएनौ ?’
‘के हुनु नि, खै के गरी त्यसले ? थाहा छैन । सोच्दैछु त्यसले के गरी अनि मैले के गरेँ । सम्झाउनलाई समय पनि दिनु प¥यो नि, त्यसदिन देखि राम्रो सँग सम्पर्क भएको छैन । आजकल त्यति चासो पाउँदिन ऊसमा । त्यति सम्पर्कमा आउँदिन । आइहाले पनि कुरा गर्न मौका नै पाउँदिन, केही बहानामा फोन राखिहाल्छे, अनि ‘मलाई किन गलत सोचेको, पहिले कुरा त पूरा सुन, कहिले काहिँ मेरो ठाउँमा रहेर पनि सोच्ने गर न’ भन्दा ‘गलत सोचेको भनेको छैन, म आजकल अलि बढि नै व्यस्त छु’ भन्छे बस् । अहिले ऊसको र मेरो सम्बन्ध बाँचेको छ कि मरिसक्यो केही पत्तो छैन । कति कोशिष गर्छु तर अहँ, मलाई गुनाशो एउटै कुरामा हो, अनायास गलत सोचिसकेपछि कमसेकम यथार्थ र अवस्थालाई पनि बुझ्ने कोशिष गर्नु नि ! तर अहँ । के गर्न मिल्छ र मैले, सधैँ अनुरोध मात्र त गर्ने हो । तर सायद मेरा अनुरोधहरु, अनि चाहनालाई आफ्नो हतियार बनाइ होली त्यसले । सोच्दी हो ‘यो मप्रति निकै कमजोर भैसकेको छ, यसलाई मैले जे गरेपनि हुन्छ ।’ फेरी नारीहृदय एकठाउँमा सधै बसोस् पनि कसरी ? खैर, ऊसको सधैँ भलो होस् । अरु त खै के भनौँ….’
यति भनेपछि ऊ रोक्कियो । धेरैबेरसम्म पनि नबोले पछि सायद ऊसको कथा सकियो भन्ने लख काटेँ मैले र भनेँ– ‘तनाव नलिग, हुनसक्छ ऊ तिमीलाई अप्रतक्ष्य रुपमा माया गर्न थालेकी थिई होला त्यसैले त्यस्तो कुरा थाहा पाउने बित्तिकै ऊसको मन बिच्कियो । हुनसक्छ ऊसको जिन्दगीमा अरु कोही आएको छ, हुनसक्छ तिमीलाई केही बेर सताउन चाहन्छे, हुनसक्छ, हिजोका दिनमा तिमीसँग क्षणिक सम्बन्ध मात्र सुरु गरेकी थिई, हो ब्रदर यहाँ यस्ता हुनसक्छहरु धेरै छन् । जे पनि त हुनसक्छ । फेरी हरेकको जीवनमा एउटा आउने, अनि जाने फेरि अर्को आउने, अनि त्यो पनि जाने क्रम त भैरहन्छ । अनि अँ तिम्रो जिन्दगी एउटा केटीमा सीमित छैन बुझ्यौ ? यस्ता कुराहरुलाई मनमा खेलाएर यस्तो चिसोमा बस्ने नगर । सोच, तिमी कुनै गोरेटोमा रहेको चौतारी हौ, जहाँ एउटा आउँछ, जान्छ, फेरी अर्को, अनि फेरी अर्को, एवम्प्रकारले आउने जाने क्रम त चलिरहन्छ नि । कोहि पनि मान्छे त्यति मजबुर हुँदैन जति सोचिन्छ, तिमी आफुलाई मजबुर नबनाऊ यार । प्लीज’
‘हुन त हो नि दाई, तर मनै त हो नि मेरो पनि बतासिन्छ बरालिन्छ । यदाकदा सम्झनामा आउँछन् ऊसँग नजिकको मित्र भएर कुराकानी गर्दा प्रयोग हुने वाक्यहरु अनि कहिँ प्रसन्नता त कहिँ उदासीनताको पर्खाल खडा भइदिन्छ, अनि त्यो पर्खाल फोडूँ या नाघूँ असमञ्जस्यमा पर्छु । सकेसम्म सम्बन्ध नबिग्रियोस् भन्ने चाहेको हो मैले । ऊ मेरी प्रेमीका त होइन न नि त्यैपनि किन यस्तो ? सबै होइन तर धेरै बुझेको छु, जीवनमा एउटा विपरीत लिङ्गी असल मित्र भइदिँदा त्यसको महत्व कति हुन्छ । तर मैले मात्रै चाहेर हुने कुरो रहेनछ । ऊसलाई मैले नराम्रो भनेको छैन, ऊ मेरो साथी थिई, हो र सधैँ हुनेछे । बस यत्ति हो, बाँकी म परिस्थितिसँग अभ्यस्त हुने प्रयास गरौँला…’
त्यसो त केटो आफैलाई मनाउन पनि जान्दो रहेछ । हामीलाई पूरा रात त्यस्तो चिसोमा त्यहीँ बसिरहनु थिएन, यति सब कुरा भनि, सुनिसकेपछि मैले भने– ‘हो, मान्छेले हरेक दिन केही न केही नयाँ कुराको अनुभव गर्छ र त्यसैमा अभ्यस्त हुँदै जान्छ, तिमी पनि हुनेछौ । यदि ऊसको मित्रता साँचो थियो भने ऊ आउछे एकदिन फेरि तिम्रो जीवनमा, र जब आउँछे त्यो सम्बन्ध निकै राम्रो हुनेछ । तिमी अब कुनै प्रयास नगर, आउँछे भने आउन देऊ आउदिँन भने छाडिदेऊ, फेरि जहाँ मन छैन, जहाँ तन छैन, जहाँ इच्छा छैन, जहाँ सकारात्मक सोचाई छैन, जहाँ विश्वास छैन, जहाँ कुनै अनुभूति नै छैन भने त्यहाँ जबरजस्तीको पनि कुनै स्वाद हुँदैन । यस्तो खल्लो जबरजस्ती पनि के गरीरहनु ? तिम्रो जिन्दगीमा आउने केटी त्यो मात्र होइन, अहिले एकछिन ऊसलाई एक्लै छाडिदेऊ ।’
‘म पनि त्यहिँ सोच्दैछु । आउँछे भने ठीक छ होइन भने म अब कुनै प्रयास गर्दिन ।’ ऊसले टाउको हल्लाउँदै भन्यो ।
यति कुराकानी भैसक्दा मैले ऊसको नाम सोध्न बिर्सेको थिएँ । मैले आप्mनो छोटो परिचय दिँदै ऊसको परिचय मागेँ, सोधेँ– ‘अनि तिम्रो नाम चाहिँ के हो ?’
ऊसले भन्यो–‘मेरो कुनै नाम छैन दाई, म अनाम व्यक्ति हुँ । फेरि मेरो अस्तित्व म बाँचुन्जेललाई मात्र हो, अतः मलाई कसैले चिनिरहनु आवश्यक पनि नहोला…’
यो कुराले मलाई स्तब्ध नै बनायो । सोचेँ कस्तो अजीब मान्छे रहेछ । मैले कोठाको बाटो नाप्ने सुरमा ऊसलाई भने– ‘लौ त, अब फेरि कतै भेटौँला, तर यस्तो अवस्थामा चै भेट्न नपरोस् नि ! मलाई दुई पटक निमोनिया भैसकेको छ, तीन पटक होस् भन्ने चाहन्नँ ।’
‘हा..हा..’ ऊ फेरि हाँस्यो यतिबेला ऊसको यो हाँसो कृत्रिम होइन कि झैँ लाग्थ्यो । ‘हुन्छ, सरी है हजुरलाई यति बेरसम्म यहाँ अनायासै रोकेर राखेँ । अनि हजुरको सहानुभुति र सुझावका लागि अन्तर हृदयदेखिनै धन्यवाद !’ औपचारिकता नै भनौ यो वाक्य बोलेर ऊसले कृतज्ञता ज्ञापन गरेको थियो ।
म पनि ऊसको धन्यवाद पाएर के–के नै पाएझैँ, ठूलै माल हात पारेझैँ गरी कोठा तिर लागेँ । बाटोभरी ऊसैको कुराहरु सम्झिएँ । कोठामा गएँ, कोठामा पुग्दा रातको १०ः१५ बजेको थियो । खानाले बरफको रुप लिएको थियोे । त्यसै खानालाई तताएर खाएँ, अनि ओछ्यानमा पल्टेर निद्रादेवीको स्वागत गर्न तत्पर भएर बसेँ । तर उहि त हो निद्रादेवीको अवस्था । निद्रादेविको काखमा लुटपुटिने उपक्रममा त्यो युवकसँग बिताएको झण्डै डेड–घण्टा समयमा भएका कुरा र सुनेको ऊसको कथाकै बारेमा सोचिरहेँ । यहाँ नारीजाति र पुरुष जाति दुवै उस्तै छन्, यी दुवै जाति एकअर्कामा कोही कम छैनन् । र हरेक कुरामा पुरुषमात्र गलत हुँदैन, तिनै नारीहरु गलत छन् । तर हाम्रो समाजमा हरेकको माइन्ड सेट छ, गलत सधैँ पुरुष मात्र हुन्छन् । यर्थार्थ के हो त्यो सोचिन्न मात्र सोचिन्छ यो लोग्नेमान्छेको जातै यस्तै
हो, अनि पुरुष सधैँ गलत । मनमा यस्ता अनेक तर्कनाहरुको अन्र्तद्वन्द्व शुरुभयो, र तत्क्षण अन्त्य पनि भयो । ऊसले भनेको थियो ‘मेरो अवस्थालाई महसुस गर्नुस्’ तर मैले महसुस गरेर त्यहाँ हुने केहि थिएन । यस्तै थियो अवस्था, त्यत्तिकैमा कतिबेला निद्रादेवी आइन र उनको काखमा पुगेछु पत्तै भएन…..।
मेरो भन्नु :
यस कथाका स्थान र पात्रहरु काल्पनिक हुन् । घटनाले कहिँ कहिँ यथार्थलाई छोएको पनि छ तर यो एउटा आख्यान हो यसलाई आख्यानसम्म मात्र सोचिदिनु होला । कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ । अन्यथा क्षमाप्राथी छु । गल्तीहरु धेरै छन् अतः गल्ती भएको ठाउँमा आफैले सच्याएर पढिदिनु होला । कृपया यसलाई बुझ्नेहरुले गलत नबुझिदिनु र नबुझ्नेहरुले बुझ्न कन्जुस्याँई नगरिदिनुहोला । धन्यवाद ।
१० पुस २०६९
सुमन पछाई
काठमाडौँ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )