~कबिता शर्मा~
ढाक्रेहरु ओडारतिर पानी उमाल्दैछन् मूढा जोडेर,
आगाका लप्का अघिल्तिर
सल्बलाएका देखिन्छन् दुईचार आकृतिहरुमात्र१
चौतारीका झयाउंकिरीको जुवारी पनि निख्रेपछि,
सुनसानको एकलब्यता बगिरहेछ
सुस्केराका सुसेलीहरु चुपचाप बिलाए,
हातमा एकमूठी रांको सल्काएर
मूलबाटाका बटुवाहरु अघिलाग्दा छिप्पिएको रात
त्यही रात चिर्दै गाउं खोज्न गा थिए
अझै फर्केका छैनन् पारीबाट गोठालाहरु
गोठहरु पनि चकमन्न छन्
दिनभरीको हो हल्ला ,रोदन्, क्रन्दन्,
मस्त सुतिरहेछ।
सुनसानको एकलब्यता बगिरहेछ
अंध्यारोले क्षितिज पुरीएपनि
टाउकोमाथि कतै कतै पिल्पील ताराहरु देख्दा
सल्ले डांडोको सीमा देखेको भान भैरहेछ,
मूलबाटाका बटुवाहरु छिप्पिएको रात चिर्दै
बास् खोज्न गा थिए।
अझै फर्केका छैनन् गोठालाहरु,
सुनसानको एकलब्यता बगिरहेछ
सुनेको थिएं, कबिता..
घांस् दाउरा गर्न यही बाटो हिंड्छे रे
लेकबेंसी सुसल्दै यही बाटो झर्छे रे
गोठालाहरुसंग जुहारी खेल्छे रे
कहिले हिमांचलका तपस्वीहरुसंग नाच्छे रे
मेलापात जान्छे रे
कतै रांका बाल्छे रे कबिता
कतै चट्यांग पार्छे रे कबिता
तर यो नीरव परिबेशमा
यही गाउंमा म भित्रको एउटा कबि
जाग्राम कुरीरहंदा कतै देखिन कबिता
कतै सलल शैलीमा बगिन् कि भनेर किनारापारी
सुम्सुम्याउंदा भेटिन कबिता
सुनसानको एकलब्यता बगिरहेछ
बतै भीरपाखामा अल्झीन् कि भनेर बोलाएं
केबल छ प्रतिध्वनीत आप्mनै सूर
सुनिन कतै कविता
रुखबोटहरुलाई सोधि हेरें
थहा छैन कहां छे कबिता
अंजुलीभरी माटो उठाएर सोधें
कविता देखेनौ?
देखिन पाइतालाका डोबहरु, देखिन कबिता
सुनसानको एकलब्यता बगि नै रहेछ।
टोकियो, जापान
Feb5,2001
(स्रोत : Freenepal)