कथा : मुक्ति प्रसङ्ग

~डा. कविताराम श्रेष्ठ~Kavita Ram Shrestha

बाजा एकतालमा एकैनाशले बजिरहेछ ।

उसले बाँदरको मुकुण्डो लाएको छ । त्यसैले बाजाको ताल छाडेर नाच्न पनि उ स्वतन्त्र छ । बाँदरको कहाँ कुन निर्दिष्ट ताल हुन्छ र ?

दोश्रो कुरा फेरि उसलाई के छ भने उसको अनुहार जात्राको मुकुण्डोले छोपिएको कारण आफ्नो सुपरिचित सभ्य समूहबाट एकदमै नचिनिने ग्यारेण्टीले एकदमै निर्धक्क नाच्न सक्दछ । उसले निकै बेरसम्म मनचाहे नाच नाच्यो ।

नाच्दा-नाच्दै उसलाई लागेर आयो- म आदिम मान्छेको अनुहारलाई जात्राको रुपमा प्रयोग गरेर एउटा स्वच्छन्द र निर्धक्क नाच नाचिरहेछु । वस्तुतः म मुकुण्डोभित्र एउटा आफैँ नै स्वच्छन्द र निर्धक्क आदिम मान्छे नाचिरहेछु । यो मुकुण्डो फालेर म किन यही बेलामा जात्राभन्दा परका गल्लीहरुमा सबैका अघि स्वतन्त्र एउटा आदिम मान्छे हिँड्न, उफ्रिन र नाच्न सक्तिनँ ? किन मान्छेले किन आफ्नो स्वतन्त्रतालाई जात्रामा एउटा मनो रंजनको साधन बनाएर व्यङग्य प्रयोग गरिरहेछ र आफूलाई सभ्य घोषणा गर्दै हिँडिरहेछ ? … वास्तवमा यी दर्शकहरुले हेर्नुहेर्नुमा नै आफ्नो संस्कार बिगार्दै आइरहेका छन् । म भन्छु एकैपल्ट मात्र यिनीहरुले यो मुकुण्डो भिरेर यहाँ बेतालमा बाँदर नाचून अनि स्वतन्त्रताको मूल्य बुझ्ने छन् ।

ऐले यी सबैलाई छाड्छु ।

तत्क्षणै उसले मुकुण्डो थुतेर फाल्यो र ठूलो स्वरमा घोषणा गर् यो- “म अब बाँदरै छु र मलाई बाँदर नाच्न मुकुण्डोको जरुरत छैन ।”

यसपछि ऊ आफन्त भद्रभलाद्मीहरुका आँखामा चिन्ताका रङ नआउन्ज्यालसम्म जथाभावी उफ्रीरह्यो र केही क्षणपछि उफ्रदै-उफ्रदै गल्ली-गल्लीमा जान लाग्यो ।

सडकमा कसैले भने- “हनुमानले लाग्यो ।”

कसैले भने- “पूजामा विधि बिगि्रएछ ।”

कसैले भने- “मगज सड्कियो ।”

तीनैवटा अर्थहरुमा ऊ बहुलाएकै ठहरियो । उसलाई उनीहरुका अर्थमा यो बहुलाउनु ठीकै जँच्यो र आफूलाई बहुलाहा बनाएर स्वतन्त्र एउटा बाँदरसँग नै सडकमा हिँड्न लाग्यो ।

तर बहुलाएर यस सडकमा निर्धक्क बाँच्ने उसलाई अधिकार थिएन । ऊ जहाँ रहन्थ्यो त्यहाँ नै रमाइलो मानेर हेर्नेहरुको भीड थुप्रन्थ्यो । यसरी ऊ सधैँ नै देखिने जात्राको रुपमा देखिन लाग्यो । शायद जात्राको जन्म यसरी नै भएथ्यो ।

धेरैजसो टोलहरुमा हुलकाहुल केटाकेटीहरु उसलाई ढुङ्गा हानी खेद्ने गर्थे । ऊचाहिँ ढुङ्गाको मारबाट बाँच्न बेतोडले भाग्ने गथ्र्यो । टोलका सारा केटाकेटीहरु र भुस्याहा कुकुरहरु कराउँदै उसका पछि हुन्थे । त्यहाँ कुनै ठूला अभिभावकले त्यस कृत्यलाई रोक्ने काम गरेनन् । सबैले हाँसिदिएर यो जात्रालाई हेरिरहे । स्वतन्त्र बाँच्नु कति गाह्रॊ छ ।

सडकमा एउटाले भनिरहेथ्यो- “यसलाई केले छोपेको छ हेर्न पर्ने ।”

अर्कोले भनिरहेथ्यो- “भूत कि देउता छुट्याउन पर्छ ।”

र धेरैले भन्थे- “मगज सड्किएको ।”

ऊ आफैँले भनिहिँड्थ्यो- “मलाई तिमीहरुको कुनै आदर्श देउता वा अनादर्श भूतले छोएको छैन । बुझ तिमीहरुका कुनै मूल्यले छोएको छैन र यसको मन्त्र तिमीहरुसँग छैन ।”

एकदिन उसलाई पागलनामा पुर् याइयो । उसले सबै पागलहरुलाई हेर् यो सबै आ- आफ्नै मगनमस्तीमा । कसैलाई कसैको वास्ता छैन । यहाँ उसले बाहिर सभ्य वर्वरताका छानामुनिभन्दा धेरै नै शान्ति पायो । केहीक्षण आनन्द लिएपछि उसले पनि केही गर्नै पर्छ भन्ने सोच्यो र धेरै दिनदेखिको नाङ्गो हुने धोको सम्झेर तुरुन्त लुगा खोलेर आफ्नो आदिम स्वरुपमा मस्त हुन लाग्यो ।

उसले नजिकैको पालेलाई बडो जुगुप्सापूर्ण दृष्टिले आफूतिर हेरिरहेको पायो । तुरुन्तै उसको छेउमा पुगेर भन्यो- “नाङ्गै सडकमा नउत्रनु भन्ने तिमीहरुको नियमलाई म हाँसिदिन्छु … हा … हा…हा…हा…!” फेरि एकै क्षणमा गम्भीर भएर उसले भन्यो- “जब तिमी आदिम अनुहार लिएर स्वाभाविक बाँचिरहेथ्यौ तिमीबीच कुनै निर्दिष्ट नियम र मान्यता थिएन र जब तिमी आफ्नो आदिम अनुहारलाई मुकुण्डो बनाएर जात्रामा नाचिरहेछौ एउटा तथाकथित सभ्य बर्बर अनुहार लिएर ऐलेसम्म पागलहरु जन्माउँदै उनीहरुलाई नै रुंग्ने पर्खालबाहिर पहरा दिँदै आफ्ना स्वतन्त्र खुट्टाहरुमा कीला ठोक्दै आउँदैछौ ।”
बुढोले केही बुझेन ।

“पागल हुन नसकेको तिम्रो सभ्य बुढो अनुहारमा मेरो सहानुभूति छ । तिमी पनि जान्ने छौ कुन चीज घृण्य छ कुन चीज अघृण्य छ कुन चीज प्रीय र कुन अपि्रय कुन चीज राम्रो र कुन नराम्रो ।”

बुढोले केही बुझेन ।

ूस्वाभाविकतामा “राम्रो” “राम्रो” भन्ने कुनै भेद हुन्न । त्यो भेद लुगाले जन्माएको छ । तिमीले पहिलोपल्ट नग्नता छोप्नका लागि लुगालाई प्रयोग गर् यौ र त्यहाँँदेखि नै नाङ्गो र ननाङ्गोको भेद जन्मियो । त्यो भेदले मूल्याङ्कन गरेर पहिलोपल्ट तिमीले सभ्यता सिर्जना गरेर लुगा लगाउन नसक्ने मान्छेलाई घृणा गर् यौ । स्वभावभन्दा पर कुनै सत्य छैन । आफ्नो स्वभाविक स्वरुपलाई नग्नता छेक्ने अर्थमा तिमीले जुन कृत्रिमतालाई जन्मायौ त्यसैले यहाँ मान्छेहरुका बीचमा पि्रय अपि्रय नियम र निषेधको भावना जाग्रत भयो । त्यही जागृतिले युद्ध देश कानून अनुशासन कर्तव्य बाटो र लक्ष्यहरु जन्माएर मान्छेलाई उसको आदिम स्वतन्त्र स्वरुपबाट जबर्जस्ती घिसार्दै मुक्तिबाट टाढा भोको संत्रस्त निरीह चुत्थो शासित पूर्णतः यान्त्रिक जीवन भोगाइरहेछ । विवश यी मान्छेहरु मुक्तिको भोकले पीडित भएर पागल हुन्छन् ।”

बुढो पालेले उसको लामो कुरालाई आफ्नो लुगाहरुको खुम्च्याहट सोझ्याउँदै हाँसिदियो ।

अब समस्त पागलहरु उसका वरिपरि घेरा लागिसकेका थिए । उसको कुरा सुनिसकेपछि सबैले पालै-पालो भने-

“म त वास्तवमा अ.त. को मुद्दाले पागल भएको छु ।”

“म त खानै नपाएर चोरी गर्दा पुलिसले समात्यो अनि पागलको नक्कल गरेको ।”

“म त सबै बालबच्चा बमले मरेर …”

“म त पंचायतमा हारेर …”

“त जाँचमा सात पल्टसम्म फेल भएर …”

“त स्वास्नी पोइल गएर …”

“त अङ्श मुद्दा हारेर …”

“म त दमिनी बात लागेर …”

उसले सबैको कुरालाई एकएक सुन्यो र अन्त्यमा भन्यो- “दिमागमा लुगाको संस्कार छ । त्यही संस्कारले हामी पागल हुन्छौँ र यस चार दिवारीभित्र कैदीको रुपमा रहन्छौँ । तिमी मेरो साथमा आऊ र नाङ्गै आऊ । यो सभ्य बर्बर मुकुण्डो र लुगाको संस्कारहरुलाई यतै बिसर्जन गर र हामी आफ्ना कम्यूनमा मूल्यहीन एउटा अमूल्य जीवन बिताऔँ ।”

तिमी एकैपल्ट मात्र नाङ्गो हुन सक्यौ भने तिमीलाई बौलाहा बनाउने मान्यता अकालमा नै शहिद बनाउने देश जनता बनाउने राजनीति स्वतन्त्रतामा ट्याक्स लगाउने सत्ताले छुन सक्ने छैन ।

आफू पीडित भएर विवश बाँच्ने हामी कुनै पिँढीका मुक्तिका कामना गर्नसम्म सक्तैनौँ । आऊ आफू पहिले मुक्त होऊ । यो मुक्त पिँढीको सन्तान जन्मजात मुक्त भएर आउने छ । तिमी आफैँ नाङ्गै आऊ । यहाँ कुनै भविष्यत पिँढीको उत्तरदायित्वले थिच्ने छैन ।

तिमी यी सब मूल्यहरुबाट नाङ्गो भएर एकैपटक मात्र आफ्नो आदिम स्वरुपमा फर्कन सक्यौ भने थाहा पाउने छौ- “स्वतन्त्रता माग्ने र खोसार लिने वस्तु होइन । त्यो आफूसँग छ । तिमी जहाँ जान्छौ तिम्रै साथ रहनेछ ।”

सबैले एकै स्वरमा भने- “हामी ऐले यसै क्षण नाङ्गो भयौँ ।”

उसले यसपछि भन्यो- “त्यसो हो भने तिमीहरुको पागलपन पनि ऐले नै निको भयो । भरै डाक्टरहरु आउने छन् । हामी सबै लुगाहरुसँगै प्रस्तुत हुनेछौँ । उनले हामीलाई सज्जन सम्झी छोडिदिने छन् । त्यसपछि हामी हाम्रा तालमा बाँदर नाच्ने छौँ ।”

“हामी कुनै चिल्ला र मुलायम सडकहरुमा हिँड्ने छैनौँ । हामी जङ्गलै-जङ्गल लाग्ने छौँ । सभ्य बर्बर मानिसभन्दा वनका िहंस्रक जन्तु धेरै कम अत्याचारी हुन्छन् । आऊ हामी हिमालयका निर्जन कन्दरामा आफ्नो बास राखौँ र सबैको साझा जिन्दगी बिताऔँ । यतै बाटाभरि-रुसॊ प्लेटो माक्स्र बाकुनिन टल्सटाय कन्फुसियस र योगरत सधुहरु भेट्दै जानेछौँ । हामीहरु उनीहरुलाई उनीहरुका हठसँगै छोडौँ र एकदमै निर्जन ठाउँ जहाँ यतीहरु आफ्नो स्वभावको धर्ममा बाँचिरहेछन् त्यहाँ आफ्ना डेरा बसाऔँ र एउटा साझा आपसमा समझदारी जिन्दगी बिताऔँ । तिमी सबको । म सबको । काम सबैको । लोग्ने सबैको । स्वास्नी सबैको । छोरा-छोरी सबैको । प्रेम सबैको र स्वतन्त्रता सबैको ।”

२०२८। ११। २९
“अस्तित्व” दार्जिलिङ्गमा प्रकाशित, “कालो कथा” र “नग्ग यथार्थ” मा पुनर्मुद्रित

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.