पुस्तक समीक्षा : मनका तरंगहरू — पाल्पाली माटोका कविता

~देवेन्द्र पौडेल~

मोफसलबाट विभिन्न बान्कीका छन्दोबद्ध कविताको सँगालो पस्केर पहिलोपटक काव्य फाँटमा देखा परेका छन् सरोजप्रसाद नेपाल । राष्ट्रप्रतिको असीम माया, जीवनप्रतिको अथाह प्रेम, जीवन भोगाइका तीतामीठा पल, प्रकृतिप्रेम, मानवता र लोककल्याणकारी शान्ति समर्पित आत्मज्ञानलाई मुख्य रूपमा मनका तरंगहरूले प्रतिविम्बित गर्न खोजेका छन् । कविताभित्र नेपाली समाज र नेपाली प्रकृतिको चित्रण गर्न खोजिएको छ, द्वन्द्वले छियाछिया भएको देश छ, गणतन्त्रात्मक नेपालको परम र चरम लक्ष्य दिग्दर्शन गराउने सुन्दर संविधानको आकांक्षा छन् कविका हृदयमा ।

काव्यिक विषयवस्तुलाई आधार मानेर हेर्दा धेरैजसो रचना विचारप्रधान छन् र प्रस्तुतिमा कम भौतिकवादी र धेरै अध्यात्मवादी छन् । यस संग्रहका कवितामा नैतिक आदर्श र उपदेशका सन्दर्भ जोडेर युग जीवन र मानव समाजलाई सुसभ्य र उन्नत बनाउने प्रयास गरेको पाइन्छ । सत्यम् शिवम् सुन्दरम्, आमा, नयाँ bookcover - Manka Tarangaharu - Saroj Prasad Nepalसंविधान, मेरो नेपाल, जीवन, बैरी भूकम्प र पुकार जस्ता कविता विशेष मननीय संवेदनाले युक्त देखिन्छन् ।

कवि नेपालका यस संग्रहका कतिपय कवितामा व्यंग्य र विद्रोहको रमरम छ र व्यंग्य र विद्रोहको माध्यमबाट घुमाउरो रूपमा उच्च राष्ट्रवादी भावना प्रस्तुत गरिएको पाइन्छ । उनी आफ्ना कवितामा द्वन्द्वकालीन र द्वन्द्वोत्तर मुलुकको सन्दर्भलाई चित्रण गर्दै मानवतावादी र भ्रातृत्व प्रेममा आधारित सुन्दर समाजको मीठो परिकल्पना गर्छन् । संस्कृतका वर्णमात्रिक, मात्रिक र गीतिलयको संरचनाभित्र समेटिएका कविता रस भाव र आलंकारिकताका दृष्टिले कमजोर देखिँदैनन् ।

मोफसलमा बसेर पनि नेपाली कविताका क्षेत्रमा हराउँदै गएको छन्दोबद्घ कविता लेखन तथा रस र अलंकारयुक्त कविता लेख्नु आफैँमा महत्त्वपूर्ण देखिन्छ । पुस्तकमा यथेष्ठ कमजोरी देखिन्छन् । कवितालाई चित्रमय बनाउन खोजिएकाले यसले कविताको सुन्दर पक्षलाई झन् धमिलो बनाएजस्तो देखिन्छ । शुभेच्छा र भूमिका खण्ड साह्रै लामो र अनावश्यक देखिन्छ । संस्कृतनिष्ठ शब्दहरूको अधिक प्रयोगले बुझाइमा जटिलता सिर्जना गरेको छ ।

पश्चिम नेपालको पाल्पा जिल्लाको सुन्दर पहाडी परिवेशको स्पर्शले होला, यस संग्रहभित्रका कवितामा पनि त्यहाँको जस्तै मनोरम दृश्य घुलमिल भएजस्तो देखिन्छ । गीत, गजल, बाल कविता र विविध विषयसँग सम्बन्धित ५८ थान कविता समेटेर तयार पारिएको पुस्तक मनका तरंगहरूले पाठकको मनमा खास तरंग प्रवाहित गर्ने सामथ्र्य भने राख्दैन ।

मनका तरंगहरू (कवितासंग्रह)

स्रष्टा    :     सरोजप्रसाद नेपाल
प्रकाशक    :    कमलादेवी नेपाल
पृष्ठ    :    ११६
मूल्य    :    २०० रुपियाँ

प्रकाशित: भाद्र १८, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.