~पुष्प अधिकारी ‘अञ्जलि’~
“हैन रातको बाह् बजिसक्यो सुत्ने हैन भन्या ? केटाकेटी उज्यालोमा चाँडै ब्यूँझन्छन् । भोलि लेखेपनि त हुन्छ नि ? लेख्न थालेपछि हजुरलाई केहिको चिन्ता हुँदैन है ? न घर न केटा केटीको चिन्ता अब कति बस्ने हो यो डेरामा मात्रै ? केटाकेटीहरू ठुला भैसके एउटा कोठामा साँघुरिएर अब कसरी चल्छ खै हजुरले केही सोच्नु भा छ ? खाली लेख्न पाए हून्छ कसैको वास्ता छैन् हजुरलाई ?” श्रीमती एकोहोरो फलाकी रहन्छिन ।
आशाकाजीलाई श्रीमतीको कुराले केहि प्रभाव पार्दैन । ऊ आफ्नै शुरमा लेखिरहन्छ । श्रीमती झन कराउन थाल्छिन । “हैन हजुरले किन नसुन्या भन्या रात दिन साहित्य भनेको छ दौडिएको छ ,घरमा हुँदा लेखेको लेख्यैछ समयमा पाकेको खाना पनि हिँउजस्तै नभै खान पाईँदैन न रातमा चाँडै सुत्न पाईन्छ म त दिक्दार भैसकेँ यसरी लेख्नुपर्ने मान्छेले त आफ्नो छुट्टै घर बनाउनु अनि पो कराइरहन्छ ।”
आशाकाजी अझै लेख्नमा व्यस्त छ । ऊ अझै मौन छ । श्रीमतीलाई खपिसक्नु भएन र रिसले क्रोधित हुँदै “हैन हजुर यो त अति भयो किन नटेरेको भन्या रातको 2 बजिसक्यो अझै सुत्न पाइएन , हैन यो सेतो कागजमा नचाहिँदा कुराहरू लेखेर रातरात भर के पाउँछौ हँ ? आफ्नो मान्छे ठाँउमा हुनेले दुइ चार वटा कविता कथा लेखेर पुरस्कार पाएका छन् । हजुरको यत्रो रातदिनको मेहनत र यो लेखाइ र साहित्य साधनाले खै अहिलेसम्म के दियो ? के पाउनु भयो ? एक पैसाको पुरस्कार पाएको होइन । ब्यर्थ हामीलाई दुःख दिनुभा’छ ।” श्रीमतीको यस्तो कुरा सुनेर आशाकाजीको मौनता भङ्ग हुन्छ ।
आशाकाजी भन्छन, “हेर सानुमाया – मैले यो रातदिन कलम र कागजमा घोटिएको साहित्य साधनामा लागेको कुनै पुरस्कार र सम्मान पाउँला भनेर होइन बुझ्यौ ? मलाइ पुरस्कारको कुनै लोभ छैन्, लालसा छैन् । राष्ट राष्टियता प्रतिको एउटा जिम्मेवारी निभाएको हुँ । म मेरो कलमबाट सुतेको राष्ट ब्युँझाउन चाहन्छु । म पुरस्कार लिएर राष्टको साहित्यिक फाँट नाङ्गिएको हेर्न चाहन्न । हो सानु ,वास्तवमा पुरस्कार नै सबथोक होइन । मलाइ मेरा पाठक र आफन्तहरूले दिएको माया नै ठुलो पुरस्कार हो ।”
(स्रोत : KhabarChitwan)