~चित्रकला विवश~
आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद रहन्थ्यो तर पनि सधै नै उसले फोन गर्थ्यो । यस पाली पनि फोन गर्छ कि भन्ने आश लागिरहेको थियो तर गरेन । सधैका जस्तै आमाको मुख हेर्ने औँसीका दिन पनि उसले मलाई सम्झेन । मैले आफैले जन्म नदिएको भएर होला उसले मलाई बिर्स्यो वा सम्झने आवश्यकता देखेन ।
उसकी आमाले ऊ चौध महिनाको हुँदा छोडेर हिडेकी थिई रे । अण्डकोषमा हर्निया भएर थला परेको हिडडुल गर्न नसक्ने बच्चालाई पालेर घरैमा बस्ने ईच्छा नगरेर अब कहिल्यै फर्की नआउने र अर्को बिहे गरेमा बाधक नबन्ने घरायसी कागज गरेर उसकी आमाले छोडेकी थिई रे । उसका बाबुले यस पछिका डेढ बर्ष सम्म बिरामी छोराको जेनतेज स्याहार सम्भार र उपचार गर्दै उसकी आमा फर्केर आइहाल्छे कि भनेर कुरेर बसेछन् । ऊ तिन बर्षको हुदै गर्दा वालसुलभ चरित्र अनरुप चकचक गर्ने¸ एकठाउमा बसीरहन नमान्ने¸ जताततै फोहोर गरिरहने भएकोले अफिस लिएर जान पनि समस्या हुन थाले पछि अर्को बिहे गर्ने निधो गरेछन् । यसै बिचमा अण्डकोषको हर्नियाको तिन पटक असफल शल्यक्रिया पनि गरिएछ ।
राम्रो स्याहार गर्ने आमाको अभावका कारण उपचार सफल हुन सकेको रहेनछ । बिरामी र नाजुक बच्चालाई स्याहार गरेर हुर्काउनु पर्ने शर्त राखेर मेरो बुवा संग कुराकानी हुँदा अनाथ र असहायको सेवा गर्न पाउनु नै मानव धर्म हो भन्ने ठानेर बुवाले उहाँसंग मेरो बिहे गरिदिने बचन दिनु भएछ । भरखर सोह्र वर्षकी एसएलसी परीक्षा दिएर बसेकी मलाई बिहे¸ घरपरिवार¸ लोग्ने आदिका बिषयमा कुनै थाहा थिएन । यतातर्फ मैले सोच्नै भ्याएकी थिइन । स्कूल जाने¸ साथीसंगीहरुसंग रमाइलो गर्ने¸ भाइबहिनीहरुसंग खेल्ने र आमालाई काममा सघाउने बाहेक अन्यत्र मेरो सोच पुगेको पनि थिएन । अचानक बुवाले बिहेको कुरा गर्नु भयो र त्यसमा पनि टुहुरो जस्तो छोराको स्याहार गर्नु पर्ने शर्त सुनाउनु भयो । त्यस दिन मलाई सारै नरमाइलो लाग्यो । भाइबहिनी र आमासंग अंगालो हालेर खुबै रोएँ । तर अर्को तर्फ टुहुरो बच्चाको स्याहार गरेर हुर्काउने कामले पुण्य लाभ हुन्छ भन्ने बुवाको बचनले मेरो मन पग्लियो र हुन्छ भनिदिएँ ।
बिहे भएर म घरमा जाँदा उसको हालत वर्णन गर्न लाएक थिएन । स्याहार नपाएर सडकमा छाडिएको बेसहारा बच्चाको भन्दा फरक थिएन । बाबुले जे जति माया गरे पनि स्याहार सुसार र खानपिनको लागि बच्चालाई आमा नै चाहिन्छ । उसको अवस्था देख्दा हृदय भित्र करुणा जागेर आयो । यो मैले जन्माएको छोरो होईन भन्ने सोच पनि मलाई आएन । मेरो स्याहार सम्भार र रेखदेखले उसको शरिरमा परिवर्तन हुदै गयो । शरीरमा मासु र तागत पनि भरिदै गयो । हृष्टपुष्ट हुदै गयो । मलाई एकछिन पनि नछोड्ने गर्न थाल्यो । मैले उसको जीवन बचाएको र कल्याण गर्न पाएकोमा मलाई अहिले पनि गर्व लाग्छ ।
ऊ अव पाँच वर्ष पुग्दै थियो । स्कूल जान थालेको थियो । स्कूलमा र घरमा सिकाएको कुरा टपक्कै टिप्थ्यो । मेरो पढाइ बिचैमा छुटे पनि उसलाई पढाउने ठूलो मान्छे बनाउने एक किसिमको भूत म मा सवार थियो । म यसैमा रमाइरहेकी थिएँ । उसलाई अण्डकोषको हर्नियाले गर्दा हिडडुल गर्न पनि नमिल्ने¸ अलिकति हिडडुल गरेपनि जोरो आउने हुन थाल्यो । फेरीएक पटक शल्यक्रिया गर्ने निधो गर्यौँ । अन्ततः उसको चौथो अपरेशन भयो । छोराको अपरेशन हुँदैछ भनेर उसकी आमालाई पनि खबर पठायौँ तर ऊ छोरालाई भेट्न आइन । कतै सरकारी जागीर खाएकी छे भन्ने सुनेकी थिएँ । आफु दुई जीउ की भएपनि मैले अस्पताल र घरमा उसको स्याहारमा कुनै कमी हुन दिईन । मलाई मेरो बच्चाको भन्दा पनि यसैको माया बढी लाग्यो ।
केही महिना पछि मलाई अर्को पुत्र लाभ भयो । मैले ठानेँ अव मेरा दुईभाइ छोरा भए । उसको बानी व्यहोरा पनि असल नै थियो । मलाई आफ्नै आमा ठान्थ्यो र मैले पनि कहिल्यै फरक देखिन ।
उहाँको अन्यत्रै सरुवा भएको थियो । हामीहरु घरैमा थियौँ । यसैबीच हामीहरु पनि उहाँसंगै जाने भयौँ । त्यस ठाउँमा रहँदा उसको उमेर छ वर्षको भैसकेको थियो । अव ऊ धेरै कुरा बुझ्ने भैसकेको थियो । म उसकी जन्म दिने आमा होइन भन्ने कुरा उसलाई थाहा भैसकेको थियो । तर पनि हामी आमा छोरामा मायाको कुनै कमी थिएन ।
त्यस ठाउँबाट फेरी उहाँको घर पाएक सरुवा भयो । हामी घर आयौँ । उसलाई बोर्डिङ स्कूलमा भर्ना गरियो । तेजिलो दिमाग भएकोले उसले पढाइमा राम्रो प्रगति गर्दै गयो । प्रथम श्रेणीमा एसएलसी पास गरे पछि नजिकमा प्लस टु नहुनाले उसलाई केही टाढाको शहरमा लगेर भर्ना गर्यौँ । ऊ प्लस टु पढ्दा सम्म उसको भाइ सात कक्षामा र बहिनी पाँच कक्षामा पुगिसकेका थिए । उसले राम्रो नम्वर ल्याएर प्लस टु पास गर्यो । व्याचलरको तेश्रो वर्षमा छँदा अचालक उसलाई मानसिक रोगले समातेछ । के कति कारणले उसलाई यस्तो भयो हामीलाई अहिले सम्म थाहा छैन । शरीरमा भएका सबै कपडा फालेर हिडीरहेको अवस्थामा पुलिसले छोपेर खबर गरेपछि उसलाई तुरुन्तै लखनऊ पुर्याएर उपचार सुरु गर्यौँ । छ महिनाको नियमित उपचार पछि भगवानको कृपाले उसलाई पूर्णरुपमा निको भयो । यस पटक पनि छोराको अवस्थाको बारेमा जानकारी भेट्न आउन फोन गर्यौँ तर उसलाई जन्म दिने आमा भेट्न सम्म आइन । त्यो वर्षको परीक्षा ड्रप गरेर अर्को वर्ष प्रथम श्रेणीमै उसले व्याचलर पनि पास गर्यो ।
अव डिग्री पढ्न काठमाण्डौ पठाउनु पर्ने भयो । अव त देखभेट पनि वर्ष दिनमा एक पटक हुने भो । मन आत्तिइरहन्थ्यो¸ कहिले देखुँला जस्तो भैरहन्थ्यो । तै पनि फोनमा कुरा भैरहन्थ्यो । मलाई साच्चिकै माया गर्छ भन्ने लागिरहन्थ्यो । उसले मलाई कहिल्यै पनि नराम्रो भनेन । मलाई सधै सम्मान गर्ने गर्थ्यो । मैले पनि उसलाई कहिल्यै गाली गर्नु परेन । बच्चा नै भए पनि परिपक्व मान्छेको जस्तो बानी व्यहोरा र स्वभाव थियो । उसले मसंग झगडा गरेको मलाई सम्झना छैन ।
अहिले उसले एउटा बैकमा काम गर्छ । उसलाई जन्म दिएर त्यागेर जाने आमासंगै बसेको छ ऊ अहिले । घरैबाट धुमधामसंग परम्परा अनुसार बिहे पनि गरिदियौँ । सानो छँदा मलाई छोडेर कहिल्यै नजाने कुरा गर्थ्यो । बाबु मलाई छोडेर नजानु बरु तेरो आमालाई यहीँ ल्याउनु मलाई यसमा कुनै आपत्ति हुनेछैन । तर तैले मलाई छोडेर नगएस् भन्दा ममी म तलाईलाई छोडेर कहिल्यै पनि जाने छैन । तपाईले ठूलो गुन लगाउनु भएको छ । तपाईको ऋण मैले यो जुनीमा तिर्न सक्दैन भन्थ्यो । तर ऊ यसरी किन बदलियो । मैले कान्छो छोरा र उसमा कुनै फरक देखिन । दुबैलाई बराबर ममता दिएकी छु । तर उसले मेरो ममतामा खोट किन देख्यो । उसलाई आफ्नै आमासंग जानु थियो भने पहिल्यै किन भनेन । म आफुलाई यो दिनको निम्ति तयार पार्ने थिएँ ।
अहिले मलाई उसले उति सारो फोन पनि गर्दैन । कहिले काही गरिहाले पनि औपचारिकतामै सिमित गर्छ । मैले उसका निम्ति जे जति गरेँ सायद कसैका आमाले गर्न सक्दैनन् होला । मैले जे गरेँ त्यसको बदला मलाई दिनु पर्छ भनेर मैले भनेकी होईन । मेरो एउटा मात्र गुनासो के छ भने ऊ किन पराइ भयो । चौध महिनाको शिशुलाई छोडेर गएकी आमालाई उसले अहिले आएर स्वीकार गर्यो भने तीन वर्षको रोगी बच्चोलाई आज अठ्ठाइस वर्षको एउटा सक्षम योग्य व्यक्ति बनाउन भूमिका निर्वाह गर्ने म आमालाई किन त्याग गर्यो । किन मेरो पवित्र र निस्वार्थ माया बुझ्न सकेन । ऊ मबाट टाढा नभैदेओस भनेर उसकी आमालाई पनि संगै राख्ने कोसिस गरेँ¸ हक अधिकार दिलाउने कोसिस पनि गरेँ तर सबै व्यर्थ भए । यस संसारमा जन्म दिएर बागमतीमा मिल्काउने पनि आमा छन् आफैले जन्माएका बच्चालाई विष खुवाएर मार्ने पनि छन् तर मैले अर्कैले जन्माएकोलाई पनि आफ्नै मुटुको टुक्रा सरह सम्झेँ । आज त्यहि छोराले चटक्क बिर्सिदा यो हृदय छिया छिया भएको छ । हृदयमा भक्कानो फुटेर आउँछ ।
म उसकी आमा जस्तो कठोर हृदय भएकी नारी भैदिएको भए सायद यो सब सहन सक्नेथिए होला । मैले आफ्नो हृदयलाई कठोर बनाउनै सकिन । मैले उसलाई बिर्सनै सकिन । आफ्नी आमासंगै गएपनि मलाई नत्यागेको भए सायद मलाई यति चोट पर्ने थिएन होला¸ मलाई यत्ति कुरामा दुख छ । मेरो हृदय रोइरहेको छ । उसको मायामा म तडपिरहन्छु । मलाई फोन गरिरहोस् कहिलेकाही मसंग पहिले पहिले झैँ मेरो काखमा टाउको राखेर सुखदुखका कुरा गरोस् मलाई सान्त्वनाका शव्दहरु दिइरहोस् मैले चाहेको यत्तिमात्र थियो ।
मलाई उसको कमाइ चाहिएको थिएन केवल ऊ मबाट टाढा नभैदेओस् भन्ने मेरो चाहना थियो । ऊ त्यहाँ सम्म पुग्नमा मेरो पनि मेहनत¸ त्याग¸ तपस्या¸ शुभेक्षा छ भन्ने कुरा अहिले उसले कसरी बिर्सन सक्यो होला भन्ने लाग्छ । मैले तीन वर्षको उमेर देखि अहिले सम्म साथ दिएको र आज यो अवस्थामा पुर्याएको उसले देखेन सायद उसलाई मैले जन्म नदिएको भएरै त होला । पाठकलाई यो आमा स्वार्थी रहिछ भन्ने पनि लाग्ला तर यसको मर्मलाई गहिराइबाट बुझ्ने प्रयास गर्नु भयो भने मेरो पिडा बुझ्नु हुनेछ । एउटी आमाको पिडा बुझ्नु हुनेछ । मैले जन्म दिन नपाएको कारणले भोग्नु परेको पीडा छर्लङ्ग हुनेछ ।
(स्रोत : EverestDainik)