कथा : नौ महिना कोखमा नराख्दाको पीडा

~चित्रकला विवश~Chitrakala Biwash

आज साउनको चार गते । उसको जन्म दिन । यस अघिका जन्म दिनहरुमा उसले एका बिहानै मम्मी आज मेरो जन्म दिन भनेर सम्झाउथ्यो¸ म सदा खुसी सुखी रहेस् भनेर आशिष दिन्थेँ । मलाई उसको जन्म दिन सधै याद रहन्थ्यो तर पनि सधै नै उसले फोन गर्थ्यो । यस पाली पनि फोन गर्छ कि भन्ने आश लागिरहेको थियो तर गरेन । सधैका जस्तै आमाको मुख हेर्ने औँसीका दिन पनि उसले मलाई सम्झेन । मैले आफैले जन्म नदिएको भएर होला उसले मलाई बिर्स्यो वा सम्झने आवश्यकता देखेन ।

उसकी आमाले ऊ चौध महिनाको हुँदा छोडेर हिडेकी थिई रे । अण्डकोषमा हर्निया भएर थला परेको हिडडुल गर्न नसक्ने बच्चालाई पालेर घरैमा बस्ने ईच्छा नगरेर अब कहिल्यै फर्की नआउने र अर्को बिहे गरेमा बाधक नबन्ने घरायसी कागज गरेर उसकी आमाले छोडेकी थिई रे । उसका बाबुले यस पछिका डेढ बर्ष सम्म बिरामी छोराको जेनतेज स्याहार सम्भार र उपचार गर्दै उसकी आमा फर्केर आइहाल्छे कि भनेर कुरेर बसेछन् । ऊ तिन बर्षको हुदै गर्दा वालसुलभ चरित्र अनरुप चकचक गर्ने¸ एकठाउमा बसीरहन नमान्ने¸ जताततै फोहोर गरिरहने भएकोले अफिस लिएर जान पनि समस्या हुन थाले पछि अर्को बिहे गर्ने निधो गरेछन् । यसै बिचमा अण्डकोषको हर्नियाको तिन पटक असफल शल्यक्रिया पनि गरिएछ ।

राम्रो स्याहार गर्ने आमाको अभावका कारण उपचार सफल हुन सकेको रहेनछ । बिरामी र नाजुक बच्चालाई स्याहार गरेर हुर्काउनु पर्ने शर्त राखेर मेरो बुवा संग कुराकानी हुँदा अनाथ र असहायको सेवा गर्न पाउनु नै मानव धर्म हो भन्ने ठानेर बुवाले उहाँसंग मेरो बिहे गरिदिने बचन दिनु भएछ । भरखर सोह्र वर्षकी एसएलसी परीक्षा दिएर बसेकी मलाई बिहे¸ घरपरिवार¸ लोग्ने आदिका बिषयमा कुनै थाहा थिएन । यतातर्फ मैले सोच्नै भ्याएकी थिइन । स्कूल जाने¸ साथीसंगीहरुसंग रमाइलो गर्ने¸ भाइबहिनीहरुसंग खेल्ने र आमालाई काममा सघाउने बाहेक अन्यत्र मेरो सोच पुगेको पनि थिएन । अचानक बुवाले बिहेको कुरा गर्नु भयो र त्यसमा पनि टुहुरो जस्तो छोराको स्याहार गर्नु पर्ने शर्त सुनाउनु भयो । त्यस दिन मलाई सारै नरमाइलो लाग्यो । भाइबहिनी र आमासंग अंगालो हालेर खुबै रोएँ । तर अर्को तर्फ टुहुरो बच्चाको स्याहार गरेर हुर्काउने कामले पुण्य लाभ हुन्छ भन्ने बुवाको बचनले मेरो मन पग्लियो र हुन्छ भनिदिएँ ।

बिहे भएर म घरमा जाँदा उसको हालत वर्णन गर्न लाएक थिएन । स्याहार नपाएर सडकमा छाडिएको बेसहारा बच्चाको भन्दा फरक थिएन । बाबुले जे जति माया गरे पनि स्याहार सुसार र खानपिनको लागि बच्चालाई आमा नै चाहिन्छ । उसको अवस्था देख्दा हृदय भित्र करुणा जागेर आयो । यो मैले जन्माएको छोरो होईन भन्ने सोच पनि मलाई आएन । मेरो स्याहार सम्भार र रेखदेखले उसको शरिरमा परिवर्तन हुदै गयो । शरीरमा मासु र तागत पनि भरिदै गयो । हृष्टपुष्ट हुदै गयो । मलाई एकछिन पनि नछोड्ने गर्न थाल्यो । मैले उसको जीवन बचाएको र कल्याण गर्न पाएकोमा मलाई अहिले पनि गर्व लाग्छ ।

ऊ अव पाँच वर्ष पुग्दै थियो । स्कूल जान थालेको थियो । स्कूलमा र घरमा सिकाएको कुरा टपक्कै टिप्थ्यो । मेरो पढाइ बिचैमा छुटे पनि उसलाई पढाउने ठूलो मान्छे बनाउने एक किसिमको भूत म मा सवार थियो । म यसैमा रमाइरहेकी थिएँ । उसलाई अण्डकोषको हर्नियाले गर्दा हिडडुल गर्न पनि नमिल्ने¸ अलिकति हिडडुल गरेपनि जोरो आउने हुन थाल्यो । फेरीएक पटक शल्यक्रिया गर्ने निधो गर्‍यौँ । अन्ततः उसको चौथो अपरेशन भयो । छोराको अपरेशन हुँदैछ भनेर उसकी आमालाई पनि खबर पठायौँ तर ऊ छोरालाई भेट्न आइन । कतै सरकारी जागीर खाएकी छे भन्ने सुनेकी थिएँ । आफु दुई जीउ की भएपनि मैले अस्पताल र घरमा उसको स्याहारमा कुनै कमी हुन दिईन । मलाई मेरो बच्चाको भन्दा पनि यसैको माया बढी लाग्यो ।

केही महिना पछि मलाई अर्को पुत्र लाभ भयो । मैले ठानेँ अव मेरा दुईभाइ छोरा भए । उसको बानी व्यहोरा पनि असल नै थियो । मलाई आफ्नै आमा ठान्थ्यो र मैले पनि कहिल्यै फरक देखिन ।

उहाँको अन्यत्रै सरुवा भएको थियो । हामीहरु घरैमा थियौँ । यसैबीच हामीहरु पनि उहाँसंगै जाने भयौँ । त्यस ठाउँमा रहँदा उसको उमेर छ वर्षको भैसकेको थियो । अव ऊ धेरै कुरा बुझ्ने भैसकेको थियो । म उसकी जन्म दिने आमा होइन भन्ने कुरा उसलाई थाहा भैसकेको थियो । तर पनि हामी आमा छोरामा मायाको कुनै कमी थिएन ।

त्यस ठाउँबाट फेरी उहाँको घर पाएक सरुवा भयो । हामी घर आयौँ । उसलाई बोर्डिङ स्कूलमा भर्ना गरियो । तेजिलो दिमाग भएकोले उसले पढाइमा राम्रो प्रगति गर्दै गयो । प्रथम श्रेणीमा एसएलसी पास गरे पछि नजिकमा प्लस टु नहुनाले उसलाई केही टाढाको शहरमा लगेर भर्ना गर्‍यौँ । ऊ प्लस टु पढ्दा सम्म उसको भाइ सात कक्षामा र बहिनी पाँच कक्षामा पुगिसकेका थिए । उसले राम्रो नम्वर ल्याएर प्लस टु पास गर्‍यो । व्याचलरको तेश्रो वर्षमा छँदा अचालक उसलाई मानसिक रोगले समातेछ । के कति कारणले उसलाई यस्तो भयो हामीलाई अहिले सम्म थाहा छैन । शरीरमा भएका सबै कपडा फालेर हिडीरहेको अवस्थामा पुलिसले छोपेर खबर गरेपछि उसलाई तुरुन्तै लखनऊ पुर्‍याएर उपचार सुरु गर्‍यौँ । छ महिनाको नियमित उपचार पछि भगवानको कृपाले उसलाई पूर्णरुपमा निको भयो । यस पटक पनि छोराको अवस्थाको बारेमा जानकारी भेट्न आउन फोन गर्‍यौँ तर उसलाई जन्म दिने आमा भेट्न सम्म आइन । त्यो वर्षको परीक्षा ड्रप गरेर अर्को वर्ष प्रथम श्रेणीमै उसले व्याचलर पनि पास गर्‍यो ।

अव डिग्री पढ्न काठमाण्डौ पठाउनु पर्ने भयो । अव त देखभेट पनि वर्ष दिनमा एक पटक हुने भो । मन आत्तिइरहन्थ्यो¸ कहिले देखुँला जस्तो भैरहन्थ्यो । तै पनि फोनमा कुरा भैरहन्थ्यो । मलाई साच्चिकै माया गर्छ भन्ने लागिरहन्थ्यो । उसले मलाई कहिल्यै पनि नराम्रो भनेन । मलाई सधै सम्मान गर्ने गर्थ्यो । मैले पनि उसलाई कहिल्यै गाली गर्नु परेन । बच्चा नै भए पनि परिपक्व मान्छेको जस्तो बानी व्यहोरा र स्वभाव थियो । उसले मसंग झगडा गरेको मलाई सम्झना छैन ।

अहिले उसले एउटा बैकमा काम गर्छ । उसलाई जन्म दिएर त्यागेर जाने आमासंगै बसेको छ ऊ अहिले । घरैबाट धुमधामसंग परम्परा अनुसार बिहे पनि गरिदियौँ । सानो छँदा मलाई छोडेर कहिल्यै नजाने कुरा गर्थ्यो । बाबु मलाई छोडेर नजानु बरु तेरो आमालाई यहीँ ल्याउनु मलाई यसमा कुनै आपत्ति हुनेछैन । तर तैले मलाई छोडेर नगएस् भन्दा ममी म तलाईलाई छोडेर कहिल्यै पनि जाने छैन । तपाईले ठूलो गुन लगाउनु भएको छ । तपाईको ऋण मैले यो जुनीमा तिर्न सक्दैन भन्थ्यो । तर ऊ यसरी किन बदलियो । मैले कान्छो छोरा र उसमा कुनै फरक देखिन । दुबैलाई बराबर ममता दिएकी छु । तर उसले मेरो ममतामा खोट किन देख्यो । उसलाई आफ्नै आमासंग जानु थियो भने पहिल्यै किन भनेन । म आफुलाई यो दिनको निम्ति तयार पार्ने थिएँ ।

अहिले मलाई उसले उति सारो फोन पनि गर्दैन । कहिले काही गरिहाले पनि औपचारिकतामै सिमित गर्छ । मैले उसका निम्ति जे जति गरेँ सायद कसैका आमाले गर्न सक्दैनन् होला । मैले जे गरेँ त्यसको बदला मलाई दिनु पर्छ भनेर मैले भनेकी होईन । मेरो एउटा मात्र गुनासो के छ भने ऊ किन पराइ भयो । चौध महिनाको शिशुलाई छोडेर गएकी आमालाई उसले अहिले आएर स्वीकार गर्‍यो भने तीन वर्षको रोगी बच्चोलाई आज अठ्ठाइस वर्षको एउटा सक्षम योग्य व्यक्ति बनाउन भूमिका निर्वाह गर्ने म आमालाई किन त्याग गर्‍यो । किन मेरो पवित्र र निस्वार्थ माया बुझ्न सकेन । ऊ मबाट टाढा नभैदेओस भनेर उसकी आमालाई पनि संगै राख्‍ने कोसिस गरेँ¸ हक अधिकार दिलाउने कोसिस पनि गरेँ तर सबै व्यर्थ भए । यस संसारमा जन्म दिएर बागमतीमा मिल्काउने पनि आमा छन् आफैले जन्माएका बच्चालाई विष खुवाएर मार्ने पनि छन् तर मैले अर्कैले जन्माएकोलाई पनि आफ्नै मुटुको टुक्रा सरह सम्झेँ । आज त्यहि छोराले चटक्क बिर्सिदा यो हृदय छिया छिया भएको छ । हृदयमा भक्कानो फुटेर आउँछ ।

म उसकी आमा जस्तो कठोर हृदय भएकी नारी भैदिएको भए सायद यो सब सहन सक्नेथिए होला । मैले आफ्नो हृदयलाई कठोर बनाउनै सकिन । मैले उसलाई बिर्सनै सकिन । आफ्नी आमासंगै गएपनि मलाई नत्यागेको भए सायद मलाई यति चोट पर्ने थिएन होला¸ मलाई यत्ति कुरामा दुख छ । मेरो हृदय रोइरहेको छ । उसको मायामा म तडपिरहन्छु । मलाई फोन गरिरहोस् कहिलेकाही मसंग पहिले पहिले झैँ मेरो काखमा टाउको राखेर सुखदुखका कुरा गरोस् मलाई सान्त्वनाका शव्दहरु दिइरहोस् मैले चाहेको यत्तिमात्र थियो ।

मलाई उसको कमाइ चाहिएको थिएन केवल ऊ मबाट टाढा नभैदेओस् भन्ने मेरो चाहना थियो ‍। ऊ त्यहाँ सम्म पुग्नमा मेरो पनि मेहनत¸ त्याग¸ तपस्या¸ शुभेक्षा छ भन्ने कुरा अहिले उसले कसरी बिर्सन सक्यो होला भन्ने लाग्छ । मैले तीन वर्षको उमेर देखि अहिले सम्म साथ दिएको र आज यो अवस्थामा पुर्‍याएको उसले देखेन सायद उसलाई मैले जन्म नदिएको भएरै त होला । पाठकलाई यो आमा स्वार्थी रहिछ भन्ने पनि लाग्ला तर यसको मर्मलाई गहिराइबाट बुझ्ने प्रयास गर्नु भयो भने मेरो पिडा बुझ्नु हुनेछ । एउटी आमाको पिडा बुझ्नु हुनेछ । मैले जन्म दिन नपाएको कारणले भोग्नु परेको पीडा छर्लङ्ग हुनेछ ।

(स्रोत : EverestDainik)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.