कथा : सुमिना

~रविन्द्र रिजाल~

भन्दै थिएँ केटाहरूलाई आज बिहीबारै नगरौँ भनेर। कसैले टेरपुच्छर लाको होइन। पार्टी र डान्स भनेपछि सुकेको हड्डी पनि रसाउन थाल्छ ब्रो हरुको। अस्ति भर्खर ख्रिष्टमसको पार्टीमा भैलो खेलेपछिको पार्टीको ह्याङ्ले छोडिसकेको छैन, फेरि पाँच नबज्दै कलेजको गेटमा आइपुगे साथीहरू बाइक लिएर। विद्यार्थीले देखे भने पनि के भन्ने होलान्। भर्खर २ हप्ता भो क्लास लिन सुरू गरेको।

यति सम्झेको याद छ हिजो साँझ। हिजो अर्थात् २०७२ साल पुस १७ गते। संविधान लेखिसकेको बेला होला भनेर सोच्दै होलाउ २०६६ सालमा पढ्ने साथी हो, अझ २ वर्षमा त पक्कै लेख्ने रे। टाउको भारी भै’राछ वर्ष पनि मिलाएँ कि मिलाइन खै, जे होस् चाँडै बन्छ रे। यसो घडी हेरेको साल त ठिकै हो जस्तो लाग्यो तर समय देखेर चाँही ‘झिलिमिलि झिलिमिलि देउसीको झिलिमिलि – देउसुरे’ भयो। बिहान को ५ बजिसकेछ। पुरानो बानेश्वरको छ्याङ् अड्डाबाट निस्केपछि अहिले यो गौशालाको क्याबिनको ढोकामा कसरी आइपुगेँ अत्तोपत्तो छैन। हतार-हतार कपाल मिलाएर सकिनसकि उठ्दै कमिज पाइन्टमा कोच्न खोज्दै थिएँ, कुन बज्जियाले ढोका खोलेर झन्डै नालीमा खसाएन। जोगिन खोज्दा खोज्दै गौमाताको गोबरले पाप चाहीँ पखाल्न पाइने भयो जस्तो लाग्यो। अझै पशुपति भित्र साँढे छ भन्ने आशमा गाईहरूले गौशालाको बाटो जाम गर्न छोडिसकेका छैनन्। गणतन्त्रको पहिलो कोसेली निरपेक्षता यिनलाई के थाहा। तेसै हो र गाई झैँ सोझो भनेको?

गाईको सोझोपनको बखान गर्दै थिएँ भित्रबाट अर्को गोरू निस्क्यो। हिजो लोडसेडिङ्को मौका पारेर भित्र छिरेको डन्ठे पो रैछ। यसैले हो हिजो पनि मलाई निकालेर आफूले ड्युटी गरेको। रिसले पुक्काईदिउँ झैँ लागेको थियो भएभरको बलले मुठ्ठी बनाएर हनुमानको जस्तो मुख बनाउँदै थिएँ गोरुले डन्ठो घुमाएर पिड्यौँला तताई हाल्यो पुसको चिसोमा। मुठी पनि फुक्यो, मुख पनि सुक्यो। ‘ओए, को होस् परिचयपत्र निकाल’ भन्यो। ‘ साला हवल्दार हिजो भर्खर सँगै झोल खाँदै ‘बाबाजीको प्रसाद दे दे बेटा हमको भि थोडा’ भन्दै थियो। अहिलेको अहिले सडकमा निस्केपछि नेपालीसँगै परिचयपत्र माग्छ। यस्को घाँडो पन्छाइहाल्नु पर्‍यो – उता ७ बजेदेखि पढाउन जानु पर्नेछ भन्दै पर्स निकाले। फेरि झट्ट सम्झेँ नागरिकता त सच्चाउन पो दिएको छ त। पासपोर्ट मात्र Machine Readable भएर भएन रे अब नागरिकता पनि Machine Readable बनाउने भनेर भारत पठाका, मेरो जन्मस्थल ‘लुम्बिनी अन्चल, भद्रपुर नगरपालिका, बिहाघरे-३’ हुनुपर्ने ‘बिहाघरे’ लाई बिगारेर ‘बिहारे’ बनाइदिएछन्। त्यही सच्याउन पठाएको खै कहिले पो आउने हो। केही भएन यस्लाई देखाउने, अब के गर्ने होला भनेर सोच्दै थिएँ डन्ठेले खोसी हाल्यो पर्स। त्यही भएको १०० रुपियाँ पनि झिकेर खल्तिमा कोच्यो, गाडी भाडाको नाममा त्यति थियो। फेरि सम्झेँ हिजो अपर्झटको लागि भनेर अर्को १०० रुपैँया त मोजा मा कोचेको थिएँ क्यार। ६० रुपैँया भएपछि त गौशालादेखि बानेश्वरसम्म पुगिन्छ माइक्रोमा। मिति केरेको अस्कलको डिस्काउन्ट कार्ड पनि छँदैछ। थुक्क, डन्ठेले तेई कार्ड फेला पारेछ। ‘विद्यार्थी भएर यसरी गल्ली गल्लीमा हिँड्ने’ भन्दै भाषण सुरू भइहाल्यो। आफू स्कुलबाट भागेर भौँतारिदा भौँतारिँदा लास्टाँ डन्ठे भाको बिर्सेर म माथि लेक्चर दिन थाल्यो।

मलाई असह्य हुँदै थियो एक्कासी पशुपति क्षेत्रभित्रबाट कसैले माइकमा ठूलो स्वरले ‘हाम्रो नेपाल हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष’ भनेर चिच्यायो। मलाई आकाशवाणी भए जस्तो लाग्यो, ‘स्वस्थानी’ भन्ने फिलिममा यस्तै गरी आकाशवाणी हुन्थ्यो। कतै पार्वती मातालाई असह्य भएर साक्षात्कार त गरिनन्। शुक्रबारको एकाबिहानै कुन बहुलाइनि हो यसरी कुर्लने, भनेर अचम्म लाग्यो। डन्ठेको बर्दीले लतार्यो उतैतिर र अझ सुरो भएर मेरो पर्स भूँईमा फालेर दौड्यो उतै ‘को हो त्यो शान्ति मास्न दुष्प्रयास गर्ने? मर्‍यो त्यो आज मेरो हात बाट’ भन्दै। गएको २ मिनेटमै फेरि हस्याङ्‍ फस्याङ् गर्दै तेई बाटो हुँदै भागेर फर्कयो पनि।

यसो हेर्छु त लगभग १०० जना जति स्कूले पोशाकका विद्यार्थीले पो खेदेका रहेछन् बिचरालाई। म अवाक भएँ। आज ‘सरस्वति पुजा’ पनि हैन , फेरि ‘जयन्ती’ मनाउन छोडेको पनि ३,४ वर्ष भै सक्यो। अलि नजिकबाट हेरेको त आफ्नै कलेजका तन्नेरीहरू रहेछन्। हैन आज बिदा रैछ, पढाउन जान पर्ने भएन भनेर मनमनै अर्को पेग व्हिस्की लगाएँ। खुसीले गदगद् हुँदै तिनीहरूको चर्तिकला हेर्न थालेँ। माइक बोकेर भीडैभीडको माझमा ‘सुमिना’ले भाषण गर्दै थिइन्। उनको त्यो मुहारको तेज देखेर म सँधै अचम्म पर्ने गर्दथेँ। कलेजमा सबै साथी र शिक्षककी प्रिय पात्र थिइन् उनी। उनको लगनशिलता र मिहिनेतले गर्दा रिजल्ट पाटीमा सँधै माथि हुन्थ्यो उनको नाम। ज्यादै हठी स्वभावकी उनले पत्रपत्रिका पढ्ने, इन्टरनेट बाट देश विदेशका समाचारको विश्लेषण गर्ने पनि गर्दथिन्। नेपाल र नेपाली भाषाको माया गर्ने उनको बानी सम्झेर अघिको आकाशवाणी सम्झेँ, गर्वले मुटु ढक्क फुलेर आयो। कमर्स पढेर इकोनोमिक्समा स्पेसलाइज गरी बाबुराम भट्टराईले जम्मा गरेको अर्थलाई देशमा सही रूपले लगानी गर्ने सिद्दान्तको विकास गर्नुपर्छ भन्थिन्। त्यस्ती ‘सुमिना’लाई आज एक्कासी के भयो ? यो के को भीड हो ? के उनी पनि सबै विद्यार्थी जस्तै राजनीतिमा पसेर दल खोल्छिन् ? के उनी पनि अब नेता बन्छिन् अनि नेपालको त्यो सपना बिर्सिन्छिन ? अनेक प्रश्न उठ्न लागे मेरो मनमा। सबै प्रश्न छोडेर छेवैको एउटा भाइलाई सोधेँ, ‘भाइ यो के गरेको ?’ उसले पुसको चिसोमा मुखबाट तातो तातो हावा फ्याँक्दै भन्यो, ‘देशको यो बिग्रँदो परिस्थितिलाई पार लगाउन अब हामीले नै केही गर्नु पर्छ’ भनेर हामीले यो ‘बंकर्स पार्टी’ को आयोजना गरेको सर’।

मलाई एक्कासी २०६६ सालको घटना याद आयो – साला पुलिसहरू, जहिले -याक गर्छन्।

पुलिस भन्नासाथ अघिको डन्ठे चोट बल्झिहाल्यो र मोजाको पैसा पनि। यसो मोजा छामेको पैसा त के हुन्थ्यो, कुन मोरीले ‘शिखर’ चुरोट नपाएर बेरेर सल्काइहोली। ‘आऽऽऽऽ कलेज बिदा रै’छ बालै भएन कोठामा गएर मस्त सुतिन्छ’ भन्दै पुरानो बानेश्वर हुँदै लागेँ नयाँ बानेश्वरतिर। सुमिनाको स्वर र वचनहरू परसम्म प्रष्ट सुनिँदै थियो।

त्यो बिहान पनि आउँछ होला।

April 3rd, 2010

(स्रोत : Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.