~शिशिर पराजुली~
नेपाली साहित्यको आकाशमा थुप्रै ताराहरु छन् । केही तारा चम्किला छन् त केही कम । साहित्यको आकाश यति फराकिलो छ जहाँ हजारौं ताराहरू छन् र ती हजारौं ताराहरूको आ-आफ्नै भूमिका र कर्तव्य छ । यिनै ताराहरू बीच महेश पौड्याल एक परिचित तारा जो अरू तारा भन्दा फरक तरिकाले आफूलाई साहित्यको आकाशमा चम्किलो बनाउने प्रयासमा सदैव लागिरहन्छन् र जो कथा, अनुवाद, नाटक, समालोचना, गीत लेखन र बालसाहित्यमा आफूलाईं सिंचित गर्न साह्रै खप्पिस छन् ।
हालै सम्पन्न पुस्तक मेला हामी सबैले सहभागिता जनाएको र विभिन्न पुस्तक किनेको ठाउँ हो जहाँ उनै महेश पौड्यालद्वारा लिखित ‘तादी किनारको गीत’ सर्वोकृष्ट बिक्रिको सूचिमा अग्रस्थानमा विराजमान भयो ।
नेपाली साहित्यको बजारमा दिनहुँ नयाँ कृति विमोचित हुन्छन् जसभित्रको चिन्तनले पाठकलाई नछोएको हामी सबैलाई थाहा नै छ । यसै होडबाजीको बजारमा हालसालै प्रकाशित कृति ‘तादी किनारको गीत’ ले नेपाली साहित्यको बजार तताएको मजस्ता पाठकले सजिलै अड्कल काट्न सक्छन् । बजारमा आउने कृति र यसले सामाजिक रूपमा पार्ने असर र चिन्तनको मूल्याङ्कन नहुँदा नेपाली साहित्य लेखन केही मात्रामा पछि पो परेको हो कि भन्ने चिन्ता हामीजस्ता पाठकमा नपरेको होइन । सायद दिनहुँ छापिने कृतिले सामाजिक चिन्तनको भार बोक्न नसक्ने पनि होला । तर पौड्यालको कृतिको काँध यति बलियो छ कि यसले राष्ट्रको एक मुद्दा र चिन्तनलाइ सजिलै बोकेको छ र तपाईं हामी बीच ल्याएको छ ।

उपन्यास विधामा छापिएको ‘तादी किनारको गीत’ले माझी समुदायमा प्रचिलत बालविवाहको परम्परा र यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरको व्याख्या र विश्लेषण हास्यव्यङ्ग र कारूणिक शैलिमा प्रस्तुत गरेको छ । पुस्तक तीन अध्यायमा वर्गिकरण गरी छुट्याइएको छ । पहिलो अध्यायमा सपना: घरभित्रका, दोस्रो अध्यायमा सपना: अज्ञात क्षितिजतिर र तेस्रो अध्यायामा सपना: घर आँगनका । तीन अध्यायले पुस्तकको सम्पूर्ण विषयवस्तुलाई निचोरेको छ जसमा प्रत्येक अध्याय अनुसारको नयाँ वातावरणमा शयर गर्न पाइन्छ ।
बुकआर्ट नेपालद्वारा वि.सं. २०७२ साल काठमाडौंमा पहिलो मुद्रण भएको पुस्तकको मूल्य रू २०५ राखिएको छ । बजारमा उपलब्ध अन्य महङ्गा तर सामाजिक चिन्तनलाई परबाट पनि अवलोकन नगरेका पुस्तकको सट्टामा पौड्यालको कृति समयसापेक्ष रुपमा पाठक सुहाउँदो छ ।
गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार २०७१ बाट पुरस्कृत कृति ‘तादी किनारको गीत’ पाठकको हातमा पर्ने बित्तिकै सक्नको हतारो हुन्छ । सरल शब्द र भाषाको प्रयोगले पुस्कतलाई अझै उचाइमा पुर्याएको छ । पुस्तककै माध्यमबाट पुस्तकको मुख्य पात्र लखुमसँगै म सुनकोशीमा पौडी खेल्न पुग्छु, ऊ संगै डुङ्गा चलाउन पुग्छु, उसको बालापनले हामी सबैलाई आ-आफ्नो बालापनमा फर्काउने छ, लखुम संगै हामीले आफ्नो किशोर अवस्थामा फेरी शयर गर्नेछौं । लखुमसँगै रूनेछौं, लखुमसँगै हाँस्नेछौं अनि लखुमसँग नुवाकोट र अन्य जिल्ला पुस्तककै माध्यमबाट घुम्नेछौं ।
दु:खिनीकोजस्तै रहर बोकेर छोरालाई अङ्ग्रेजी पढाउने र धरहरा हेर्ने धोको गाउँमा बसेकी हाम्रो आमाको पनि सधैं छ र धरहरा लडेको पिर र दु:ख पनि उत्तिकै । पुस्तकभित्रको खलपात्रलाई देखेर हामीभित्र रिस र आवेशको संवेग पनि उत्पन्न हुन्छ । पुस्तक पढ्दा मुख्य पात्रमा कहिले म आफैं आरोपित हुन्छु, कहिले रून्छु, कहिले हाँस्छु, कहिले रमाउँछु अनि कहिले कराउँछु ।
यही धारलाइ समाउँदै पुस्तकभित्र रहेको सामाजिक चिन्तनलाई केलाउन खोज्दा ‘बालविवाह’ टड्कारो समस्याको रुपमा देखिन्छ । माझी समुदायमा परापूर्वकालदेखि चलिआएको चलन बालविवाह जसमा केटा वा केटी सानैछँदा उनिहरूको बा-आमाले सम्बन्ध गाँसिदिन्छन् । बालविवाहले निम्त्याउने सामाजिक तथा आर्थिक समस्या र वैयक्तिक समस्या र सानै उमेरमा गरिने विवाहले बालबालिकामा पर्ने सामाजिक, पारिवारिक, आर्थिक र शारिरीक बोझको भयाभव चित्रण पौड्यालको कृतिले राम्रोसँग गरेको छ । विकाशका पूर्वाधारको विकाशले सबैलाई फाइदा पुर्याउने कुरामा कसैको दुईमत नहोला तर सुनकोशी र इन्द्रावतीको किनारमा बस्ने माझी परिवारलाइ आधुनिक डुङ्गाको प्रभावले उठिबास बनायो र आफ्नो थातथलो छोड्न बाध्य बनायो तर यो पक्ष कल्पना भन्दा बाहिरको कुरा रह्यो तर पौड्यालको यस कृतिले हामीलाई त्यता तर्फ सोच्न पनि बाध्य बनायो ।
पुस्तकभित्रको सुकोमल प्रेम जहाँ दुई पात्र बिकवा र मालश्री बिहेको बारेमा अनभिज्ञ छन् तर तिनीहरूको प्रेम अबोध छ जुन प्रेम निश्चल छ त्यही तादी, सुनकोशीमा बग्ने पानी जस्तै । जुन प्रेमले सामाजिक चिन्तनलाइ सुकोमल रुपमा प्रस्तुत गरेको छ । बालविवाहको परम्परालाई पुस्तकमा धुपीको रूख नदीले बगाए जसरी बगाएर कतै मिल्काउन खोजिएको प्रष्टै देखिन्छ ।
अन्तयमा, पौड्याल आफैंमा एक सशक्त समिक्षक र कवि जो यति सरल र शरस भाषामा राष्ट्रको मूलधारबाट परै रहेका माझी समुदायको प्रतिनिधि बनेका छन् र आवाज दिएका छन् तिनीहरूको सामाजिक समस्या र विकृतिलाई जसलाई हटाउन ‘तादी किनारको गीत’ कोशेढुङ्गा सावित छ ।
र त्यो गीत अझै हाम्रो जनजिब्रोमा छ :
सेती खोला कठै बग्यो सलल
मेरा आँसु कठै चुहिए तरर ।
(स्रोत : Hulaki)
