पुस्तक समीक्षा : ‘तादी किनारको गीत’ भित्रको सामाजिक चिन्तन

~शिशिर पराजुली~Shishir Parajuli

नेपाली साहित्यको आकाशमा थुप्रै ताराहरु छन् । केही तारा चम्किला छन् त केही कम । साहित्यको आकाश यति फराकिलो छ जहाँ हजारौं ताराहरू छन् र ती हजारौं ताराहरूको आ-आफ्नै भूमिका र कर्तव्य छ । यिनै ताराहरू बीच महेश पौड्याल एक परिचित तारा जो अरू तारा भन्दा फरक तरिकाले आफूलाई साहित्यको आकाशमा चम्किलो बनाउने प्रयासमा सदैव लागिरहन्छन् र जो कथा, अनुवाद, नाटक, समालोचना, गीत लेखन र बालसाहित्यमा आफूलाईं सिंचित गर्न साह्रै खप्पिस छन् ।

हालै सम्पन्न पुस्तक मेला हामी सबैले सहभागिता जनाएको र विभिन्न पुस्तक किनेको ठाउँ हो जहाँ उनै महेश पौड्यालद्वारा लिखित ‘तादी किनारको गीत’ सर्वोकृष्ट बिक्रिको सूचिमा अग्रस्थानमा विराजमान भयो ।

नेपाली साहित्यको बजारमा दिनहुँ नयाँ कृति विमोचित हुन्छन् जसभित्रको चिन्तनले पाठकलाई नछोएको हामी सबैलाई थाहा नै छ । यसै होडबाजीको बजारमा हालसालै प्रकाशित कृति ‘तादी किनारको गीत’ ले नेपाली साहित्यको बजार तताएको मजस्ता पाठकले सजिलै अड्कल काट्न सक्छन् । बजारमा आउने कृति र यसले सामाजिक रूपमा पार्ने असर र चिन्तनको मूल्याङ्कन नहुँदा नेपाली साहित्य लेखन केही मात्रामा पछि पो परेको हो कि भन्ने चिन्ता हामीजस्ता पाठकमा नपरेको होइन । सायद दिनहुँ छापिने कृतिले सामाजिक चिन्तनको भार बोक्न नसक्ने पनि होला । तर पौड्यालको कृतिको काँध यति बलियो छ कि यसले राष्ट्रको एक मुद्दा र चिन्तनलाइ सजिलै बोकेको छ र तपाईं हामी बीच ल्याएको छ ।

book cover - Tadi Kinar ko Geet - Mahesh Paudyal

उपन्यास विधामा छापिएको ‘तादी किनारको गीत’ले माझी समुदायमा प्रचिलत बालविवाहको परम्परा र यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरको व्याख्या र विश्लेषण हास्यव्यङ्ग र कारूणिक शैलिमा प्रस्तुत गरेको छ । पुस्तक तीन अध्यायमा वर्गिकरण गरी छुट्याइएको छ । पहिलो अध्यायमा सपना: घरभित्रका, दोस्रो अध्यायमा सपना: अज्ञात क्षितिजतिर र तेस्रो अध्यायामा सपना: घर आँगनका । तीन अध्यायले पुस्तकको सम्पूर्ण विषयवस्तुलाई निचोरेको छ जसमा प्रत्येक अध्याय अनुसारको नयाँ वातावरणमा शयर गर्न पाइन्छ ।

बुकआर्ट नेपालद्वारा वि.सं. २०७२ साल काठमाडौंमा पहिलो मुद्रण भएको पुस्तकको मूल्य रू २०५ राखिएको छ । बजारमा उपलब्ध अन्य महङ्गा तर सामाजिक चिन्तनलाई परबाट पनि अवलोकन नगरेका पुस्तकको सट्टामा पौड्यालको कृति समयसापेक्ष रुपमा पाठक सुहाउँदो छ ।

गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार २०७१ बाट पुरस्कृत कृति ‘तादी किनारको गीत’ पाठकको हातमा पर्ने बित्तिकै सक्नको हतारो हुन्छ । सरल शब्द र भाषाको प्रयोगले पुस्कतलाई अझै उचाइमा पुर्याएको छ । पुस्तककै माध्यमबाट पुस्तकको मुख्य पात्र लखुमसँगै म सुनकोशीमा पौडी खेल्न पुग्छु, ऊ संगै डुङ्गा चलाउन पुग्छु, उसको बालापनले हामी सबैलाई आ-आफ्नो बालापनमा फर्काउने छ, लखुम संगै हामीले आफ्नो किशोर अवस्थामा फेरी शयर गर्नेछौं । लखुमसँगै रूनेछौं, लखुमसँगै हाँस्नेछौं अनि लखुमसँग नुवाकोट र अन्य जिल्ला पुस्तककै माध्यमबाट घुम्नेछौं ।

दु:खिनीकोजस्तै रहर बोकेर छोरालाई अङ्ग्रेजी पढाउने र धरहरा हेर्ने धोको गाउँमा बसेकी हाम्रो आमाको पनि सधैं छ र धरहरा लडेको पिर र दु:ख पनि उत्तिकै । पुस्तकभित्रको खलपात्रलाई देखेर हामीभित्र रिस र आवेशको संवेग पनि उत्पन्न हुन्छ । पुस्तक पढ्दा मुख्य पात्रमा कहिले म आफैं आरोपित हुन्छु, कहिले रून्छु, कहिले हाँस्छु, कहिले रमाउँछु अनि कहिले कराउँछु ।

यही धारलाइ समाउँदै पुस्तकभित्र रहेको सामाजिक चिन्तनलाई केलाउन खोज्दा ‘बालविवाह’ टड्कारो समस्याको रुपमा देखिन्छ । माझी समुदायमा परापूर्वकालदेखि चलिआएको चलन बालविवाह जसमा केटा वा केटी सानैछँदा उनिहरूको बा-आमाले सम्बन्ध गाँसिदिन्छन् । बालविवाहले निम्त्याउने सामाजिक तथा आर्थिक समस्या र वैयक्तिक समस्या र सानै उमेरमा गरिने विवाहले बालबालिकामा पर्ने सामाजिक, पारिवारिक, आर्थिक र शारिरीक बोझको भयाभव चित्रण पौड्यालको कृतिले राम्रोसँग गरेको छ । विकाशका पूर्वाधारको विकाशले सबैलाई फाइदा पुर्याउने कुरामा कसैको दुईमत नहोला तर सुनकोशी र इन्द्रावतीको किनारमा बस्ने माझी परिवारलाइ आधुनिक डुङ्गाको प्रभावले उठिबास बनायो र आफ्नो थातथलो छोड्न बाध्य बनायो तर यो पक्ष कल्पना भन्दा बाहिरको कुरा रह्यो तर पौड्यालको यस कृतिले हामीलाई त्यता तर्फ सोच्न पनि बाध्य बनायो ।

पुस्तकभित्रको सुकोमल प्रेम जहाँ दुई पात्र बिकवा र मालश्री बिहेको बारेमा अनभिज्ञ छन् तर तिनीहरूको प्रेम अबोध छ जुन प्रेम निश्चल छ त्यही तादी, सुनकोशीमा बग्ने पानी जस्तै । जुन प्रेमले सामाजिक चिन्तनलाइ सुकोमल रुपमा प्रस्तुत गरेको छ । बालविवाहको परम्परालाई पुस्तकमा धुपीको रूख नदीले बगाए जसरी बगाएर कतै मिल्काउन खोजिएको प्रष्टै देखिन्छ ।

अन्तयमा, पौड्याल आफैंमा एक सशक्त समिक्षक र कवि जो यति सरल र शरस भाषामा राष्ट्रको मूलधारबाट परै रहेका माझी समुदायको प्रतिनिधि बनेका छन् र आवाज दिएका छन् तिनीहरूको सामाजिक समस्या र विकृतिलाई जसलाई हटाउन ‘तादी किनारको गीत’ कोशेढुङ्गा सावित छ ।

र त्यो गीत अझै हाम्रो जनजिब्रोमा छ :
सेती खोला कठै बग्यो सलल
मेरा आँसु कठै चुहिए तरर ।

(स्रोत : Hulaki)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.