भो नहेर हस्तरेखा अनुमान हो जवाफ
म त बुझ्छु भाग्य कुर्नु अवसान हो जवाफ
यो त निधो धेर थोर मिहिनेत गर्नै पर्छ
प्रतियोगी दुनियाँमा पहिचान हो जवाफ
जो जति म नग्न देख्छु मन उति कालो लाग्छ
पारदर्शी शिशा जस्तो परिधान हो जवाफ
आउ जाउ कोही छैन भित्रबाट आग्लो किन ?
कौतुहल मेरोभन्दा बलवान हो जवाफ
गतसाल छित्रिएका त्यही दाना उम्रिंदैछन्
बाली काट्न ढिलो भयो खलियान हो जवाफ
============================
आग्लो — घरको मुल ढोकामा सुरक्षा हेतू लगाइने काठ विशेष
खलियान — खेती भित्र्याउनु अघी प्रयोग गरिएको खास जमिनको अंश ( एक प्रकारको आँगन )।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )