~ऋचा भट्टराई~
सन् १९४४ को अगस्टको रात, फ्रान्सको सहर सेन्ट मालोमाको ६ तले घरमा एउटी १६ वर्षे दृष्टिविहीन किशोरी एक्लै बसिरहेकी हुन्छे । अचानक आकाशै फाटेजस्तो गर्जनका साथ उसको घर जरैदेखि हल्लिन्छ र गोला–बारुदको वर्षात हुन थाल्छ । किशोरी मेरी लउर थर्थराउँदै लुक्ने ठाउँ खोज्दै जाँदा उसको बाटोपारिको होटल पनि त्यही आक्रमणमा परी भत्किन्छ र त्यसभित्र पुरिन्छ जर्मन सिपाही वर्नर फेनिङ ।
यो भयानक विन्दुबाट सुरु भएको एन्थोनी डुअरको उपन्यास अल द लाइट वी क्याननट सी यस्तो रोमाञ्चक क्षणहरूको सँगालो नै हो । हुन त दोस्रो विश्वयुद्धको समयमा आधारित भएर थुप्रै कृति रचना भएका छन् । हिटलरको क्रुरताले युद्ध साहित्यमा स्थान पाउने नै भयो । तर, यही त्रासद समय र पात्रहरूको चित्र कोरे पनि डुअरको उपन्यास अरूको भन्दा पृथक छ ।
साधारण युद्ध साहित्यले खुब महत्त्वका साथ समावेश गर्ने बम र तोप, युद्ध नीति र कौशललाई खासै ध्यान नदिईकन डुअरले भाग्य, सम्बन्ध र संवेदनाका आधारमा दोस्रो विश्वयुद्धको विश्लेषण गरेका छन् । एउटा फ्रान्सेली केटी र जर्मन केटा अनि उनीहरूका विचित्र किसिमले लठारिएका नियतिको वर्णन लेखकले यति मिहिन तरिकाले गर्छन्, यही सुरमा पाठकलाई यी पात्रका मनमस्तिष्कका कुनाकाप्चाको भ्रमण गराउँछन्, हरेक कुनामा शत्रु लुकेका सहरका गल्लीगल्ली घुमाउँछन् अनि पाठक स्वयंलाई पनि कतैबाट आक्रमण भइरहेको छ कि भनेर तर्सिएर वरपर हेर्न बाध्य बनाउँछन् ।
दोस्रो विश्वयुद्ध लगभग अन्त्य हुने बेलामा सुरु भएको कथामा एक्कासि त्यहाँभन्दा धेरैअघिको समयको बखान हुन थाल्छ । मेरी ६ वर्षकी हुँदा उसको दृष्टि गुमेको र उसको कुशल शिल्पकार बुबाले पेरिस सहरको काठको नमुना कुँदेर छोरीलाई आत्मनिर्भर बनाएको प्रसंगबाट कथा अघि बढ्छ । यो सबै वर्णन यति सुस्थिर, मीठो र घतलाग्दो किसिमले गरिन्छ, पाठकलाई साहसी अनि निडर मेरीसँग लगाव बढ्न थाल्छ र अन्तत: उनीसँग प्रेम भएरै छोड्छ ।
यसै गरी हामीलाई नायकसँग पनि परिचय गराइन्छ : अनाथालयमा हुर्केको वर्नर तीक्ष्ण बुद्धिको हुन्छ । सानैदेखि रेडियो बनाउन र सुन्न खुब रहर गर्छ । यसै क्रममा एउटा शक्तिशाली रेडियो बनाएपछि एक रात वर्नर र उसकी बहिनीले त्यसमार्फत अनौठो वैज्ञानिक प्रवचन सुन्न थाल्छन् ।
दुवै जना यसबाट यति सम्मोहित हुन्छन्, उनीहरूको जीवनको सबैभन्दा सुखद क्षण नै त्यही स्वर र त्यसलाई पछ्याउँदै बज्ने सुमधुर संगीत हुन्छ । युद्धको सुरुआतपछि लागू भएको कडा अनुशासन कायम गर्न वर्नरले त्यो रेडियो भत्काए पनि उसको मनमा सधैँ त्यही आवाज गुञ्जिरहन्छ, आफूतिर डोर्याइरहन्छ, असल काम गर्न झकझक्याइरहन्छ । तर, वर्षौंपछि, जब उसले त्यो प्रेरणादायी आवाज आफ्नो रेडियोमा फेरि सुन्छ, त्यो उसको दुस्मनको बोली हुन्छ ।
फ्रान्सका जनताको विद्रोहलाई साथ दिइरहेको यो आवाजको धनीलाई समातेर ल्याउने आदेश वर्नरलाई आउँछ । सयौँपटक यस्तै काम गरिसकेको वर्नरका पाइला यसपालि भने अडिन्छन्, उसलाई या त आफ्ना बाल्यकालका सम्झनाले रोक्छ वा त्यो आवाज निस्किने घरमा बस्ने शान्त केटी मेरीको आकर्षणले तान्छ । र ठीक यही क्षण, विध्वंश हुन्छ अनि हामी फेरि अहिलेको भयानक अवस्थामा फर्कन्छौँ ।
समयको यो आकस्मिक बदलावलाई लेखकले बडो कुशलतापूर्वक प्रयोग गरेका छन् । एक पानामै वर्षौं फड्को मार्ने र फेरि एक क्षणको बखान गर्न दसौँ पृष्ठ लगाइदिने उनको विशेषता नै हो । उनको यो प्रयोगले पाठक पटकपटक रोमाञ्चित बन्छन्, यता घर्याक्क ढोका खुल्छ तर अगाडि उभिएको व्यक्तिसँग भेट गराउनुअघि लेखकले हामीलाई अर्कै परिवेशमा पुर्याइसकेका हुन्छन् । यसरी पाठक अघि र पछिको कथा जान्न उत्सुक भइराख्छ ।
उपन्यास पढ्दै जाँदा वास्तविकता र मिथ्या, कल्पना र यथार्थको फरक धमिलिँदै गएको अनुभूति हुन्छ । डान ब्राउनले जसरी आफ्ना सिर्जनामा ऐतिहासिक प्रसंग र काल्पनिक घटनाको संगम गराउँछन्, ठीक त्यसै गरी डुअरले पनि पाठकलाई रनभुल्लमै पार्छन् । घरि लाग्छ, यो त आख्यान हो, यसका घटना यी पानाभित्र सीमित छन् । फेरि लाग्छ, यसको ऐतिहासिक आधार त हुनैपर्छ, नत्र कसरी यस्तो आधिकारिकता र आत्मविश्वासका साथ लेखकले हरेक घटनाको व्याख्या गर्छन् ?
उनको त्यही आत्मविश्वास चरित्र चित्रणमा पनि झल्कन्छ । यति धेरै पाना भएको पुस्तकमा पात्र असाध्यै कम्ती छन् तर हरेकको विशेष स्थान र महिमा छ । हरेकलाई सजीव चरित्रका रूपमा उभ्याउन र उसको सानोभन्दा सानो खुबीलाई उजागर गर्न लेखक खप्पिस छन् । उनको कलाकारितालाई शब्दमा वर्णन गर्न सकिन्न ।
त्यस्तै, लेखकको भाषामाथिको पकड बेजोड छ । उनका प्रत्येक वाक्य मनकै कुनै कुनामा थन्किन्छन्, कुनैले आँसु झार्न लगाउँछन्, कुनैले मुटु अँठ्याउँछन् । एउटा प्रसंग छ, पेरिसका बासिन्दाले सहर छाडेर भागिरहेका बेला मेरीका बा पनि उसलाई चेपेर निस्कन्छ । रेलवे स्टेसन पुगेपछि मेरी सोध्छे :
‘हामी अब के गर्दै छौँ, पापा ?’
‘रेल आउने आश गर्दै ।’
‘अरू सबै के गर्दै छन् ?’
‘उनीहरू पनि आश गर्दै छन् ।’
यति सरल र साधारण वार्तालापका माध्यमबाट लेखकले यी पात्रको वेदना, पीडा, त्रास र अनिश्चित भविष्य उजागर गरिदिन्छन् । यस्ता सुन्दर उदाहरण यस वर्षको पुलिट्जर पुरस्कार विजयी उपन्यासको प्रत्येक पानामा पाइन्छन् ।
उपन्यास हरेक हिसाबले शक्तिशाली छ– विषय छनोट, चरित्रचित्रण, भाषाशैली र लेखनशिल्प । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफूले अब पढ्ने पुस्तकको सूचीमा यसलाई राखेका छन् र उपन्यासको अन्तिम पाना पल्टाउँदा उनलाई पनि पक्कै एउटा उत्कृष्ट लेखकसँग साक्षात्कार भएको अनुभव हुनेछ ।
अल द लाइट वी क्याननट सी
लेखक : एन्थोनी डुअर्र
प्रकाशक : फोर्थ इस्टेट (हार्पर कोलिन्स)
पृष्ठ : ५३०
मूल्य : १,४४० रुपियाँ
प्रकाशित: आश्विन १, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )