कथा : विकल्प

~टि पी मिश्र~TP Mishra

म दौरा-सुरुवालको पहिरनमा चिरिच्याँट परेको छु आज । एकजना मित्रले केही हप्ता पहिले चिनो स्वरूप काठमाडौँबाट पठाएको ढाका टोपीले मेरो तालुलाई घ्याप्प छोपेको छ । सायद मलाई देख्नेहरुले तालु बारे पत्तो पाउने छैनन् । म खुब बैंसालु, हिरो देखिएको छु रे, मेरी सानीले खिसी गर्दै भनेको । सम्झिएँ आफ़्नो मौलिक पोसाकमा म मात्र के हामी सबै त्यस्तै राम्रा-राम्री, हिरो-हिरोनी देखिन्छौं नि । गुमाने ठुले त झन् म भन्दा नि कति हो कति राम्रा देखिएका छन् । सेतो दौरा-सुरुवाल, त्यस माथि कालो कोट छ– छुँदा पनि काट्ला जस्तो गरेर लगाएको स्त्री पत्तीको धार जस्तै देखिन्छ । सिरमा फेटा अनि कम्मरमा पोटुकि, त्यस भित्र गोर्खाली सिरुपाते खुकुरी बोकेका । घाम छोप्ने कालो चस्मा अनि सिम्रिके रङ्गको टल-टल टल्किने जुत्ता । यिनै हुन् आजका महाराजा, गुमाने ठुले । हिरो, आजको आकर्षण, बेहुलो अरू जे-जे भने नि उनै हुन् । पुरै मिलेका सेता दाँत देखाउँदै घरिघरि खिसिक्क हाँस्दा लाग्छ सायद यिनका सालीहरुले खुब जिस्काउने छन् ।

पहिरन हेर्दा त भूटानको दागानामा हुने भए उनले घोडीमा सवार हुँदै बेहुली लिन जान्थे क्यार । हामी जन्तीहरु घोडीको पछिल्तिर लमक-लमक हिँडिरहेका हुने थियौँ । नौमती बाजाको झ्यानाकुटीझ्याईँ, त्यसमा पनि नरसिंगा फुकाई अनि सनै बजाइले हामी जन्तीको मात्र के कुरा, जङ्गल आसपासका जनावरहरु पनि कम्मर मर्काउँदै नाच्थे होलान् ।

आज भने चारपांग्रेबाहेक अरू विकल्प छैन । बेहुलो सवार चारपाङ्ग्रे कसले चलाउने भन्ने कुरामा त्यहाँ निकै बेर एक-अर्कामा कानेखुसि भो । म त्यहाँ नौलो छु । कागको बिचमा म मात्र बकुल्लो भएकोले चुपचाप बसिरहेँ ।

“होइन तिमी त अमेरिका आएको नि निकै भो । लु यार आज डाइभरी काम गर्नु पर्ने भो,” बेहुलाले धाप मार्दै भने । ‘महाराजा’ सवार चारपांग्रे चलाउन पाउँदा कसले पो हुन्न भन्ला र? उसै पनि पुरै सिंगारिएको चारपांग्रे, म खुरुक्कै तम्सिएँ ।
ल सबै जना गाडीभित्र पसुँ भनिदिएँ ।

बेहुली कहाँ पुग्न चालिस मिनेट जति लाग्दोरहेछ । गुमाने र म अगाडी, पछिल्तिर उनका एक भाइ, भरे परिहाले जन्तीका तर्फबाट सिलोक भन्न, नन्दलाल खड्का बा’ र खोइ को अर्का मैँले नचिनेका एक जना आफन्त छन्, गाडीमा । मेरी सानी चैँ बेहुलाको घरमै बस्नु पर्ने भो, यसो कामधन्दा सघाउँदै । खड्का बा’ गाडी भित्रै सिलोक भन्न थाले । मनछुने सिलोकले मलाई पुरै बिहे लागेको भान गराइरहयो । मेरा आफ्नै बा’ले भूटानमा त्यसै गरी सिलोक भनेको पुरै झल्झली आयो आँखामा ।

“तिमी मेरो बिहामा आएकोमा निकै खुसी छु,” बेहुलो।
म पनि उतिकै दङ्ग, खुसी छु । लु भन, अरू के छ खबर ? मैले सोधेँ ।

“एउटा भाइ हिजो फन्दा’ परेको त सुनेउ होला । पछाडि बसेको अर्को भाइले आउने महिना कलेज पढेर सक्छ । बैङ्कमा जागिरको पनि बन्दोबस्तो गरिसकेछ, भाइले । मैले भर्खर घर लिएँ । अब एउटा गाडी मर्मत गर्ने गराज लिने सोंचमा छु । केही सिप सिकेको छु, त्यसलाई व्यापारमा बदल्नु पर्ने भो, खोइ अरू कलमी जागिर खान धेरै पढ्न सकिएन” ।

लु बडो प्रगति भएछ, उच्च शिक्षा हाँसिल गरेका धेरैजसोले कति कोसिस गर्दा पनि तिम्रो जति प्रगति गर्न गाह्रो महसुस गरिरहेछन्, मैले भनेँ।
“तिमीलाई सबै थाहै छ नि । यो सब मेरो दिदीले गर्दा भएको न हो । ए साँची, म चाडैं मामा बन्ने वाला छु”
“हो र? ल गज्जब भएछ”, मैँले सानो हर्ष थपिदिएँ ।

एक समय आत्महत्या गर्न प्रयास गरेका यी बेहुला दिदीबाट प्रेरित हुँदै आज यो गज्जबको प्रगति सहित अघि बढेकोमा म बहुत खुसी छु । मन-मनै म खुब हाँसेको छु । केही दिन यतै बस्नलाई पनि बेहुला निवेदन बिसाउँदै थिए । तर म हतारोमा भएको बारे प्रस्टै पारेको छु । सायद उनी मलाई अरू त्यस्ता थुप्रै कुराहरू सुनाउन चाहन्छन् । बिहाको दिन भएकोले मैँले दु:खका पुराना दिनहरू बारे कुरा कोट्याउन चाहिन । विगतलाई आधार मानेर अघि बढ्नु राम्रो हुन्छ, तर त्यसलाई सम्झिरहनु घातक हुने स्मरण गराएँ । उनकी आमा अहिले नौ हात जतिको घर पछिको करेसी बारीमा यसो सागपात छर्ने सोचमा भएको बताए ।

“छिमेकी एउटी गोरेनी आन्टीसँग दुई-चार मिनेट टुटेफ़ुटेको अङ्ग्रेजीमा गफ गर्न सक्ने हुनु भएको छ आमा । खुब मिनत’ गरेर पढ्नु हुन्छ अङ्ग्रेजी,” गुमानेले भने ।

गफको सुरमा मैँले केही देखिन तर खोइ नन्दलाल खड्का बा’ले एउटा कालो बिरालोले बाटो काट्यो भने ।
“लु गाडी रोक्नु पर्छ, रोक-रोक नानी”, खड्का बा’ ।
यो ‘हाईवे’मा एक्कासि गाडी रोक्न मिल्दैन बा’, मैँले भने ।

“मलाई अरू थाहा छैन तर गाडी जसरी नि रोक्नुको विकल्प छैन, बिरालोले बाटो काट्यो–लोदर लाग्यो, अब गाडी पल्टिन सक्छ वा केही खति हुनसक्छ ” खड्का बा’ ।
होइन होला, कसले भनेको पल्टिन्छ भनेर? मैँले सानो स्वोरमा प्रश्न गरेँ ।
“उहिलेका बुडापाकाले,” खड्का बा ।
गाडी लडेमा म जिम्मा बा’, मैँले भने ।

लु खत्तम भो, हे राम-राम!!, मेरो कुरो सुन्दैनन् त’ भन्दै थिए खड्का बा’, अघि नेटो काटिएछ, बेहुली घरपो आइपुगियो ।
जीवनमा पहिलो पटक लोकन्ते बस्नु पर्ने भो फेरि । मैँले उनको कुरो काट्न सकिन । एउटा नयाँ अनुभव बटुल्ने मौका पाएकोमा म गदगद भएको छु ।

भरे सबै पैँसो चैँ मैँले नै गनेर दिन्छु नि फेरि, मेरो सर्त ।
“जे गर, तिम्रो विचार,” हाँस्दै गुमाने ।

जब कन्या दानको बेला भो, त्यसले मेरो आफ्नै बिहाको निकै याद दिलायो । मेरो बिहामा सानीले डाँको छोडेको सम्झिएँ । आजकी बेहुली पनि खुब घुँकघुँक गरी रहेकिछिन । मेरो खल्तीमा फेरि अघि देखि फोनको घन्टीले सताइरहेको छ । निकै बेर भो फोन आएको आयै छ । म बाहिर निक्लिएँ कुरा गर्न ।

काकाको छोराले फोन गरेको रहेछ । काकीलाई बिरामले निक्कै च्यापेको थाहा पाएँ । संयोग पनि कस्तो? काकाको घर बेहुली कै गाउँमा भएको त भुतुक्कै बिर्सेको रहेछु । मान्छेको मन पनि त्यस्तो कोही बेला त हुस्सु पनि हुन्छ । बेहुलालाई अर्को लोकन्तेको बन्दोबस्त मिलाउन भनेर म काकाकोतिर लागें । काकीको अवस्था बारे मैँले बेहुलोलाई केही भनिनँ । त्यसो त यस्तो बेला भैपरि आउने कुरो थाहा भए पनि बेहुला-बेहुली र जग्गेमा बसेका आफन्तहरूलाई केही समय नसुनाउने त हाम्रो पुरानै चलन न हो ।

काकीलाई थरिथरिका बिरामले सिकिस्त पारेको रहेछ । सानैमा दाउरा खोज्न गएको बेला रुखका हाँगाले किचेर उसै त खंग्च्यांग-खंग्च्यांग गर्दै हिँड्छिन् । त्यही साल भूटान छोड्नु अघिको दसैँमा कमेरो खनिरहेको बेला माथिबाट ढिस्क्नु झरेर निकै बेर थिचेको उनैलाई । दसामाथि दसाले खुब पछ्याएको थियो काकीलाई । अहिले भने देब्रे खुट्टाको नलीहड्डीमा निकै ठुलो भित्रै देखिने गरिको घाउ भएछ । खोइ कस्तो गाढे घाउ हो त्यस्तो घाउ त मैँले देखेको थिइनँ, औधी धेरै माया लाग्यो । मैनौ दिन जति भो रे ।

“अनि ‘हस्पिटल’ जानु भो त काकी?”, मैँले सोधेँ ।
“खोइ, तेरा काकालाई सोध । कति भनी सकेँ तर कानमा तेल हालेर बसेका छन् । दोख लागेको छ, आठानेलाई मंछाएर झारफुक गरेर मात्र अस्पताल जानु पर्छ भन्छन् । म चैँ पहिले अस्पताल गएर त्यसपछि मात्र झारफुक गरुँ भन्छु । अहिले ऊ त्यहाँ पर्तिर बस्ने पिठाकोटे माइलोलाई बोलाउन गाका’ छन् ।”

‘लु अब मसँग हिड्नुस, हस्पिटल जानु पर्छ’, काकीलाई भनेँ।
गुमाने झैँ कति दु:खमा पनि खुब हास्न जानेकी छन्, मेरी काकीले।
‘घाउ कति दुखेको छ?’ सोधेँ ।
“अलि-अलि,” दुखाई लुकाउँदै काकीले भनिन् ।

उ बेला काकालाई भूटानी आर्मीले थुनेको रहेछ निकै लामो समयसम्म । बन्दीलाई खाना पुर्‍याउन गएको बेला काकाको स्थिति निकै नाजुक देखिछन काकीले । कुटाइले दुइटै कानका जाली फुटेका थिए रे काकाका, दुइटै हातका औलाका टोप्रामा घोचेका थिए रे । घरजहान नहुँदा निकै महिना बिरक्तिएको सुनाइन् काकीले । बिचरी काकीलाई तीन जना लाला-बालाको हेरविचारमा औधी समस्या परेको रहेछ त्यस बेला । बिरक्तिएर काकीले आत्महत्या प्रयास समेत गरेकी रहिछन्, अस्पताल जाँदा गाडी भित्र बाटोमा भनेको ।

“पुलको डनठिमा समातेर हाम फाल्न खोजेकी थिएँ तल बगिरहेको सुनकोस खोलामा । खोलामा नाउका चलाउदै गर्दा नैनासिंग दाजुले खोइ कसरी मलाई देखे, मलाई आएर सम्झाई-बुझाई गरे, आँटेको काम छोडेँ । म बितेपछि तिनै गिद्देहरुले पढुन भनेर ‘सासकेका मुखमा स्याउस्याउ किरा परुन्’ भनेर एउटा कागजमा लेखेर सबैले देखुन भनेर छोडेकोकी थिएँ घरमा, बाले सानामा घोटाई-घोटाई लेखपढ अलि अलि गराकाले काम गरो”

किन त्यस्तो लेख्नु भो त?, सोधेँ ।
“उनीहरूले काकालाई दिएको दु:खले नै मर्न लागेकी थिएँ नि त, काकी ।

‘हाम फालेर मर्नु अघि तपाईँले के-के सोच्नु भो? याद छ त अहिले?’, फेरि सोधेँ ।
“मैँले बित्थाँ’ यसो गरेँ । मैँले बाँच्न सिक्नु पर्थ्यो । ‘सासके’ त छिट्टै मर्छै-मर्छ, तर मैँले त्यो मरेको हेर्नु पर्थ्यो । यिनै तीनवटा कुरा मात्र आए दिमागमा । हेर छोरा, जीवनमा जति दु:ख किन नपरोस् तर हाँसेर बाँच्नुका लागि अरु थुप्रै विकल्पहरु हुन्छन् । आज तिनै मलाई बचाउने नैनासिंगको छोराको बिहामा पनि म जान सकिन । खुब रत्यौली खेल्न मन थियो । मोरो बा’ रिसायो” ।

काकीलाई अस्पताल भर्ना गरेर म एकछिन बाहिरी हावा लिन निक्लिएँ ।

“होइन तपाईँ कहाँ हराउनु भो ? यो त अचम्म भो त? बेहुली लिएर जन्ती आइसके, तपाईँलाई सबै ठिकै त छ?” सानीले फोनमा भनिन् ।
‘काकी बिरामी हुनु भएको रहेछ, अहिले म हस्पिटलमा छु । अलिक भरे मात्र आइपुग्छु त्यहाँ। तर बेहुलालाई काकी बारे केही नभन्नु ल? ‘सरि’ अघि तिम्लाई थाहै दिन पाइनँ’ ।

“को काकी नि?” सानीले सोधिन् ।
मेरो एउटा खुब मिल्ने पुरानो साथी थियो नेपालमा हुँदा । पछि ऊ खोइ के निहुमा बिरक्तिएर इन्डिया भासियो, कहिले घर फर्केन । उनकी आमालाई मैँले त्यतिकै काकी भन्ने गरेको छु । म १२ कक्षा पढ्दा केही खर्च पनि दिएको थियो, कहिल्यै तिर्नु पर्दैन भनेर । एक बेला काकीको पनि ख्याल गर्नु भनेको थियो मलाई उसले । मेरो खुब मिल्ने साथी हो काकीको माइलो छोरो’ सानीलाई बुझाएँ ।

‘खोइ तपाईँका कति साइना कति जनासँग छन् मैँले सबैलाई कहिले चिन्ने भैन, ए, यहाँ सुन्नुहोस् त यताको चिन्ता लिनु पर्दैन । बरु काकीको ख्याल गर्नु नि त राम्रोसँग, यसरी नै अरूका लागि बाँचिरहन पुगिरहोस् तपाईँलाई ’, भन्दै फोन राखिन् सानीले ।

——-
निकै अबेर पुगें बेहुलाघर । दुलाह-दुलही सुहागरातको स्वागतमा ‘कोठा’ पस्नै लागेका रहेछन् ।
“होइन तिमी त पुरै हरायौ त हँ”? गुमाने ।
त्यस्तै भो यार आज, ‘सरि’, जवाफ दिएँ ।

“ए साँची, पोख्रेल अनतरेदाइले तिम्रो कथा ‘सुसाइड नोट’ प्रिन्ट गरेर अघि चिनो सँगै हालेका रहेछन् । पढेर सक्दै मात्र के थिएँ, सैतान हाँजिर भनेको यही हो । आफ्नै कथा पढेर म गदगद भएँ खुसीले । दिदी चुनमतिलाई पनि सुनाएँ । उनी झन् म भन्दा नि खुसी छिन् । म केही दिनपछि ओहायोको एउटा कार्यक्रममा जाँदैछु नि साँची, मेरो सफलताका कुराहरू अरूलाई भन्नु परो भनेर । कथा सबै माझ पुर्याएकोमा दिदी र मेरो तर्फबाट तिमीलाई धन्यवाद है ।”
“होइन, अब भोलि कुरा गर्नु पर्ला,” सर्माउँदै बेहुली ।
कथा लेख्नेबारे मलाई दिएको अनुमतिको लागि तिमी र दिदीलाई पनि विशेष धन्यवाद है त, मैँले भनेँ ।
“भइहाल्छ नि यार,” गुमाने ।

“तपाईँ फेरि यहाँ उहाँहरूलाई पो ‘डिसट्ब’ गर्दै बस्नु भा’ को?”, सानी ।
म अक्कमक्क परें, लाजले ।
“हिड्नू, मलाई पनि निन्द्राले पुरै च्यापेको छ, सुत्नुपर्छ अब” मेरो हात तान्दै सानीले कानमा भनिन् ।

……………
मार्च २, २०१५
नर्थ क्यारोलिना

(स्रोत : Bhutaneseliterature)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.