कथा : भगवान्

~डा. टीकाराम पोखरेल~Dr Tikaram Pokharel

‘भगवान् ! मलाई सन्तान देऊ।’ निमा र डेभिडले सन्तानेश्वर महादेवका अगाडि हात जोडेर भने। निमाकै मन राख्न भगवान्को शरणमा सन्तान माग्न आएको हो-डेभिड। नत्र अमेरिकामा जन्मिएर पश्चिमा संस्कृतिमा हुर्की-बढेको डेभिडलाई भगवान्ले सन्तान दिन्छन् भन्ने विश्वास हुने कुरै भएन। हिन्दू पूजा विधिको त्यति ज्ञान पनि नभएको डेभिडले निमाले जस्तो पूजा विधि सिकाई, त्यसै-त्यसै गर्‍यो।

‘अब हाम्रो सन्तान हुन्छ डेभिड।’ निमाले डेभिडलाई विश्वास दिलाई।

‘ओके निमा ! गड ब्लेस अस।’ डेभिडले अंग्रेजीमै भन्यो।

डेभिडसँग गान्धर्व विवाह भएको ६ वर्ष पुग्दा पनि सन्तान नजन्मिएपछि सन्तानेश्वर महादेवले सन्तान दिने आशामा डेभिडलाई पछाडि लगाएर अमेरिकाबाट नेपाल फर्किएकी हो-निमा। उसले सुनेकी थिई-‘कसैलाई सन्तान नभए सन्तानेश्वरको दर्शन गरेपछि सन्तान प्राप्त हुन्छ।’

त्यसो त अरुको बच्चा ‘एडप्ट’ गरेर धर्मपुत्र वा धर्मपुत्री राख्ने प्रस्ताव पनि नराखेको होइन डेभिडले, तर निमा किन मान्थी। निमाले भनी-‘तिम्रो वीर्यबाट मेरै कोखबाट जन्मिएको बच्चा चाहिन्छ मलाई।’

आफ्नै कोखबाट सन्तान जन्माउने निमाको जिद्दीका अगाडि डेभिडको केही चलेन। बच्चा जन्माइछोड्ने विश्वास बोकेर निमाले सन्तानेश्वर महादेवको दर्शन गर्न नेपालको गन्तव्य तय गरी। डेभिड पछिपछि लाग्यो। अमेरिकाबाट हिँडेको पाँच दिनमा सन्तानेश्वर महादेवको दर्शन गर्ने साइत जुर्‍यो-निमा दम्पतीलाई। दर्शन गरी फर्कंदा बाटैमा रात पर्‍यो। त्यो दिनको विश्रामका लागि नजिकैको रिसोर्टमा प्रवेश गरे निमा र डेभिड।

अनायास निमाका आँखा रिसोर्टको काउन्टरमा बसेका युवकमाथि परे। ‘ओ दोर्जे ! तिमी यहाँ ?’ एक्साइटेड हुँदै निमा कराई। युवक पनि अनायास निमालाई देखेर अक्क न बक्क भयो।

नेपालको दुर्गम गाउँमा जन्मिएकी भए पनि ६ वर्ष अमेरिका बसेर पश्चिमा संस्कृतिमा अभ्यस्त भैसकेकी थिई निमा। उसले दोर्जेलाई घप्लक्कै अँगालो हाली। पर्यटकीय क्षेत्रमा रिसोर्ट चलाएर बसेको दोर्जे पनि पश्चिमा संस्कृतिमा अलिअलि भए पनि अभ्यस्त भैसकेको थियो। निमाले नै पहिले अँगालो हालेपछि दोर्जे किन पछि हट्थ्यो। त्यसमाथि लोग्नेमान्छे न पर्‍यो। आलिंगनबद्ध भए दुवै। डेभिड हेरिरह्यो। एकैछिनमा अँगालोबाट छुटेर डेभिडतिर देखाउँदै निमाले भनी-‘हि इज माई हजवेन्ड मिस्टर डेभिड।’

‘म जान्दछु।’ दोर्जेले भन्यो।

दोर्जेले डेभिडतर्फ हात अगाडि बढायो। ‘नाइस टु मिट यु।’ दोर्जेले भन्यो।

‘नाइस टु मिट यु टु।’ डेभिडले प्रत्युत्तर फर्कायो।

केही समयको भलाकुसारीपछि खानपिन भयो। खानपपिनपछि डेभिडले भन्यो-‘आइ एम टायर्ड।’

‘यु गो टु स्लिप।’ निमाले भनी।

‘यस, आइ वान्ट गो टु स्लिप।’ डेभिड सुत्न गयो।

निमाले दोर्जेसँग गफको मुड बनाई। भनी-‘दोर्जे ! किन यति बेलासम्म विवाह नगरी बसेको ?’

‘खै, विवाह गर्नै मन लागेन।’

‘किन ?’

‘विवाह गर्नैपर्छ भन्ने छ र ?’

‘त्यो त छैन, तर मैले त ठानेको थिएँ तिमी त विवाह गरेर बच्चाको बाबु भएर बसेका हौला।’

‘विवाह नै गरेर पनि त तिमी बच्चाकी आमा भएकी रहेनछौ नि ?’ एक-अर्काबीच आत्मीयता र घोचपेच मिश्रति हाँसो चल्यो।

‘बुझ्यौ निमा, सानो छँदा म तिमीलाई खुब माया गर्थेँ। तर तिमी मतिर फर्केर पनि हेर्दैनथ्यौ।’ दोर्जेले विगत कोट्यायो।

‘मन पराएको कुरा तिमीले मलाई कहिल्यै भनेनौ त ?’

‘तिमी साथी भएर के गर्नु ? तरुनी भएपछि तिम्रो आँखा जहिले पनि खैरो छालातिर हुन्थ्यो। तिमी डेभिडतिर एकोहोरिएपछि त मैले तिमीलाई मन पराएको कुरा भन्ने मौकै पाइन। साँच्चै भन्ने हो भने त्यतिबेला तिमी मेरा लागि ‘आकाशको फल आँखा तरी मर’ भनेजत्तिकै भयौ।’ दोर्जेले भन्यो।

हुन पनि हो, सानो छँदा दोर्जे र निमा सँगै गाईबाख्रा चराउँथे। गाईबाख्रा जङ्गलमा पठाएर खुब खेल्थे। कहिले लुकामारी, कहिले डण्डीबियो। कहिले ककफाइट, कहिले कपर्दी। अबोध बालबालिकामा आत्मीयता त थियो तर बालसुलभ।

खेल्दाखेल्दै उनीहरूको उमेरले यौवनावस्थामा पाइला टेक्यो। जुन बेला निमा र दोर्जेको उमेरले युवावस्थामा पाइला टेक्यो त्यही बेला पिसकोरको स्वयंसेवकका रूपमा डेभिड गाउँमा आइपुग्यो। केही दिनको गाउँ बसाइमै हिउँजस्ती गोरी शेर्पाकी छोरीमाथि गोरे डेभिडको आँखा गाडियो। गोराको आफूमाथि आँखा परेको थाहा पाएर गोरी पनि दङ्ग परी। कहाँ अमेरिकन खैरे कहाँ गाउँको गैबर दोर्जे। निमाको आकर्षणको तराजु डेभिडतिर ढल्कियो। डेभिडको मनमा निमा बस्न थालेदेखि निमाको आँखाबाट दोर्जे बिलायो। दुई वर्षको नेपाल बसाइपछि निमालाई पनि आफूसँगै अमेरिका लग्यो डेभिडले, गान्धर्व विवाह गरी पत्नीका रूपमा। निमा अमेरिकन भई। दोर्जेचाहिँ गाउँको गोठालो नै रह्यो।

निमाको विवाह भएपछि दोर्जेलाई गाउँमा बस्न मन लागेन। विदेशतिर जाने चक्करमा केही महिना काठमाडौंतिर हल्लियो। पछि कतारसम्म पुग्यो तर उसलाई त्यहाँ पनि बस्न मन लागेन। ६ महिनाको कतार बसाइबाट फर्किएपछि दोर्जेले गाउँमै रिसोर्ट खोल्यो।

रात निकै बितिसकेको थियो। रिसोर्टमा काम गर्नेहरू पनि काम सकेर आ-आफ्नो बिस्तरामा पुगिसकेका थिए तर निमा र दोर्जेको गफले मध्यान्ह पनि पार

गरेको थिएन।

‘साँच्ची दोर्जे, तिमी मलाई मन पराउँथ्यौ र भनेको ?’ निमाले गफलाई अलि रोमान्टिक बनाउन खोजी।

‘कुनै शंका छ र ?’ दोर्जेले निमाको रोमान्टिक मुडमा घिउ थप्यो।

‘मेरो तिमीलाई मन पर्ने खास कुरा के थियो ? साँच्चै माया गरेको हो भने ल भन त ?’

‘मलाई तिम्रो कुरा होइन निमा, तिमी मन परेकी हौ, मात्र तिमी।’

आफ्नो प्रशंसाबाट निमा फुरुङ्ग भई अनि मुसुक्क हाँस्दै भनी-‘तैपनि मन पर्नुको पछाडि केही स्पेशल त हुन्छ नि होइन र ?’

‘मेरो त स्पेशल नै तिमी’ भन्दै दोर्जेले निमाको नाक तान्यो।

अलिकति लजाएझैँ र अलिकति लाडिएझैँ गर्दै निमाले थपी-‘तिमी पनि त कम राम्रा थिएनौ नि त्यतिबेला।’

‘त्यतिबेला मात्र, अहिले म राम्रो छैन

र ?’ दोर्जेले निमाको कुरालाई थप रोमाञ्चक मोडमा पुर्‍यायो।

‘अहिले त झनै ह्याण्डसम भएछौ, मिस्टर ह्याण्डसम ब्वाई।’ निमा लाडे पल्टी।

सुरुमा कुरा मात्र थियो तर जति लामो कुरा उति अचेतन मनतर्फको यात्रा। रात जति छिप्पिँदै गयो उति उनीहरूका कुरा पनि छिप्पिँदै गए। कुरा छिप्पिँदै जाँदा जवानी पनि छिप्पिँदै गयो। निमाले यौवनको आगो सल्काई। दोर्जेले त्यसमा घिउ थप्दै गयो। सामान्य गफबाट सुरु भएको चेतन मनको यात्रा रोमाञ्चित गफको सिँढी चढ्दै अचेतनको शिखरमा पुग्यो। आवेगसम्म पुग्यो गफ। प्रकृतिको नियम उत्तेजनामा बदलियो। उनीहरूले आफूबाहेक सबै बिर्सिए। मानांै यो संसारमा उनीहरू दुई जना मात्र छन्।

सबै सुतिसकेका थिए। सुनसान र चकमन्न रात। एक-अर्कामा समर्पित भए दुवै। एकैछिनमा निमा पूर्ण भई, दोर्जे रित्तो भयो। केही अघि मात्र दुवैको शरीरमा बलेको आगो शिथिल भयो। थकाइले भाते निद्राको अर्कै संसारमा पुगेको डेभिड निमा र दोर्जेको रोमान्टिक संसारबाट पूर्ण बेखबर थियो।

शिथिल भएकी निमा डेभिड सुतेको कोठामा गई। उसलाई डेभिडलाई स्पर्श गर्ने जाँगर चलेन। बेडमा छेउतिरै पल्टी निमा। फेरि दोर्जेलाई सम्झी। कता कता के-के पाएजस्तो अनुभव भयो निमालाई आज। जीवनको एउटा सन्तुष्टिजस्तो। पूर्ण भएकी निमालाई एकैछिनमा मीठो निद्रा पर्‍यो। यति मीठो निद्रा डेभिडसँगको ६ वर्षको वैवाहिक जीवनमा कहिल्यै परेको थिएन।

बिहान पनि ढिलासम्म सुती निमा। ऊ उठ्दा बाहिर झलमल्ल घाम लागिसकेको थियो। डेभिड पहिले नै उठेर हिँड्न तयार भैसकेको थियो। दोर्जेसँग बिदा भएर निमा र डेभिड काठमाडौंतिर लागे। केही दिनमा डेभिड र निमा अमेरिका उडे।

ठीक दस महिनापछि निमाले छोरो जन्माई। डाक्टरले ‘तिम्रो सन्तान हुँदैन’ भनिसकेको डेभिडलाई सन्तानेश्वर महादेवको दर्शनपछि आफूबाट छोरो जन्मिएकोमा खुसीको सीमा रहेन।

‘ओ ! माइ सन। यु आर लुक्स लाइक योर मदर।’ छोराको अनुहार हेर्दै डेभिडले भन्यो। अनि आफूलाई बाबु बनाइदिएकोमा निमालाई चुम्मा दिएर खुसी प्रकट गर्‍यो।

‘मेनी मेनी थ्याङ्स् सन्तानेश्वर महादेव !’ आफूलाई बच्चाको बाबु बनाइदिएकोमा डेभिडले सन्तानेश्वर महादेवलाई धन्यवाद दियो। निमाले भने प्रस्टै देखी, शिशुमा दोर्जेको प्रतिछाया थियो।

– चैत्र २, २०७०

(स्रोत : कान्तिपुर – नारी मासिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.