~नवराज पराजुली~
बुबा
नदीले बालुवा बुनेर बनाएको गुन्द्रीमा बसेर मैले
पानी बनेर बगेको समय नियालिरहँदा
जब नदीले अनौठो गरी स्वाँऽऽऽ गरेको सुन्छु
तब त्यो नदीको बगिरहेको पानीमाथि
म तपाईंको मधुरो छायाँ देख्छु ।
र, देख्छु
भेटेजति सबैथोक बगाउँदै आएको नदीले पनि
बगाउन सकिरहेको हुँदैन तपाईंको छायाँ ।
म पानीलाई अलि नियाल्छु
र, देख्छु :
भर्खरै आफैँले लगाएको हिलो आलीमा
तपाईं गलेर थचक्क बस्नुभएको छ,
आफ्नो जीउजस्तै बांगिएको कोदालीको बिँडमा
निथु्रक्क भिजेको चिउडो अड्याउनुभएको छ ।
म आँखा चिम्सा पार्दै
पानीलाई अझै नियालेर हेर्छु
र, देख्छु :
ढलेको धोत्रो रूखजस्तै तपाईंको सुक्खा मुख
आँऽऽऽ गरिरहेको छ
अनि पो झसंग हुन्छु म
नदीको त्यो अनौठो आवाज त
तपाईं पो निकालिरहनुभएको रहेछ ।
बुबा
तपाईंले आजसम्म चुहाएको
जम्मै पसिना जम्मा गरेर
एक्कैपटकमा छ्यापिदिने हो भने
सूर्य चिस्याउन पर्याप्त हुँदो हो ।
तपाईंको हातले पहाड उचाल्न सक्ने उमेरदेखि
त्यही पहाडबाट बग्दै आएको पानी
आफ्नो अञ्जुलीमा अड्याउनसम्म नसक्ने उमेरसम्म
तपार्इंको हत्केला
हलोको अनोसँग रगडिँदा रगडिँदा
तपाईंका हातका भाग्यरेखाहरू त
हलोको अनोमै छापिइसके होला है ?
म चाँडै आउँदैछु बुबा
तपार्इंको त्यो छातीमा निदाउन
जुन छातीको एक पलको निन्द्रा नै काफी छ
एक युगको सपना देख्नलाई
तपार्इंले हजारौँ डोका चिसो मल बोक्नुभयो
ताकि मैले सधैँ पेटमा तातो चामल बोक्न सकूँ ।
तपार्इंले सधैँ सखुवाका चिसा ठुटा फुटाउनुभयो
ताकि कहिल्यै चिसोले मेरा गाला नफुटाओस् ।
फुटेका देख्थेँ तपाईंका ओठ
बन्चरोको चोट नमिलेर
झिँजैझिँजा भएको दाउराजस्तै
तर, मेरा आँखाले तपाईंको ओठको मुस्कान फुटेको कहिल्यै देखेनन्
कहिल्यै खन्न भ्याउनुभो बुबा
लाखौँ डोका मुस्कान अटाउने त्यत्रो ठूलो मनखाडी ?
म चाँडै आउँदैछु बुबा
तपाईंका ती आँखा नियाल्न
जुन आँखाभित्रको ब्रह्माण्ड
अर्जुनले कृष्णको मुखभित्र पनि देखेका थिएनन् ।
सानोमा दिदी र मलाई
तपाईंले सिंगासिंगै पेन्सिल किनिदिन नसक्दा
काटेर एउटै पेन्सिल
तपाईंले
दिदीलाई सधँै मेट्ने नभएको तल्लो भाग
र, मलाई सधँै मेट्ने भएको माथिल्लो भाग दिनुहुन्थ्यो
तपाईंलाई त्यतिखेरै थाहा रैछ है बुबा
मैले भविष्यमा धेरै गल्तीहरू गर्नेछु भन्ने
तपाईंले एक्लै बोकेर सार्नु भएथ्यो रे
धमीराको देवलसँग मीत लगाएको हाम्रो घरलाई
दु:खनगरबाट
आशानगरसम्म
फुटेको थियो रे तपाईंको काँध
मैले लेख्ने ग्राफ कापीका धर्का फुटेझैँ ।
कहाँबाट ल्याउनुहुन्थ्यो बुबा
सबैको दु:ख उचाल्ने त्यत्रो बल ?
तपार्इंले चेप्ने
बलवान छाप खैनीबाट ?
बुबा
म सानो हुँदा
मेरो लागि
बिचमा बदाम भएको बिस्कुट र एउटा रातो बरफ किन्न
तपाईंसँग पैसा नहुँदा
तपाईंले आफ्नो भित्री गोजीको गोजीपात्रोभित्र
दूबो राख्नुभएको
एक रुपियाँको नयाँ नोट पनि बेच्नुभएको थियो ।
कहाँबाट आयो बुबा तपाईंसँग
त्यागको त्यत्रो ठूलो छाती ?
कतै तपाईं दधीचि ऋषिको पुन:जन्म त होइन ?
म चाँडै आउँदैछु बुबा
तपाईंलाई ‘बुबा’ शीर्षकको यो कविता सुनाउन
किनभने, बुबा आाफैँमा जीवनको पहिलो कविता हो ।
प्रकाशित: कार्तिक ८, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )