~किशोर सुब्बा लिम्बू~
बिहानको घामसँगै
एक बटुको जाँड
एउटा लाम्पाते चुरूपको जोशमा
ढुंगा ,माटो, गिट्टि ,बालुवा र रडहरूसँगै
जीवनको गीत साँट्दै
कहिले च्यापिएको औंला
कैले पिल्सिएको ढाड
अनि काटिएका घाउबाट
तप्प चुहिएका रगतलाई
बालुवाको बुजो लगाउदै
कहिले मुतको औषधिकै भरमा
बलजफ्ति निको हुन्छन् ।
एकसरो कमिजको जीर्णता
ठाउँ-ठाउँमा बाँकी रहेको
स्टकोटको धागोले पनि धानेकै छ
अलिकति भूसा ढाल्नेको पात
र
एक थान झुलो चक्मक
लाग्छ युद्दमा सिपाहीको गोलीगठ्ठा भन्दा बढी माने राख्छ ।
माईला दाई
बाख्रा हुल्ने बेलासम्मको दिनचर्यालाई
बाटैको भुन्टिको भट्टि पसलमा बिट मार्छ ।
भुन्टिको खाता बाक्लीदै जाँदा कम्ती हम्मे पर्दैन
जाबो एकै बोतललाई पनि
उसै बर घुम्ती र खोल्सीमा एक बल्ढ्याङ त रीत नै हो
टोपी र चप्पल हातमा लिएर राती घर पुग्दा
माईली भाउजु बिरलै जागा हुन्छिन्
गुन्द्रुकको झोलसँगै अभाव र खाँचोको प्रतिवेदन लिएर
झोंकैझोंकमा नखाएरै सुत्छन माईलादाई
नगरेको पनि छैन
बिरामी हुने पालो छैन
भुरालाई आजसम्म उज्यालोमा एक नजर हेर्न भ्याएका पनि छैनन् ।
बर्षैभरि घर बनाउँछन् बुबुरो
आफ्नो ओतको भर छैन ।
पोहोर बाढी आयो उसैको बगायो
हुरी आयो उसैको उडायो
खडेरीमा आग्लागीले उसैको खरानी बनायो
अस्ती भुकम्प आयो फेरी उसैको लडायो….
अरूलाई महलमा बसाउँदै आफै बेघर छन् माईला दाई ।।
(स्रोत : Hulaki)