~भानु अर्याल~
बाँच्नै नजानेर पो हो कि
वा
सासलाई जाँच्न नजानेरै हो ?
पुरानो चप्पल जस्तो
आधा औंलातिरबाट,
र आधा कुरकुच्चाले धकेलेको
अक्करे ठाउँमा
एउटा मुटुजस्तो छाप छाडेर ….
जिन्दगी हराउँदैछ…… !
न त मनको घुयँत्रोले दिमाग
घनचक्कराउँन नै सकियो!
न गिदीले कोरेको
षडयन्त्रका राजमार्ग र
जंगे गल्छेडोले
मुटु फुटाउन नै सकियो !
साला जिन्दगी…….. पचासको च्यातिएको नोटलाई
पानीटेपले टालेर
किचकिच गरेर चलाए जस्तो भो !
बिक्रम भन्छन् जिन्दगीले तिमीलाई
‘गमला साईजको स्वर्ग दिन्छ’।
भुपि भन्छन् –
समयको रानीपोखरीमा
बल्छि हानेर उँघेको
बुढो घन्टाघर जस्तो,
हरिभक्त भन्छन् –
‘यो जिन्दगी खै के जिन्दगी’ ?
अनुप सोध्छन् –
‘कसको पैतालाको डोब यस धर्तीमा
सबैभन्दा लामो समय सम्म बाँचिरहन्छ ?’
ऊफ !!!
समयले सुनाएको
गरुढ-पुराणे मजाक जस्तो
जिन्दगी यो टुक्रा टुक्रामा किन छ?
म बाँचिरहेको कि
सास मात्र फेरेको ?
कि बाँच्न
मर्यादा पुरुसोत्तम ‘राम’
वा
‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन !’
भन्दै
कृष्णले गफ द्या जस्तो
फलको आस नगरीकन
एक्कासौं शताब्दीमा पनि
फेरि कमैया बस्ने ?
तर,
मैले हेरेका जीवनहरु
र, जिन्दगीहरुले हेरेको
‘म’ को परिभाषा भन्दा
भिन्नै
‘जिन्दगी’
हत्केलाबाट फुस्किएर
नाडीमा पुग्न लागेको
‘ल्यासेपाउँ’ को लेदो
मुन्टो बटारेर
मैयाँहरुले चाटे जसरी
चिप्लन्छ कि भनेरै नि बाँचियो ।
सुका-मोहर खोजेर हिडेको बच्चाले
हरियो नोट पाउँदा
ट्वाँ परेको जस्तो
छक्क परेर नि बाँचियो ।
हो यो जिन्दगी….
गँजेडीले जँड्यालाई
गाली गरेको हेर्दै बाँचियो ।
‘भाड् मे जाए दुनीयाँ’
केहि नभए नि
घरबुनाको पेटेभोटो जस्तो
मज्जाले अंगालेर बाँचियो ।
‘अम्बर’ गर्जेजस्तै
‘गहिरो कुरो नबुझे पनि
जिन्दगी जिन्दावाद !’
(स्रोत : Hulaki)