कथा : लभ इन द टाइम्स अफ अर्थक्वेक

~सुबिन भट्टराई~Subin Bhattarai

त्यो चिसो मध्याह्नमा पनि म एउटा मनतातो आराम खोजिरहेको थिएँ। ओछ्यानमा पुर्लुक्कै पल्टिएर। असान्दर्भिक सपनाहरूले निद्रालाई हलुका किसिमले चिमोटिरहेको थियो। चेतना र सपनाको संघारमा स्थितिको पार्थक्य छुट्याउने हैसियत मसँग थिएन। स्थिर सपनामा पनि कम्पन छुट्न थाल्यो। सपनाबाट चलायमान हुन थाल्यो वास्तविकता। सुतेको खाट बेस्सरी हल्लन थाल्यो। डरले सातोपुत्लो उड्यो। जुरुक्क उठेँ।

मस्तिष्कले केही ठम्याउनै सकेन। कोठाका प्रत्येक भित्ताहरू हल्लँदै थिए। भित्ता हल्लिएर किताबको र्या कबाट एकएक किताब फ्यालिरहेको थियो। हेर्दाहेर्दै त्यो कम्पनको संघर्षमा फूलदानी एक अँगालो फूललाई आफैंसँग लिएर फुर्लुक्क ढल्यो। खाटको दायाँपट्टि राखिएको एक्वेरियम गर्लम्मै भुइँमा क्षणभरमै झर्याँमझुरुम्म भयो। माछाहरू पानीको संसारबाट बाहिरिए। टेबल, कुर्सी सबैथोक हल्लन थाले। एउटा कुर्सी त भुइँमै लड्यो पनि। म पनि बाहिरिसकेको थिएँ, स्थिर सपनाहरूबाट। कुदेर ढोकाको मुन्तिर आड लिन पुगेँ। भुइँ ढलपल–ढलपल गर्दै थियो। हलुका रिंगटाजस्तो लाग्न थाल्यो। भुइँचालो पनि आवाज निकालेर कराइरहेको प्रतीत भो। घान्द्राङघुन्द्रुङका आवाजहरू थिए। बाहिरतिरबाट मान्छेहरूको कोकोहोलो आवाजको एकमुष्ट प्रतिध्वनिले डर र कम्पनको घनत्वलाई थप बढाइदियो। घर पिङजस्तै हल्लिरहेको थियो। मन त रोटेपिङ नै पो भइदियो।

पहाडमा भएका बाआमाको याद त्यति नै बेला आयो। आफैं बाँच्ने टुंगो छैन, अरूको वास्ता राख्नु दोस्रो प्राथमिकता। सायद अब बाँच्ने कुनै गुन्जायस छैन। साहस भन्ने चिजमा चिरा पर्योक। हिम्मत नमज्जाले चर्कियो। र, सायद चर्किए होलान्, घरका वालहरू। खस्न थाले होलान्, भित्ताबाट इँटाहरू। खुल्ला आँखाले परिस्थितिको सामना गर्ने हिम्मत पनि रहेन। बन्द आँखाले डरमुक्त माहोल सिर्जना गर्छ— यस्तो निर्क्यौल आफ्नै मनले गर्यो । यसर्थ आँखाले मनको निर्देशन पालना गर्योे। तर अरूलाई निर्देशन दिने मन आफू भने अशान्त, बेचैनी र छट्पटीमा त्रसित हुन थाल्यो।

केही बेरमा थामियो। दौडेर घरबाहिर गएँ। घरबाहिर ठूलो चौर थियो। एकै मिनेटमा कत्ति हो मान्छे भेला भएका। आकाशमा हुलका हुल चराहरू कराउँदै उडिरहेका। भुइँचालालेे आकाशमा उड्नेलाई समेत छुँदो रहेछ। सायद रूख र आकाशको साइनो भएर। बिजुलीका तारहरू कस्सिएर हल्लिरहेका थिए। केही महिला र केटाकेटीहरू रोइरहेका थिए। निस्कनासाथ घरहरू हेरेँ। एउटा घर झर्याहमझुरुम्म! बाँकीका पर्खाल चर्किन भ्याइसकेका। धुलोको एउटा विशाल मुस्लो आकाशतर्फ उडिरहेको थियो। एक छिनअगाडिसम्मको घर हेर्दाहेर्दै इँटाका टुक्रा, बालुवाको थुप्रो र टुटेफुटेका सामानहरूमा परिणत भो। चारैतिर त्राही नै त्राहीको माहोल। मुटुको गति खाली हाइवेमा गुडेको गाडीजस्तै रफ्तार लिएर दौडियो। मुख च्यापच्याप सुक्यो। केही घरका तलाबाट कालो ट्यांकी पानीको धारोसहित फुत्त हाम फाल्न भ्याइसकेका थिए। एउटा तीनतले घरबाट गमला झरेर बाटो हिँडिरहेको बटुवाको टाउकोमा लागेछ। एकतिर ढलेको त्यो व्यक्तिको टाउकोबाट रगतको धारो बगिरहेको थियो। गमलाभन्दा अगाडि दुई युवक त्यहाँबाट हामफालेर खुट्टटा भाँच्न पनि भ्याइसकेका रहेछन्। सबै मान्छे गुरुम्म एकै ठाउँमा, त्यही विशाल चौरमा एकै पोको परेका बसेका थियौं।

‘के हुन आँट्यो नि यो?’ रुवाबासी कायमै छ।

‘हजुरआमा हुनुहुन्थ्यो घरमा,’ एक जना ठिटोलाई आत्तिन फुर्सद मिलेछ।

‘मेरो नानी…’ अघिदेखि एक जना दिदी रुँदै थिइन्।

‘फेला पर्छ, नआत्तिनू!’ अर्की महिला उनलाई ढाडस दिँदै थिइन्।

सबै मान्छे आफन्तको खोजी गर्न थाले। चौरमा आउनासाथ केही ढुक्क भएका देखिन्थे। केही आत्तिएर खोजी प्रयास जारी राख्न थाले। भुइँचालो जाने काम फेरिफेरि पनि भई नै रह्यो। प्रत्येकचोटिको कम्पन मुटुको एक्सिलेटर बनेर आउँथ्यो।

कम्पनहरू छुटिरहे, बसपार्कबाट चल्तीको रुटको गाडी छुटेझैं। छिनछिनमा। कोठाबाट मोबाइल ल्याउन बिर्सिएँ। गाउँ सम्झेर मन कटक्क खायो। पैंतालीसको भूकम्पले किचेर हजुरबुवा र हजुरआमा मरेको किस्सा सुनेको थिएँ। डर झनै आकासियो। कोठाभित्र गएर मोबाइल लिएर आउने हिम्मत पलाइसकेको थिएन। घर एम्बुसजस्तै लाग्यो। चारैतिर बम र बारुद बिछ्याइएझैं महसुस भइरहेको थियो। वरपर सबै जना मोबाइलमा बिजी छन्। तर फोन लागेन भन्ने नैराश्यका साथ।

लडेको घरबाट मान्छे निकाल्न आए सिपाहीहरू। चार–पाँचवटा लास र दुई तीन जना घाइते निकालेर गए। त्रासले सबैलाई थप बेचैन बनायो।

एक जना मान्छेसँग फोन मागेर गरेँ। एकपटक गरेँ। पटकपटक गरेँ। उसै पनि नलाग्ने गाउँको फोन। त्यस्तो आपत परेको बेला झन् किन लाग्थ्यो? जतिजति फोन लाग्दैनथ्यो, उतिउति बेचैनीले अँठ्याउँथ्यो। आमाबुवाबाट मात्र ‘ठिक छौं’ भन्ने खबर सुन्न लालायित रहिरहेँ। अघिपछि कहिल्यै नसम्झने भगवान्लाई त्यो बेला साख्यै मानेर सम्झेँ। बल्लतल्ल फोन लाग्यो।

खबर आयो— दुवै जना ठिक हुनुहुन्छ। तर घरको छानो लडेछ। घरको छानो लडेको खबरले कत्ति पनि छोएन। किनकि मेरो घर भनेकै मेरा आमाबुवा हुन् र मेरो शिरमा पर्ने उहाँहरूको हात मेरो लागि छानो।

मर्ने मरे। लड्ने घर लडे। अब बाँचेकाहरूका समस्या सुरु भए। घन्टांै बितेपछि बच्चाहरू भोकले रुन कराउन थाले। दिन जाडो न जाडो भएको थियो। शरीरले न्यानो लुगा खोज्यो। साथै पिसाबले च्यापेर हुरुक्क बनायो। चौरीमा एउटा कुनो सिर्जना गरेर त्यसको गोप्य विसर्जन गर्ने काम भने बडो सफलतापूर्वक गरियो। फलफूल बेच्नेहरू, मकै पोल्नेहरू पनि एक छिनपछि जुर्मुराउन थाले। केटाकेटीको मुख अभिभावकले टाले।

तर रात? रातिसम्म पनि कम्पनहरूले विश्राम गर्न नखोजेकाले घरभित्र पस्ने आँट कसैले गरेनन्। समाचारमा पनि घरभित्र नपस्ने सल्लाह दिन्छन्। सबैले सल्लाह गरेर बाहिरै बस्ने निधो गर्यौंस। एक जनाले पालको व्यवस्था गरे। अर्काले खानेकुराका लागि जोखिम मोलेर भए पनि एक छिन पसल खोल्ने निधो गरिदिए। सुत्नलाई पनि सबैले जोखिम मोलेर ओढ्ने–ओछ्याउने ल्याउने निधो गरे।

हेर्दाहेर्दै एकै छिनमा खडा भयो पालमुनि हाम्रो एउटा घर।

करिब तीस बाई तीसको ठाउँ। वरपरको गरेर चार घरका दस परिवार खाँदखुँद गरेर भए पनि अटाउने भयौं। चाउचाउ, बिस्कुट अनि कोल्ड ड्रिंक्सको डिनर।

घरबाट कहिल्यै बाहिरफेर निस्कने मेरो बानी थिएन। न टोलमा मलाई धेरैले चिन्थे, न म टोलबासीलाई राम्ररी चिन्थे। बाटोमा कत्तिपटक देखिरहेका मान्छेको घर त्यति नै बेला चिनियो। चिनेर पनि नचिनेजस्ता व्यवहार गर्नेहरूसँग बोलियो।

म पनि त्यही टोलको सदस्य हुँ भन्ने थाहा पाएर केही छिमेकीले मलाई शिरदेखि पाउसम्म घुरेर हेरे। कतिसम्म असामाजिक भइसकेको रहेछु म।

एउटी केटी थिइन्, जो कतै बाहिर जाँदा वा घर आउँदा बेलाबेलामा बाटोमा भेटिन्थिन्। राम्री लाग्थिन्। हेराहेर हुन्थ्यो। बोलचाल नभए तापनि।

के निहुँले बोलूँझैं भइरहन्थ्यो सधैं।

राति पालमुनि सुत्ने बेलामा छेउमा तिनै केटी पो परिन्। के निहुँले बोलुँ भन्ने द्विविधा भइरहेको बेला मेरै छेउमा ओछ्यान लगाउन आइपुगिन्। उनको रातो कलरको तकिया र मेरो नीलो कलको तकिया जोडिँदै गर्दा हाम्रो हेराहेर भो।
ऊ मुसुक्क मुस्कुराई। म पनि नमुस्कुराई बस्न सकिनँ।

बोल्नलाई शब्द केही फुरेन। पल्लो घरको घरबेटी अंकल सबैलाई प्लास्टिकको गिलासमा स्प्राइट बाँड्दै आउनुभो। तिनले दुई वटा गिलास समाइन्। र, फेरि मुस्कुराउँदै एउटा गिलास मेरो हातमा थमाइन्।

‘तपाईंको घर कुन हो?’ उनैले सोधिन् पहिले।

मैले आफ्नो घरतिर चोरी औंला लैजाँदै उनलाई पनि सोही प्रश्न सोधेँ।

‘वल्लोघर–पल्लोघर भएर पनि कस्तो थाहा नभएको है?’ मैले बोल्ने कुरालाई निरन्तरता दिँदै भने।

कुरा गर्दै जाँदा थाहा भयो तिनी त्यहाँ डेरा सरेको भर्खरै दुई महिनामात्र भएको रहेछ। म दुई वर्षदेखि बहालमा बसेको भए तापनि आफ्नो घरको घरबेटी र वरपरको दुई–तीन घरको घरबेटीबाहेक कोही चिन्दिनथेँ।

उनी भर्खर बिबिएस थर्ड इयरमा पढ्न थालेकी थिइन्। नेहा तिनको नाउँ। धरान घर बताउँथिन्। काठमाडौंमा मजस्तै उनी पनि एक्ली रहछिन्। उनको रुम पार्टनर केही दिनका लागि घर गएको रे। बाटुलो अनुहार थियो। नेप्टो नाक। अनि ठूल्ठुला आँखा।

राति जोडिएको सिरानीमा कानेखुसी शैलीमा हामीले एकापसका जानकारीहरू खुब लियौं। प्रत्येक कम्पन आउँदा पालमुनि लम्पसार परेका सबै जना जुरुक्क उठ्थे र एक–आपसलाई समाउँथे। परिवार हुनेहरू त सँगै थिए तर परिवार नहुनेहरूको त आड कोही थिएन। नेहा मेरो आड बनिन्। जुरुक्कै उठेर हामी एक–आपसलाई समाउने भइसकेका थियौं।

चौरमा हाम्रोजस्तै आठ–दस वटा साना–ठूला पाल लागिसकेका थिए। सयौंकोे संख्यामा मान्छे थिए, त्यहाँ। हाम्रो पालमा भने बीच–पच्चीस जनाको संख्यामा मान्छे हुँदा हुन्। दुइटा चहकिलो इन्भर्टरको बत्ती ल्याएर कसैले फिट गरिदिइसकेको थियो। घरि रेलभित्रको माहोलजस्तै लाग्थ्यो। घरि देवालीको अघिल्लो रातको झझल्को आउँथ्यो। फरक यत्ति थियो त्यहाँ आतंक प्रचुर मात्रामा थियो।

मसिना केटाकेटीहरू घरै जाने भनेर निहुँ खोज्दै रोइरहेका थिए। तिनका मातापिता तिनीहरूलाई फुल्याइरहेका। केही महिलाहरू आफ्ना सन्तानलाई स्तनपान गराउन व्यस्त थिए। रात धेरै बितेको पनि थिएन। तर अब सुत्नुबाहेक केही काम थिएन पनि। एम्बुलेन्सहरू राति पनि ओहोरदोहोर गरिरहेको आवाज आउँथ्यो। पुलिस र आर्मीहरूको गस्ती पनि भइरहेको थियो।

केटाकेटी त आमाबुवाको आडमा निदाए। ठूला मान्छे आतंकले गर्दा निदाउनै सकेनन्। सबै रेडियो सुनिरहेका। घुइँयघुइँय गर्दै जमिन हल्लिरह्यो। प्रत्येकपल्ट जमिन हल्लिँदा घरमा फोन लाउँथेँ। सबै ठिक छ भन्ने खबर आउँदा ढुक्क हुन्थेँ।

भोलिपल्ट पनि उसैगरी आइरहे पराकम्पनहरू। दिउँसोको अर्को ठूलो पराकम्पनले घर पसिहाल्ने आशालाई थुप्रै घन्टा पर ठेल्यो। लोग्नेमान्छेहरू तास खेल्न थाले। केटाकेटीहरूले पनि पचाइसक्न थाले। बिस्तारै निद्रा खाना र मनको शान्तिको तालमेल नमिलेकाले शरीर कमजोर हुँदै जान थाल्यो।

मैले पसलबाट जे किनेर ल्याए पनि नेहासँग बाँडेर खान थालेँ। उसले पनि मलाई नदिई केही खाइनँ। सबैका परिवार थिए। पकाएर, बाँडेर खान्थे। मैले पनि बाँडेर खाने कोही भेटेँ। काठमाडौंको बसाइमा एक्लै खाएर म कहिल्यै तृप्त हुन सकिनँ। तर बाँडेर खाएको थोरै कुराले पनि पटकपटक तृप्त महसुस गरिरहेँ। गाउँमा एउटा घर लडेको थियो, त्यसको क्षतिपूर्तिका लागि सहरमा अर्को घर भेटियो सायद।

अर्को रात पानी पर्यो । पालले जम्मै थेगेन। नेहा र म दुवै भिज्यौं। घर छिरेर छाता र बर्सादी ल्याएर ओढ्न थाले सबै जना। मेरो केही थिएन। त्यही बेला नेहाले पनि आफ्नो कोठा छिरेर छाता ल्याई मलाई पनि ओढाई। अबेर रातसम्म पालमुनि कोही सुतेनन्। सबै उठेर छाता ओढेर बसे। बीचको केही सुरक्षित भागमा महिला र केटाकेटीलाई राखियो। पानीले झन् सबैलाई एकजुट बनाइदियो। अरूका घरका केटाकेटी भनेर कसैले भनेनन्।

उसै पनि त्यस्तो बिजोगमा मान्छेहरू अनेक हल्ला ल्याउँछन्। आखिर अधिकांश चिज बन्द भएको बेलामा सबभन्दा धेरै चल्ने चिज हल्ला नै हुँदो रहेछ।

‘अर्को अझ ठूलो भूकम्प फेरि आउँदै छ रे। एघार रेक्टरको। रातको एघार बजे।’ त्यो सुनेर सबै जनाको अनुहारमा बर्खे बादल घनीभूत भयो। मपनि एकदमै मलिन भएँ। एउटा डरले भर्खरै छाड्ने क्रममा थियो। अर्को डरले अनुहार कच्याककुचुक बनायो। बाँच्ने कत्रो इच्छा रहेछ मभित्र, त्यो त्यति नै बेला धेरै थाहा भयो। जिन्दगीको उपेक्षा गरेको चाल पाएँ। जिन्दगीको महŒव मर्ने बेलामा ज्यादा हुँदो रहेछ। हरेक दिन साँचेर पर ठेलेका अधुरा रहरहरू सम्भि्कएँ। अधुरा सपनाहरू सम्भि्कएँ। आफूभित्रको भय त आफ्नै ठाउँमा थियो, अरू मान्छेको भय सरेर आफूभित्र आई ठूलो बन्नलाई कत्ति पनि समय लागेन। सबैका अनुहारले भनिरहेझैं लाग्यो, ‘अब यो जिन्दगीबाट बिदा है!’ त्यहाँ उपस्थित एकएक मान्छेको माया लागेर आयो। सबैलाई गएर गम्लङ्ङ अँगालो हालेर रुन मन लाग्यो।

वास्तवमा बाँच्नुको औचित्य के हो? पहिलोपल्ट त्यसको गहिरो अनुभूति भो।

मेरो अनुहारको विरुपता सायद नेहाका सुन्दर आँखाले रुचाएनन्। उनले मलाई आफूतिर तान्दै भनिन्, ‘अबुई, किन त्यस्तो अनुहार बनाएको?’

मलाई उसको प्रश्नको जवाफ ठिकठाक दिन मन लागेन। उतिर हेर्दा पनि राम्ररी हेरिनँ। अब उसै पनि आजै मर्नु नै त छ भने यो क्षणिक सम्बन्ध कोर्नुको के अर्थ? तास खेल्नेहरू खेलै रोकेर दिक्क मान्न लागेका थिए। सबै आ–आफ्ना परिवार लिएर बसेका। दुई इन्च पनि ठाउँ नसरीकन। कत्रो निराशा? सबैले सबैलाई प्रेम गरिरहेका। अघिपछि बाझाबाझ गर्ने छिमेकीहरू पनि एक–अर्कालाई निरीह भएर हेराहेर गरिरहेका थिए।

नेहाले मैले उसलाई बेवास्ता गरेको चाल पाएर होला फेरि केही बोल्न थाली, ‘अर्को महाभूकम्प आउँछ भनेर डराएको?’

अब भने अलिकति लाज लागेर आयो। एउटी केटीले समेत मलाई कातँर भन्ने आरोप लगाएको देखेर। त्यस्तो बेलामा पनि पुरुषत्व भन्ने चिजको बीउ रहेको हुँदो रहेछ।

मैले नेहातिर अनुहारको भावभंगीमा लेशमात्र पनि परिवर्तन ल्याउन नसकी हेरेर झूट बोलेँ, ‘त्यस्तो केही होइन।’

‘मान्छेहरू कत्ति मूर्ख हुन्छन् हगि?’ नेहाले सायद मेरो झूट पक्री क्यार निरन्तरता दिई, ‘संसार कसैको अनुमान र भविष्यवाणीमा चल्ने भए, आजसम्म सयौं–हजारौंपल्ट यसको अस्तित्वमाथि धावा बोल्नेहरू फेला परिसके। तर कसैले पनि यसको अस्तित्वको रूपरेखा कोर्न सकेको छैन। म यहाँ मान्छेहरू आत्तिएको देखेर चकित छु। डर मान्छेको कमजोरी हो। पहिला घाउ दिने अनि मल्हम बेच्नेहरूको षड्यन्त्रधरि बु‰दैनांै हामी। कमजोर मान्छेहरूको संसारमा एउटा अलिक कम कमजोरले खडा गरेको सत्तामा हामी कत्ति नमज्जाले पिल्सिरहेका हुन्छौं।’

उसको निडर र आंशिक व्यंग्यात्मक भनाइले म झस्किएँ। ऊ भन्दो थिई, ‘तपाईंसँग म बाजी ठोक्छु, आज एघार बजेको डर त टरेर जान्छ जान्छ, भोलि बिहान हुनासाथ म एक्लीले नै यो हल्ला चलाइदिएर सबैलाई त्रसित बनाइदिन सक्छु कि फेरि दिउँसो १२ बजे अर्को खतरनाक भुइँचालो जाँदै छ भनेर। र सप्पै जना त्यो पत्याउन विवश हुन्छन् पनि। किनकि डराउने मान्छे भित्रभित्रै नजानिँदो पारामा डराउने बहानामात्र खोजिरहेको हुन्छ।’

मलाई सोध्न मन लागेको थियो, ‘तिमी किन यति निडर नेहा? के तिमीलाई मृत्युसँग डर लाग्दैन?’

मनमनै सोधेको प्रश्नको उसले जवाफै दिइ। कसरी थाहा पाई भनेर झस्किएँ पनि। भनी, ‘एक दिन त मरिन्छ नै। हामी सबै एकदमै भाग्यमानी मान्छे पो हौं त। यत्तिका दिनसम्म नमरेर बाँचेका मान्छे। यो भाग्यको कदर गरौं न। मर्नु ठूलो पीडा पनि होइन। मरेपछि त सबै सकिन्छ। एउटा स्थायी निद्रा। त्यसको पनि छुट्टै मजा होला। तर बाँचुन्जेल आफैंलाई दिने सास्तीचाहिँ बरु मृत्युभन्दा पनि भयानक हो। बेवकुफी हो।’

मैले भनेँ, ‘आजको दशा टर्योर भने म तिमीलाई गुरु बनाउँछु।’

‘गुरुदक्षिणा मागेँ भने?’ हाँस्दै उसले भनी।

‘जे माग्छ्यौ,’ मैले भनेँ।

‘महँगो पर्ला!’ उसले भनी।

‘महँगो अहिले यो बितिरहेको पल छ। योभन्दा महँगो केही हुन सक्ला?’

‘ठिक छ।’

अलिकति राहत उसका कुराले मैले पाएकै हो। त्यस रात मैले आफ्नो टाउको निलो कलरको तकियाबाट उनकै रातो कलरमा लगेँ। हाम्रा टाउका जोडिए। के हाम्रो मन पनि जोडिएको हो? आफैंलाई सोध्नु थियो। तर मनमा बाँच्ने जीजिविषाबाहेक केही त थिएन। प्रेम गर्नु लक्जरीजस्तै थियो, कमसेकम बितिरहेको त्यस क्षणमा।

एउटा अर्को कुराले पनि हलुका राहत मिलिरहेको थियो। मरे पनि कमसेकम सँगै छेउमा, कोही सँगै मरिदिने मान्छे त छ। मान्छे कत्ति स्वार्थी हुन्छ हगि! उसलाई मर्ने बेलामा पनि कोही साथी चाहिन्छ।

त्यस रात हामीले आ–आफ्ना शरीर मज्जैले टाँसेर सुत्यौं। पानी परे तापनि उसको शरीरको तातो मसम्म आइरहेको थियो। र, आइरहेको थियो ऊबाट एउटा बलियो आड, भरोसा।

प्रत्येक पन्ध्र मिनेटमा मोबाइल खोलेर हेर्थें। एघार बजेको दशा टर्ला कि भनेर। तर एउटा एउटा पन्ध्र मिनेट बित्नलाई मानौं घन्टौ लागिरहेछ। मेरो छटपटीलाई बुझेर नेहा मलाई अनेक जोकहरू सुनाउँथी। अनेक कुरा भन्थी। वरपरका मान्छेहरू पनि उस्तै बेचैन।
अन्ततः एघारलाई पनि बज्नु थियो बज्यो। मन ढक्क फुल्यो। छाती दह्रो बनाउने कोसिस गरेँ। नेहाको हात समाउन पुगेछु। उसले पनि मेरो हातलाई दह्रो चालले समातेर आड दिई।

तर केही भएन। घडीले एघार दस बजाइसकेपछि मन ढुक्क भयो। आफू डराएकोमा आफैंसँग लाज लाग्यो। बाह्र कटेपछि चाहिँ भुसुक्क निदाएँ।

भोलिपल्ट बिहान मभन्दा अगाडि नेहा उठिसकिछ।

मेरा आँखा खुल्नासाथ उसैलाई अगाडि पाएँ। उसले मुस्कुराउँदै भनी, ‘मान्ने होइन त अब गुरु मलाई।’

आङ तानिसकेर मैले भनेँ, ‘माग गुरुदक्षिणा।’

उसले भनी, ‘अब आजबाट सकियो भुइँचालोको प्रभाव। मसँग हिँड्नुपर्छ।’

‘कहाँ?’ आश्चर्यभावले सोधेँ।

‘हामी यहाँ सबै सुरक्षित छौं। खाएकै छौं। बाँचेकै छौं। देशमा धेरै ठाउँमा केकस्तो असर परिरहेको छ, थाहा पाई नै रहेका छौंं। जेजति जसरी सकिन्छ आफ्नो तर्फबाट गर्नुपर्छ। छ आँट?’

‘जो आज्ञा गुरुमाता,’ मैले जिस्किँदै भने। ममा ठूलो हिम्मत पलाइसकेको थियो। रातिको त्यत्रो त्रासबाट मुक्त भइसकेको थिएँ। यो जिन्दगी कसैले एक मौका दिएर बाँचिरहेको प्रतीत भइरहेको थियो। नाफाको जिन्दगी।

टोलका अरू मान्छेहरू पालमुनि नै बस्ने भनिरहेका बेला नेहा र म जुरुक्क उठ्यौं। कोठा छिरेर ब्यागप्याक गर्नुछ। थाहा छैन उसले मलाई कहाँकहाँ लैजान्छे। जहाँ लैजान्छे म उसैको भइसके। जसले जीवनलाई प्रेम गर्न सिकाई, उसलाई म झनै प्रेम गर्ने भएँ।
मलाई एकपटक उसका अगाडि गएर सोध्न मन लागेको छ, ‘के सधैंभरि मलाई आफ्नो साथमा लैजान्छ्यौ नेहा?’

(स्रोत : NagarikNews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.