~माधव बस्नेत~
विद्रोहका आधार र कारण के–के हुन् ? यसको स्पष्ट बुँदागत जवाफ पाउन असम्भव छ । स्थान, समय र परिस्थिति अनुसार विद्रोहले भिन्न–भिन्न रूप लिन्छन् । तर, जहाँ गरिबी, अशिक्षा, विभेद र दमनको स्तर मार्मिक हुन्छ, त्यहाँ उग्र नाराहरूको खपत सहज हुन्छ ।
यस्तै पृष्ठभूमिलाई आधार बनाएर पत्रकार कुसुम भट्टराईद्वारा लिखित उपन्यास धक्कामा विद्रोहको आधारभूमि कसरी तयार पारिन्छ/हुन्छ? पहुँचमा हुनेहरूले निर्धालाई कसरी अपमान एवं दमन गर्छन् र आफ्नो आयु आफैँ छोट्याउँछन् ? एनजीओ/आईएनजीओ विकासे नाराका जगमा निमुखाहरूलाई कसरी गुमराहमा पारेर लुट्छन्? आफूलाई क्रान्तिकारी र परिवर्तनकामी जिकिर गर्नेहरू कुन तह र तरिकाबाट भ्रष्ट बन्दै जान्छन् र केही समयअघिसम्म आफैँले पवित्र ठानिरहेको क्रान्तिलाई रछ्यानमा लत्याउँछन् भन्ने पीडादायी यथार्थ धक्कामा समेटिएको छ ।
उपन्यासमा जीवनपुर नामको एक गाउँलाई मध्यवर्षातको पहिरो र बाढीले नामोनिसाना मेट्ने गरी ध्वस्त बनाउँछ । प्रकृतिको यस विनाशलीलामा परी बस्तीका कैयौँको ज्यान जान्छ । थुप्रै बालबालिका बेसहारा बन्न पुग्छन् । मावलीमा भएकाले बाँच्न पाएकी आठ वर्षिया बालिका जमुना नेपाली उपन्यासको मुख्य पात्रका रूपमा देखा परेकी छन् । उनैमार्फत यही विनाशको ताण्डव, रामरमिता, सीमान्तकृतहरूमाथि एकाध अगुवाको वर्षौंदेखिको उत्पीडन, एनजीओ/आईएनजीओका हर्ताकर्ताको कीर्ते धन्दा, त्यही गाउँबाट सभासद्, मन्त्री बनेकाहरूको भ्रष्ट, छली र परस्त्रीलम्पट चरित्र, बलात्कारको प्रयास उदांगो पारिएको छ ।
कतिसम्म भने आफूलाई लोकतन्त्रको मसिहा दाबी गर्ने सभासद् टंकबहादुरदेखि क्रान्तिकारी पार्टीका तर्फबाट मन्त्री बनेका नरनाथसम्मले जमुनालाई भोगको साधन बनाउँछन् । लोकतान्त्रिक पार्टीका भए पनि टंकबहादुर जीवनपुरवासी हुन्छन् । यौनधन्दामै संलग्न भइरहेको समयमा ठूलो दैवी विपत्ति आउँछ । टंकबहादुर–जमुना अँगालोमा बाँधिइरहेका बेला मृत्यु अँगाल्न पुग्छन् । लुट्ने, मस्ती गर्ने, जनता ढाँट्ने सवालमा जुनसकै पार्टीका नेताहरूको चरित्र मिल्छ अर्थात् नेताहरूको खाने मुख फरक–फरक भए पनि पुग्ने पेटचाहिँ एउटै छ भन्ने चोटिलो यथार्थ र व्यंग्य प्रहार गरिएको छ, उपन्यासमा ।
धक्काले समाजमा विकृति, विसंगतिले गाडेको जरा र निर्धा जनताका आवाजलाई कसरी अपमान गरिन्छ भन्ने केस्रा–केस्रा केलाउँछ । माओवादीलगायत पार्टीहरू कसरी स्खलित, भ्रष्ट र बदनाम भए भन्ने तथ्य पनि मिहिन ढंगले उप्काउँछ । लेखकले माओवादी ओरालो लाग्नुको मुख्य कारण यौन विचलनलाई औँल्याएका छन् । तर, त्यो त झीनो अवयव मात्र हो । बरू सैद्धान्तिक विचलन, पारदर्शिताको अभाव, भ्रष्ट चरित्र, विलासी कार्यशैली र जीवनशैली, मूल्यांकनको निष्पक्षताको अभाव आदि यसमा जिम्मेवार छन् । उपन्यासलाई यौन मामलामा मात्र अनावश्यक तन्काइएको छ । समाज र राजनीतिमा हावी भएका नकारात्मक प्रवृत्तिलाई खुट्याउने प्रयास गर्नु उपन्यासको सबभन्दा बलियो पक्ष हो ।
धक्का
लेखक : कुसुम भट्टराई
प्रकाशक : खोजी प्रकाशन गृह प्रालि
पृष्ठ : १५८
मूल्य: २०० रुपियाँ
प्रकाशित: भाद्र ११, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )