~शेखर बिकल्प~
कति लामा हुन्छन् यी हिउँदका रात ?
कति नमिठा देखिएका यी सपनाहरू ?
प्रत्येक घण्टामा ब्युझाउँछ ऐठनले ।
.
सपनामा,
घर आउँछ छानो नभएको
बाटो भेटिन्छ पहिरो गएको
बाली देखिन्छ डडेलो लागेको
भाई निस्कन खोज्दैछ बन्दुक बोकेर
बहिनी सुक्क-सुक्क गर्छे विधवा अनुहार देखाएर
म फेरि ब्युझन्छु झसंग हुँदै
.
मध्यरातमा कसलाई सुनाऊँ यो छटपटी
कसरी निभाऊँ यो मनमा सल्किएको ज्वाला
अहिल्यै पुगौँ हुन्छ गाउँमा
देख्न मन लाग्छ सग्लो घर
थप्पड लगाउन मन लाग्छ बहकिएको भाइलाई
अँगालो हालेर रुन मन लाग्छ बहिनीलाई
.
कति नमिठो भएर बहन्छ यो मरुभूमिको सिरेटो
कति ननिको छ यो सम्झना
कति भारी हुदैछ यो जिन्दगी
.
सिरानीको रुमालले पसिना पुछ्दै
चिच्याउँन खोज्छु
साइला दाई –
विन्ती नसोध परदेशीको खबर,
कसरी देखाउँ – मेसिनले काटीएका औँलाहरू
कसरी बताउँ – पल्लाघरे कान्छाको हात भाँचिएको खबर
कसरी सुनाउँ – माइलादाई ओच्छानमा छन् बोल्न सक्दैनन् भनेर
कसरी लेखौँ – तल्लाघरे कान्छीले
मालिकको यौन शोषण सहन नसकेर आत्महत्या गरी ।
.
साइला दाई,
एक पेट खाएर गाउमै बसेको निको
कति रमाइला छन् ती पाखा पखेरा
कस्तो उमंग छ – माले र कालेलाई भंज्याङमा लाइदिएर
काफल र खल्डुकका बोट चहार्दा
.
म अझै निदाएको छैन
साइला दाई यो रातमा म सम्झिरहेछु
तिमीले कम्मरमा बाध्ने खुर्पेटो
काँधमा हाल्ने हलो र जुवा
ती बारी र कान्लाहरू
ती गैरी र टारी खेतहरू
.
साइला दाई – चिठी पठाउनु
पठाउनु चिठीमा – गाउँको अनुहार
पठाउनु – देउरालीको कन्चन शंख र घण्टको ध्वनी संगै ध्वजा
ढिकी र जाँतोको आवाज पठाउनु
तिमीले बनपाखमा बजाएका सुसेली पठाउनु
त्यो अँधेरीखोलाको कलकल चिसो पानी पठाउनु
भाउजूले साँधेको कोइरालोको अचार पठाउनु
बहिनीले बुनेको मफलर पठाउनु
भाइले देखेका सहरका सपना र
आमा बुवाको न्यानो माया र आशिर्वादपठाउनु
साइला दाइ – जम्मै कुरा लेखेर पठाउनु चिठीमा
.
खबर यस्तै छ परदेशको
बाँचे संगै सुसेली हालौँला – हिउँबेसीको सुस्केरा संगै
मरे सक्कियो यत्तिमै
साइला दाई,
अब उज्यालो हुन थाल्यो – म ड्युटी जानु पर्छ ।
(स्रोत : Hulaki)