~अप्सना अधिकारी~
भुकम्पको झट्काबाट,
बँचेको छ जिवन
तर,
सबै आशाका लहराहरू
चुटिएकाछन्
रूखबाट सुकी
झर्ने पातझैँ
अनि,
मेरा सपना?
सपना लडेका छन्
धरहराझैँ,
सायद,
अब कहिले नउभिने गरी!
सुन्छु,
छोरी भनी बोलाएको
तर,
“अब कुनै जीवन बाँकी छैन”
भन्छन् उद्धारकर्मी
अनि त्यहि मेरो
घरको धुजा माटो समाति रून्छु
आखिर, आँसुबाहेक
मानिसको दिगो आफन्त,सम्पत्ति
अरू हुँदैन झँै लाग्छ
सम्झन्छु,
“पढेर धेरै ठुलो बन्नू
अब यस्ले हाम्रो दिन फिराउँछे”
आमा भन्नु हुन्थ्यो
अनि म पनि फुर्किदै
पढ्न बस्थेँ
बुवा,
मलाई हेर्दै
मुस्काउनु हुन्थ्यो
वास्तवमै, मेरो पढाई,
मेरो मिहिनत
केवल
परिवारको दिन फिराउन थियो!
त्यसैले,
अहिले,
म स्वप्न शुन्य छु
कारन
परिवार शुन्य छु
गुरू भन्नुहुन्थ्यो
“जीवन शुन्य देखि शुन्यसम्मको यात्रा”
लाग्छ,
सायद
अब म यात्राको
अन्तिम शुन्यमा छु!
(स्रोत : साहित्य सन्दर्भ)