~नवीन अभिलाषी~
कविताले शक्तिको विनिर्माण गर्छ र शक्तिले जीवनको अस्तित्वलाई आकार दिन्छ । कवितामा शक्ति संचय छैन भने त्यो कविता हुनु र नहुनुमा अर्थ छैन । मान्यताको कसिमामात्र कविताको अस्तित्व रहदैन । सत्यको सारलाई कविले बुझ्नुपर्ने न्युनतम सिद्धान्त हो । तर सत्य सधै सापेक्ष हुन्छ । सत्यमाथिका अविश्वास अहिलेका कविहरुको कमजोरी हो । यो सिद्धान्त कविको अनुहारजस्तै फरक हुन्छ ।
कविताको सार जीवनमा असरदार देखिनुपर्छ । प्रत्येक जीवनभित्रको कोलाहलमा शुन्यता र शुन्यताभित्र कोलाहल पैदा गर्ने शक्ति कवितामा अन्तर्निहित हुनैपर्छ । अनि मात्र कविताको सार्वभौमिकता निर्माण हुन्छ ।
म उदाहरण दिन्छु गोपाल प्रसाद रिमालको ‘आमा’, श्रवण मुकारुणको ‘विसे नगर्चीको बयान’, नेत्रलाल अभागीको ‘सतिसाल मात्र ठिंग उभिन सक्छ’ भन्ने कविताहरुले जीवनमा कति विद्रोहको षंखघोष गर्यो? त्यस्तै माधब घिमिरेको ‘गौरी’, लक्ष्मीप्रसाद देबकाटाको ‘मुनामदन’ले जीवनमा कति आँसुको परिभाषा सिकायो । यो हैसियतको कविता नेपाली साहित्याकाशमा उदाउन अब सानो मेहनतले पुग्दैन ।यो समय हो ।
यतिबेला मल्टीनेशलन कम्पनीहरुको कब्जामा छौं हामी । उपभोक्तावादी चिन्तनको क्रुर तप्केनीमा आहत भएका छौं । अहिलेका कविताहरुको अस्तित्व विज्ञापनमा निर्भर छ । उपभोक्तावादको पहिलो अस्त्र भनेको विज्ञापन हो । पुँजीवाद सधैं निर्मम र क्रुर हुन्छ ऊ कहिल्यै कोमल हुँदैन भन्छन् समालोचक अमर गिरी । त्यसैले प्रतिस्पर्धाको दुनियामा पुँजीवाद सधैं अगाडि देखिन्छ । किनकी उसले सबैथोकलाई आफ्नो छाँयामा पार्न सक्ने हैसियत कायम राख्छ । अहिलेका कवितामा पनि पुँजीवादको दुर्गन्ध भेटिन्छ, जो खतरनाक विषय हो ।
समकालीन समयमा लेखिएका सबै कविता कविता कहलाउने ताकत राख्दैनन् । तर यहाँ हार्ड कभरमा कविता छपाएर, तारे होटेलमा नेताहरुबाट विमोचन गरेर, राष्ट्रिय स्तरका मिडियाहरुको मुखपत्रमा विज्ञापन गरेर कवितालाई बस्तु बनाई समकालीन कवि बन्नेहरुको धुईरोले कविताको अस्तित्वमा कालो धब्बा लगाउन थालेको छ । त्यति मात्र हैन, प्रकाशक तथा कविले आफ्नो गुटका केहि व्यक्तिहरुलाई परिचालन गरेर कविताको विज्ञापन गरिरहेका भेटिन्छन् । यदि विज्ञापन नहुदो त बर्तमान कविताको अनुहार कस्तो हुँदो हो ? यस विषयमा सोच्नु पर्ने देखिन्छ ।
नेपाली कविता लेखनको ट्रेन्ड असल छैन । यसलाई असल मान्न सकिदैन । नेपाली कविताले नेपाली माटोको गन्धको कति प्रतिनिधित्व गर्छ अहिलेको सवाल यो हो । हामीले लेखेका अधिकांश कविताले पश्चिमी कविताको अनुशरण गरेका छन्, नक्कल गरेका छन् । हामीले आफ्नो धरातललाई कवितामा लेख्नु पर्ने समकालीन कविताको यथार्थ हो तर हामीले अरुको अनुशरण गरेर नेपाली कवितालाई थोत्रो बनाई राखेका छौँ ।
हाम्रो कविता उत्तरआधुनिकवादी लेखकीय स्टाईलसँग जोडिएको छ । नेपाली समाज छैन । हामीले पछ्याएको विश्वको दर्शन हो, जो पहिल्यै धेरै पटक प्रयोग भैसकेको छ । त्यो विषयको अनुसरण गरेर हामी कतै पुग्दैनौ भन्ने पनि थाहा छ । नेपाली दर्शनबारे लेख्न अझै भ्याएका छैनौ हामीले । हाम्रो आँखा त्यहाँसम्म पुग्न सकेको छैन ।
हामीले मुुल्याङकन गर्न खोज्छौं विश्वकविता वृतमा नेपाली कविता कुन स्थानमा छ । जुन मुल्याङकनको कुनै औचित्य नै छैन । त्यो कविताले नेपाली समाजलाई जीवन दिन कुनै हैसियत राख्न सक्दैन । नेपाली समाजको अनुहार चिनाउनको लागि नेपाली माटोमा उम्रिएका कविताको मुल्याङकन हुनुपर्छ । अहिलेका कविले नेपाली साहित्यिक बालुवामा कविताको बगैचा निर्माण गर्ने हो । अर्थ खोज्दै हिड्ने होईन । कुनै दिन आउला त्यो बगैचाको मुल्याङकन गर्ने दिन । तर विश्वको कवितासँग तुलना गरेर हैन ।
नेपाली कविता खोस्टो मात्र हो । चाहे जति नेपाली अस्तित्वको गुदी भरीएको छैन । पश्चिमी साहित्यको कपास कोचिएको छ । वर्तमानका केहि कविहरुले त्यसमा पनि पूर्वी नेपालका कविहरुले आफ्नो भाषा, सस्कृति, पहिचानका मुद्धाहरुलाई लेखिरहेका छन् । तर मध्य तथा सुदूरपश्चिम क्षेत्रका कविहरुले लेख्न सकिरहका छैनौ । त्यसको पछाडि धेरै विषय र सन्दर्भबाट हामी गाईडेड छौँ ।
हामीले पहिचानको मुद्धालाई कसरी हेर्छौ त्यो पनि एउटा कारण हो । ब्राम्हण समुदायबाट उठेर कवि भएकाहरुले ब्राम्हण समुदायको अस्तित्वबारे कविता पढ्न पाईदैन । हिजोको दिनमा जो राज्यबाट बहिस्कृतमा पर्यो उसले मात्रै अहिले आफ्नो पहूँचको लागि कविता लेखिरहेको छ । जस्तो मगर, दलित, राई, लिम्बू, मधेशी आदि । जो अझै पर्याप्त छैन । आज दलितले मात्र हैन ब्राम्हणले पनि आफ्नो अस्तित्व रक्षा गर्नुपर्ने छ जातीय रुपले हेर्दा । दलितको अस्तित्व बाँच्नुमा ब्राम्हण पनि बाँच्नु पर्छ । यद्यपि यी दुई समुदायमा विभेद हुनु पर्छ भनेको हैन । सामाजिक न्याय सहितको अस्तित्व बचाउनु पर्छ भन्ने हो । तब मात्र नेपाली सँस्कृति बाँच्छ । अहिले नेपाली सस्कृति माथि धर्ममार्फत प्रहार भइरहेको छ, जुन खतरनाक छ । त्यो कविताले चिर्न सक्नै हैसियत राख्नु पर्छ ।
मैले भनि सकें, वर्तमान नेपाली कविता लेखनको टट्रेन्ड गलत छ । यसरी कतै पुगिदैन । समाज लेख्नुपर्छ पनि भनेँ त्यो कुरा नयाँ हैन । लेख्दै आईएको पनि छ । लेख्नु प्रधान विषय हैन । अब हस्तक्षेप गर्नु नेपाली कविताको प्रवृति बनाउनु पर्छ । संसारमा परिवर्तनको नियम बाहेक सबै नियम काट्य हुन्छन् । तर परिबर्तनको निमय अकाट्य हुन्छ । हाम्रो समाज समय अनुसार आफै परिवर्तन हुन्छ भन्ने परिर्वतनको नियमले भन्छ । तर कविताले समयलाई पर्खिने कुरा हैन ।
अहिलेको कविता हस्तपेक्ष शैलीका भएनन् भने हिजो र आजमा कुनै भिन्नता हुदैन । हिजो भानुभक्त आचार्य, मोतिराम भट्ट, शिद्धिचरण श्रेष्ठले जस्तै गुनगान गाएर, प्रकृतिका कुरा गरेर, अरुले लेखेको कविता नेपालीमा उल्था गरेर काल पर्खिने मात्र काम हुन्छ । त्यो प्रवृति यो समयमा कम्तिमा नदोहोरियोस् भन्ने मात्र हो । अहिलेको कविता आक्रमक हुनुपर्छ ।
अन्त्यमा नेपाली कवितामा हामीले नेपाली माटोको सुगन्ध वा दुर्गन्ध भर्ने हो । पश्चिमी साहित्यभित्र त्यहाँको जुन गुदी छ त्यो नेपाली साहित्यमा हामीले भर्नसक्यौ भने तुलना गर्न नसकिने रुपले हामील प्रगती गर्न सक्छौ । हामीले लेखेको साहित्यले विश्व हल्लाउनु पर्छ भन्ने होईन । त्यसले हाम्रै नेपाली जीवनमा कति प्रभाव पार्छ त्यसको मूल्यांकन गर्दै अगाडि बढ्ने हो ।
(स्रोत : Hulaki)