~सौरभ कार्की~
मेरो बुवाको, हजुरबुवाको,
हजुरबुवाको पनि हजुरबुवाले
मालिकको रिन खाएका थिए अरे ।
त्यही रिन तिर्नका खाँतिर
हाम्रो सिंगो पुस्ता मालिककोमा कमैया बस्यो ।
हामी बँधुवा मजदूर भयौं ।
मैले मालिकको छोरोको झोला बोकेर
स्कुलसम्मको बाटो हिडेको छु ।
र त्यही झोला बोकेर सधैं स्कुलबाट फर्किएको छु ।
तर मैले त्यो झोलाभित्र के छ कहिल्यै थाहा पाईन ।
मैले मालिकको खेतमा आफ्नो पसिनाले
सुनका बाला फलाएको छु ।
र मालिकको कुकुरले खाँदाखाँदै छोडेको
खाना खाएको छु ।
मालिकको गाईले मलाई मात्रै दूध दुहन दिन्थ्यो ।
दूधको स्वाद त मैले आफ्नी आमाको मात्रै चाखेको हुँ ।
मालिकको गाईको दूध कस्तो हुन्छ मलाई कहिल्यै थाहा भएन ।
मालिककै कृपाले मैले विवाह पनि गरेको हुँ ।
तर छोरोको अनुहार मेरोजस्तो छँदैछैन ।
छोरोको नाक मालिकको जस्तै छ ।
मालिकको जस्तै चौडा छ निधार ।
र आँखा मालिकको जस्तै तिखो छ ।
मालिकले नै दिनुभएको हो
पुछारको बारीमा एक टुक्रा जमिन
दुई बण्डल जस्तापाता र केही खाँवा काठहरु
र मैले आफू ओत्ने छानो बनाएको हुँ ।
हामीले भगवान कहिल्यै देखेनौं
मालिकले भन्थे- हामी नै तिम्रा भगवान हौँ ।
हामीले मालिकलाई हाम्रो भोकको भगवान मानिदियौं ।
हो हजुर, मालिकको ठूलो कृपा छ हामीमाथि ।
नपत्याए हेर्नुस् :
मालिकको कोर्राले बनाएको निलडाम
अझै छ यो ढाडमा गढेको निलो ।
तर एकदिन राता मानिसहरु आए
उनीहरुले रातो किताब पढेर हामीलाई धेरैथोक सिकाए ।
उनीहरुले नै बताईदिए
हाम्रा मालिक हाम्रा भगवान हैनन् भनेर ।
राता मानिसहरुले हामीलाई
क्षितिजको रातो घाम देखाउदै भने :
हामीले पनि रातो सपना देख्न पाउनुपर्छ ।
हामीले पनि पढ्न पाउनुपर्छ ।
मालिकको जस्तै लवेदा सुरुवाल हामीले पनि लगाउन पाउनुपर्छ ।
उनीहरुले नै भनेर हामीले थाहा पाएका हौँ
हामी पनि पो मालिकजस्तै मानिस रहेछौ ।
हामी कहिल्यै सपना नदेखेकाहरुलाई
उनीहरुले सपना देख्न सिकाए ।
कोर्रा खाएर निदाएका हामीलाई
उनीहरुले हिड्न सिकाए ।
भोकभन्दा पनि सपना ठूलो रहेछ हजुर
ईज्जतको, अस्तित्वको, आफ्नोपनको ।
उनीहरु हाम्रो सपनाको मालिक बने ।
उनीहरु हाम्रो विश्वासको भगवान बने ।
हाम्रो यही विश्वासको जगमा
उनीहरुले हामीलाई उठ्न भने ।
उनीहरुले हामीलाई जुट्न भने ।
संघर्ष र क्रान्तिमा होमिन भने ।
हामीलाई विश्वास दिलाउन नसक्दा
पटकपटक हाम्रै चुहिने छानोमुनि बसेर
रात-रातभर कसम खाएका हुन् उनीहरुले ।
हाम्रै घरको माटोमा आफ्नो रगत मिसाएर
रगतको टीका पनि लगाएका हुन् उनीहरुले ।
हामी मर्न र मार्न तयार
अग्रपंक्तिका सिपाही भयौ ।
हामी घाईते भयौ, अपांग बन्यौ, जीवनका बैंसहरु सबै दियौ ।
हाम्रो सहादत उनीहरुलाई भोट बन्यो ।
हाम्रो लास उनीहरुको कुर्सी बन्यो ।
र आज हाम्रा दुबै भगवानहरु
एउटै टेबलमा बसेर
हाम्रै पसिनाको रक्सीसँग
हाम्रो मासुको चोक्टा सितन लुछिरहेछन् ।
उनीहरु हाम्रो अंगको भाग लगाउँदै
कुन अंगलाई डिप फ्राई, कुन स्टिम, कुन चै रोष्ट
वा कुनलाई कचेला बनाउने तयारी गरिरहेछन् ।
हो अब, पक्कै रगत बगोस् या पसिना
कुटिन परोस् या मारिन परोस्
तर अब हामीले
हाम्रा भगवान, हाम्रा मालिकहरुविरुद्ध
एउटा अन्तिम लडाई लड्नुपर्ने बेला भएको छ ।
(स्रोत : Hulaki)