त्यो प्रभाती रोशनी
बादलको आँचलबाट हेर्दैछ,
हेर त ……
त्यसैले,
ढुंगा मुढा हैन
लड्छौ भने,
अक्षरका हतियार प्रयोग गर
चेतनाको दोशल्ला जनमानसमा ओढाई
बुद्धको नेत्रले वा करुणा र प्रज्ञाले हेरी
बिबेकका उज्वल बेर्नाहरू,
मनका ती तरेली फाँटहरुमा उमार्दै
आकाश चुम्ने मूल्यबृद्धिको बिरुद्ध
असमानताको बिरुद्ध
अराजनैतिकताको बिरुद्ध,
विखण्डित विचारधाराको बिरुद्ध
मानवता हराई,
कहालीलाग्दो बनेको यो मरु प्रदेशमा,
सदाचारको प्रज्वलीत दिप बाल्नुछ,
व्यभिचारका पर्दाहरु च्यातेर,
बैगुनीलाई गुनले
बन्दुकको गोली र लाठीलाई कलमले
प्रतिउतर दिदै,
नैतिकताको पाठहरु सबैलाई पढाउँदै,
आदर्श बिचारको सिरानी हाली,
अक्षरको मखमली बिस्तरामा,
अक्षरी हतियारको परिकल्पना गर्दै
निदाउनु छ
हो साथी,
बाटो बिराई अनियन्त्रित मनको नियन्त्रण गर्न
बन्दुकको घमण्ड गर्नेहरूको,घमण्ड नष्ट गर्न,
कुर्सीले भ्रष्ट नेताको भण्डारफोर गर्न,
आत्मबिश्वासको रेशमी बर्को ओडी,
फेर्नुछ लामो निश्वास,
त्यसका लागि
आश्थाका सगरमाथा उभ्याउन सक्नु पर्छ,
विश्वासको हातेमालो गर्न सक्नु पर्छ,
सहिष्णुताको फूलबारी जोगाउन सक्नु पर्छ,
ता कि बन्दुके हतियार भन्दा
अक्षरका हतियार बलियो होस्
तब तिमी, अक्षरका हतियार प्रयोग गर
फलामे हतियार खियाले नष्ट हुन्छ,
भाचिन सक्छ,गोली बिहीन बेकामे हुन सक्छ,
यो मानव बिनासको लागि मात्र हो
तर अक्षरका हतियार,
न त खिइन्छ,
यसले नबिन संरचनाको मूल फुटाउन सक्छ,
साहसको ज्वालामुखी फुटाई
स्वाभिमानी मनले बनेका,
अक्षरका हतियार बोकी,
देश र जनताको पहरेदार गर्दै खबरदारी गर्नुछ,
बन्दुक बिरुद्ध,
आफ्नै हृदयको गहिराईबाट
अक्षरका स्वरहरु निकाली
अक्षरका हतियार प्रयोग गर \