~गिरीप्रसाद बुढा~
हामीलाई दुःख बिछ्याएर सपना देख्न मिल्ने
एक एक वटा झुप्रो चाहिन्छ
हामीलाई निष्पि्कक्री भएर टेक्न मिल्ने
आफ्नै स्वामित्वको आँगन चाहिन्छ
हामीलाई आागनमा जीवन लुटिने रीति चाहिँदैन
हामीलाई राष्ट्रियता खरानी पार्ने सङ्घीयता चाहिँदैन
हामीलाई आलु रोपेर खान पुग्ने
एक/एक टुक्रा जमिन चाहिन्छ
हामीलाई हलो जोतेर बाँच्न मिल्ने
आफ्नै लालपुर्जा सहितको माटो चाहिन्छ
हामीलाई शोषणको भुत जगाउने ठाउँ ठाउँका राज्य चाहिँदैन
हामीलाई विदेशी वैरी हसाउने सङ्घीयता चाहिँदैन
हामीलाई शोषकसँग लड्न मिल्ने
एक/एक वटा तरवार चाहिन्छ
हामीलाई वर्गिय माया गास्न मिल्ने
राष्ट्रिय एकताको माला चाहिन्छ
हामीलाई शोषकी राज्यको नाङ्गो रूप चाहिँदैन
हामीलाई जनताको भावना फोर्ने सङ्घीयता चाहिँदैन
हामीलाई पैसा नतिरेरै उपचार गरिदिने
ठाउँ ठाउँमा अस्पताल चाहिन्छ
हामीलाई पैसा नमागेर पढाइदिने
गाउँ गाउँमा व्यावहारिक स्कुल चाहिन्छ
हामीलाई पाइला पाइला थगि खाने राज्य चाहिँदैन
हामीलाई सामन्ती जालो फिजाउने सङ्घीयता चाहिँदैन
हामीलाई उर्जाशील जीवन जिउन
मातृभूमिको न्यानो ममता चाहिन्छ
यो विश्वमा गर्व गरेर रहन
हाम्रो आफ्नै पौरखको अखण्ड नेपाल चाहिन्छ
हामीलाई सुखको गीत गाउन
उन्मुक्तिको दुनिया चाहिन्छ
हामीलाई क्रान्तिको घर भत्काउने नीति चाहिँदैन
हामीलाई नेपाल टुक्राउने सङ्घीयता चाहिँदैन
(रुकुम)
– गिरी राप्ती साहित्य परिषद रुकुमका अध्यक्ष हुनुहुन्छ ।
(स्रोत : हाँक विक्ली)