~श्रीराम राई~
आज प्यारो छोरा नम्छिहाङको जन्मदिन । एक मन कताकता रमाउँछ । अर्को मन कताकता दुख्छ पनि । स्नेही छोरा नम्छिहाङ मामाघरमै बसेर पढ्छन्। मन लाग्दा माया गरेर बोक्न पाउँदिनँ म।
न त मायाले म्वाइँ खान नै पाउँछु। अस्तिजस्तै लाग्छ जन्मेको अहो ! सात वर्ष पो भएछ। बिहान ६ बजेतिर उठेर मनमा यस्तै कुराहरू खेलाउँदै थिएँ। छोरा उठेको छैन होला भनेर फोन गर्ने आँट पनि आएन। छोराले नै फोन गरेपछि हत्तारिँदै भने, ‘छोरा जन्मदिनको शुभकामना ! राम्रो पढ्नू। राम्रो मान्छे बन्नू । रोग कहिल्यै नलागोस्।’
नम्छिहाङले मायालु स्वरमा जवाफ दिए, ‘हस् पापा ,धन्यवाद ! तर नि पापा ! अहिल्यै आउनुहोस् है नत्र म जन्मदिन सम्मदिन मनाउँदिनँ नि ! अब त म ठूलो पो भएँ । मीठामीठा कुरा गरेर फकाउन पाइँदैन क्यारे।’
छोराको कुराले मनमा नमज्जा लाग्यो। परीक्षा छ, आउन पाउँदिनँ कि बाबु भनेर सम्झाउन खोजेँ । उनले बालहठ देखाउँदै भने, ‘पापा नआए म कहिल्यै पनि पापासँग बोल्दिनँ के ! कहिलेकाहीँ यहाँ आएको बेलामा पनि म निदाएको बेलामा खुरुक्क बिहानै भाग्नुहुन्छ। अरू बेला पनि न ऐँसेलु टिपिदिनु छ। न कुक्कु चरो देखाउन लैजानु छ। आज पनि नआउने भए ल’ भन्दै उनले फोन काटिदिए।
म छोराको कुराले एकछिन जिल्ल परेँ। मन गह्रुगो भयो। सात वर्षको मान्छे मानौं पाको मान्छेले झै कुरा गर्छन् । रहरले को आफ्नाहरूसँग टाढा हुन्छ र? त्यो कुरा त्यो बच्चाले के बुझून्। उनकी आमाको स्कुलको सरुवा यता हुँदैन।
मेरो स्कुलको सरुवा उता हुँदैन। त्यसैले हामीलाई छुट्टिनु परेको छ। मनका सबै पीडाहरू बालकथामा नै लेखेर उनको कुनै जन्मदिनमा उपहार दिने मन छ। त्यो दिन कहिले आउला खोइ, सधैं हत्तारो छ।
स्कुल भन्यो, घर भन्यो, यसरी नै दिन बितिरहेको छ। म उनलाई जुन दिन उनैको नामको कथा उपहार दिऊँला तब उनले बुझ्नेछन्। माया हुँदाहुँदै पनि हामी किन टाढा हुन्छौं। मनमा नाना कुरा खेल्यो, मन मानेन अनि फेरि फोन गरेँ।
श्रीमतीले फोन उठाइन्। टाढैबाट छोराको आवाज सुनेँ, ‘ममी ! त्यो पक्कै पापाको फोन होला। पापा नआए म बोल्दिनँ भनिदिनोस् है।’श्रीमतीले नम्र स्वरमा भनिन्, ‘बाबुको कुरा सुन्नुभयो होइन? अब म के भनौं?’ छोराले फेरि अलि चिच्याउँदै भने, ‘के भन्नुहुन्छ? छोराको माया लाग्छ भने आउनु भन्नु नि ! नत्र कट्टी गरिदिन्छ रे बाबुले भनिदिनु है।’
मैले रातिसम्म भए पनि आउँछु भनिदिनू भनेँ। आमाको कुरा सुनेपछि उनी खुसीले चिच्याएको मोबाइलमा नै सुनियो, ‘यस् पापा आउनुहुन्छ रे क्या बोजू (हजुरआमा ) ! अब सबै साथीलाई भन्छु।’ उनको त्यो कुरा पनि मोबाइलमै सुने। छोरालाई झन् कहिले देखौंलाजस्तो भयो। सासूले चाहिँ लु तँ जे गर्छस् गर् भनेर हाँसेको फोनमै सुनेँ।
स्कुलमा परीक्षा नभइदिएको भए म पनि हाम्फाल्दै जान्थेँ। परीक्षाको बेला थोरै शिक्षक भएकाले स्कुल छोड्न मिलेन। छोराजस्तै थुप्रै प्रिय विद्यार्थीको भविष्यको कुरा थियो। यस्तै सोचमा डुबिरहेँ म।
उता नाम्छिहाङ बाबु आउने बाटोमा घरिघरि आँखा पुर्याउँथे। साथीभाइसँग खेल्थे पनि। खोटाङजस्तो विकट गाउँमा ठूलो केक पाइँदैनथ्यो। उनकी आमाले दियो बालेर सासाना केक काटेर जन्मदिन मनाइदिइन्।
पहिले त नाम्छिहाङले पापा नभई जन्मदिन मनाउँदिन पनि भने । साँझ झमक्कै परेकाले पापाको मोबाइल पनि नउठेकाले बल्ल केक काट्न माने । सबै साथीले ‘ह्याप्पी बर्थ डे टु यु’ भने। बोजुले चाहिँ स्वामी चन्द्रेले सिकाएको ‘शुभ तप जन्मदिन सर्व मंगलम्’ भन्नुभयो । त्यसको अर्थ हो ‘तिम्रो जन्मदिनमा सबै राम्रो होस्।’
नाम्छिहाङकी आमाले कुखुराको मासु र भात खुवाएर छोराका धेरै साथीलाई बिदाइ गरिन्। सानो नाम्छिहाङले धेरैपल्ट बाबुलाई मोबाइलमा फोन गर्न खोजे तर फोन लागेन। उनी निराश भएर सुते।
भोलिपल्ट बिहान उठ्दा आफूनजिकै सुतिरहेको बाबुलाई देखेर उनी छक्क परे । पापा ! भनेर झम्टिन लागेका थिए। आमाले नाम्छिहाङलाई समात्दै भनिन्, ‘हेर तिम्रो पापा हिजो बेलुका नै आउनुभएको हो।
तिमी निदाएकाले नउठाएका हौं। पापा तिमीलाई भेट्न चाँडै आउन खोज्दा लडेर दाहिने खुट्टा नै मर्काउनु भएछ। धन्न दुईजना दयालु मान्छेले यहाँ ल्याइदिए।’
सानो नाम्छिहाङले मायालु स्वरमा भने, ‘पापा ! मैले गर्दा त लड्नु भएको हो नि ! सरी पापा !’ भन्दै कान समाते।
मैले उनलाई खेलौना, चित्र पुस्तक र कपडाहरू हातमा दिँदै भनेँ, ‘तिमी अब ठूलो भएछौ। खुसी लाग्यो । फेरि पनि मेरो बाबुलाई जन्मदिनको शुभकामना छ!’धन्यवाद पापा !
म यो किताब आजै स्कुलमा लगेर पापाले दिएको उपहार भनेर देखाउँछु। तपाईंको राम्रो स्याहार गर्छु। अनि खुट्टा सन्चो बनाइदिन्छु।छोराको कुराले हामी दुवै हाँस्यौं। खुट्टाको दुखाइ कता हरायो हरायो । आँखामा उसको मायालु अनुहार नाचिरह्यो।
२०७२ पौष १ बुधवार
(स्रोत : अन्नपूर्ण पोस्ट)