~रमेश पौडेल~
गन्हाएको मोजामा अत्तर छर्केर
जुत्ता खोले-
टिलिक्क टल्किनुपर्छ अनुहार !
धर्मयुग पल्टाउँदै
गैँडा मार्का सल्काए
लामो सर्को ताने, फुके-
घुमिरह्यो चुरोटको धूवाँ
पीपलबोट वरिपरि !
खुट्टा छिराए
र, निहुरिएर हेरे आफ्नै अनुहार !
कोटरीका कोही कोही
कुरिरहेथे कविजीलाई !
चिया फर्माए
अचम्मित छन् मित्रहरु
आज जम्नुपर्छ यार !
रिमझिम हुनुपर्छ
रञ्जना गल्लीमा
स्साला जनैको जेम्रा मार्ने-
के लेख्छ त्यो ?
देखाइदिन्छु म !
साहूनी,
भटिचा टी !
थप्दै गए…
मित्रहरुका नाम जप्दै गए
आफ्नो कदमा कोही भेटेनन्
पिओ मित्रहरु !
आज ऐलाको दोहोलो काढ्नुपर्छ ।
थुरथुर कामोस् रक्सी !
मजस्तै फेमस हुन त
लेख्नुपर्छ क्या-
लेख्नका लागि पढ्नुपर्छ ।
पढेका छौ –
फलानो देशको ढिस्कानो कवि ?
साहूनी !
सान्याखुना छकुचा
गाउँको गुन्द्रुकले
टनटनी समातेका दाँत
आँतमा-
छोयला, कचिला, भित्र्याँस
खेल्दै थिए आहाल-
छप्ल्याङ छुप्लुङ्ग !
प्रकाशित: आश्विन १२, २०७१
(स्रोत : नेपाल साप्ताहिक)