~प्रवीण बानियाँ~
उनी
धानको बिरुवासँगै जिन्दगी रोप्छन्
रोप्छन् हरिया सपनाहरू
पसिनाले हो कि पानीले
भिजाउँछन् पहाडी खेतको छाती !
एक दिन
त्यहीँनेर फुलाउँछन् खुसी
सुनजस्ता धानका बालाहरूमा !
मेरा बा
भकारीभरि मंसिर थन्क्याउँछन्
र, भित्र्याउँछन् घरभित्र-
भोकको ईश्वर !
मैले देखेदेखि
नागीजस्तो उनको निधारबाट
पसिनाको खहरे बगिरहेकै छ
खोल्सीखोल्सी भएर फुटेका कुर्कुच्चा
चक्र मेटिएका पाइतालाबाट
निस्किरहेकै छ श्रमको संगीत
उनलाई
जाडोले कहिल्यै चिस्याएन
गर्मीले कहिल्यै पोलेन ।
मेरा बा
थुप्रै घामपानी छेलिरहेछन्
र, मिलाइरहेछन्
जिन्दगीको लय !
उनलाई पनि लाग्यो होला
दु:खले तगारो नाघेर
कहिल्यै घरको आँगन नटेकोस्
चाडपर्वहरू हाँस्दै हाँस्दै आऊन्
आफ्ना सन्तानको आङमा
कहिल्यै नपरोस् दु:खको घाम
लाग्यो होला
यो बाटो भएर अभाव कहिल्यै नहिँडोस् ।
मेरा बा
जिन्दगीको मोर्चामा लडिरहेछन्
र, कुँदिरहेछन्
सन्तानको सुकिलो भाग्य !
(स्रोत : नेपाल साप्ताहिक)