कथा : मलेसिया श्रम कि सेक्स ?

~रामनाथ खनाल~Ramnath Khanal

‘म मलेसिया जान लागेको’, सुरुमा त साथिहरुले पत्याएनन् ।

‘किन, जागिर खोज्न ?’

रमेशले त झन् गिज्याएर बोल्यो ।

रिस उठ्यो र फ्याट्टै भनिदिएँ, ‘हो ।’

कल्पना आफैँ अघि सरेर भनि, ‘हैन व्यारे, त्यहाँ रहेको नेपालीहरुको अवस्था बुझ्न स्थलगत अध्ययनका लागि जान लागेको रे ।’

‘ए ! यो त अनुसन्धानकर्ता पनि भै सकेछ ?’

समूहमा झनै अट्टाहस गुँञ्जियो । म भने किंकर्तव्यविमुढ ।

बुझ्ने त यही कल्पना नै हो, यी केटाहरु कहिले सुध्रने होलान् ? रिस नउठेको होइन । मनमै थन्क्याएर राखेँ ।

‘कहिले जान्छस् नी ?’, ब्रजेसले मौनता तोड्दै बोल्यो ।

‘भोलि नै जान्छु । साढे तीन बजेको फ्लाईट छ, त्यहाँका साथिहरुले बोलाएर जान लागेको । गएको समयमा अध्ययन पनि हुन्छ । त्यस्तै पन्ध्रदिन जती बस्छु होला ।’

‘एउटा राम्रो मोवाईल भेटिस् भने ल्याइदे ल ?’ रमेशले इच्छा प्रकट गर्यो ।

‘होइन यिनीहरुको कस्तो कुरा हो यो, विचरा ऊ त्यहाँ कमाउन जान लागेको हो र ?’

मलाई पनि यसै भनुँ लागेको थियो तर कल्पनाले नै मुख फोरि ।

‘यो कल्पना हुन्जेल तैले दुःखै गर्नु पर्दैन’, ब्रजेशले पिठिउँमा धाप मार्दै भन्यो ।

ए ! होला, बुझेको शैलीमा मुन्टो हल्लाईदिएँ ।

‘रामु फोन गर है, यी आवाराहरुलाई के चिन्ता र ?’ कल्पनाको अनुहारको भाव बिग्रियो ।

‘हुन्छ ।’

‘तिमीहरुको छुट्टै भलाकुसारी होला, हामी गयौँ है ?’ साथि रमेश र ब्रजेश चावहिलको चिया पसलबाट छुट्टिए ।

उनीहरु गएपछि कल्पनालाई अलिक सहज भएछ । विस्तारै कुरा खोतल्न थाली ।

‘कतै तिमी पन्ध्र दिन भनेर उतै कामै गर्न जान लागेको त हैन ।’

‘प्रमिस हैन ।’

‘फेरि जाने नै भए सुटुक्क किन जानु र ?’

‘खर्च कसरी म्यानेज गर्यौ त ?’

‘उतैका साथिहरुले बन्दोवस्त गर्दिन्छौँ भनेका छन्, खासै अप्ठ्यारो छैन ।’

‘ए !’

उसको अनुहार केही शान्त देखीयो ।

‘ल म पनि जान्छु, अव भोलि नै भेटौँला नी ?’

हुन्छ भनेर म पनि छुट्टिएँ ।

00

विहानै हुस्सु लागेर वातावरण धमिलो भएको थियो । घामले पनि आकार लिन सकिरहेको थिएन । किन किन आफूलाई कतिवेला घर छाडौँ भैरहेको थियो । जहिल्यै घर छाड्न हतार हुन्छ र त्यो भन्दा हतार फर्कन । मनले आफैँलाई प्रश्न गर्दै थियो ।

आमालाई फोन गरेँ ।

‘म मलेसिया जान ला’को ।’

यत्ति के भनेको थिएँ । उता आमा सुँक्क सुँक्क गरेको आवाज आयो ।

‘काम गर्न होइन , त्यस्तै पन्ध दिनको लागि हो ।’ आमाले रुन बन्द गर्दै राम्रोसँग जा भन्नु भयो ।

फोन राख्नै लागेको थिएँ । आमाले फेरि सोध्नु भयो, ‘अनि पैसा छ त ?’

‘केही चिन्ता गर्नु पर्दैन, आमा !’

लौ लौ, आमाले अनुमतिको शैलीमा आशिर्वाद र अनुमति दुवै एकै साथ दिनु भयो । मैले पनि बुबालाई भन्नुस है भनेर फोन राखिदिएँ ।

मेरो मनमा खुसी र कौतुहलता एकै साथ उत्पन्न भयो । उडान समय भन्दा दुई घण्टा अघि नै विमानस्थल पुगेँ । म भन्दा अघि नै रमेश र ब्रजेश आइपुगिसकेका रहेछन् । कल्पना केही ढिला गरेर आइपुगि ।

‘किन ढिलो ?’

जहिले पनि प्वाक्क बोलि हाल्ने रमेश यहाँ पनि चुप लाग्ने कुरै थिएन ।

‘माला खोज्दा ढिला भयो’, उसले स्पष्टिकरण दिई ।

साथिहरुसँगको कुराकानी र गफै गफमा विमानस्थलभित्र छिर्ने समय हुनै लागेछ ।

‘लौ हतार भयो,’ साथिहरुसँग विदा हुने अनुमति मागेँ ।

कल्पनाले दुवै हातले गलामा माला लगाईदिई र प्लाष्टिकमा पोको पारेको केही पैसा दिँदै भनि, ‘विस हजार छ नपुगे भन्नु म यहाँबाट पठाइदिन्छु ।’

मन भारी भयो । मनमने सोचेँ, ‘यो कल्पे कस्ति छे, यसलाई नै चिन्ता हुन्छ मेरो ।’

नसमाई धरै थिएन ।

रमेश र ब्रजेशले पनि हातमा रहेको खादा लगाईदिए र यात्रा सफलताको शुभकामना दिए ।

हात हल्लाएर म विमानस्थलको प्रस्थान मार्ग तर्फ सोझिएँ । पर पुगेर फर्किएर हेर्दा पनि कल्पना उभिएर हात हल्लाउँदै थिई । रमेश र ब्रजेश भने आफ्नै तालमा । विमान स्थल वरपर देश छाड्न आतुर करिव तीन सय युवा हुँदा हुन् । उनीहरुको अनुहारमा पनि मेरो जस्तै खुसी र दुःखका रेखाहरु एकसाथ प्रदर्शित भएका थिए । ति मध्ये आधा जति त मसँगै मलेसिया जान विमान प्रवेशको लाईनमा थिए ।

‘म पेनाङको एक फ्याक्ट्रिमा, तपाईं कुन कम्पनीमा ?’

त्यस मध्ये बारा घर भएका एक युवाले आफ्नो बारेमा बताउँदै भन्यो ।

‘म त अध्ययन भ्रमणका लागि ?’

उसले पत्याएन ।

पत्याओस् पनि कसरी, रोजी रोटीका लागि नेपाली युवाहरुको उत्कृष्ट गन्तव्य बनेको मलेसियामा अध्ययन तथा घुम्न र समय बर्बाद गर्न जाने युवा कति नै होलान् र ? उसले सायद यही सोच्यो ।

हेर्दा हेर्दै मलेयिसन एअरलाईन्सको विमानले काठमाडौँ छोड्यो । हावामा कावा खाँदै । आकाशमा बताँसियो । विमानस्थल भित्र रोजगारीको खोजिमा विदेशिन लागेका ती युवाहरुको अनुहार पढ्न मन लाग्यो र मसँगै बसेको त्यही युवाको करुण कुराहरु मष्तिष्कमा झन् गाढा बन्न थाल्यो ।

आमा छिन् घरमा । बाबु सानैमा विते । विहे गरेको महिना दिन भएको छैन ।

स्वदेशमा कुनै काम नपाए पछि मलेसिया नै बाध्यात्मक गन्तव्य बनेको रहेछ उसको । त्यस्तै अरुको पनि बाध्यता थियो होला । आमाको काख र श्रीमतीको कसिलो अंगालो चटक्क छाडेर बाहिरिने युवाहरुको सपना कत्तिको पुरा होलान् ? कत्तिको अधुरो रहलान् ?

मेरो मन झन् एक तमासको भो, देश छाडेर बाहिरिने युवाहरुको यो लर्कोलाई यहीँ व्यवस्थापन गर्न पाए । मलेसियामा बग्न लागेका यी युवाहरुको पसिना यहिँ नै सञ्चित गर्न पाए ।

‘यी मध्ये कति युवा कफिनमा कोचिएर आउने होला ?’ धत् यस्तो पनि सोच्ने ? अर्को मनले यसै भन्यो ।

करिव पाँच घण्टाको विमान बसाई पछि क्वालालाम्पुर विमान स्थलमा उत्रिएँ । मैले मेरो देशको विमानस्थल र यहाँको विमानस्थलमा तुलनै गर्न सकिन । भव्य र विसाल संरचना, सफा र व्यवस्थित विमानस्थल यसमा पनि कति नेपालीको रगत पसिना बगेको होला ?

विमानस्थलमा साथि राकेश र रेवन्त अघि नै आइपुगि सकेका रहेछन् । केही बेरमा उनीहरुले विमानस्थलबाट ट्याक्सीमा राखेर करिव एक घण्टाको दुरीमा रहेको होटलमा पुर्याए ।

त्यहाँ उनीहरुसँगै अरु तीन जना नेपाली साथिहरु रहेछन् । रात छिप्पिसकेको थियो । गफै गफमा रात वितेको पत्तै भएन ।

‘सुत्न जाने होइन ?’

राकेशले अनुरोधका साथ कोठा देखाउँदै भन्यो ।

मलाई पनि थकाई अघिनै नलागेको होइन । तर कुरै कुरामा समय वितेको पत्तै भएन । मलाई सुत्ने कोठा मिलाई दिएर साथी रेवन्त र राकेश बाहिरिए ।

ओच्छ्यानमा त पल्टिएँ तर निद्रा आएन ।

मनमा अनेक तर्कना आइरह्यो । म बसेको होटलमा पनि आधा भन्दा बढी नेपाली नै छन् । ति युवाहरुको काम भनेको सुरक्षा गार्ड, वेटर, ड्राइभर आदी मात्र हो । राकेश भने कम्पनीको लेखापाल छ । नेपालीहरुले लेखापाल पाउनु भनेको मुस्किलको कुरा हो । राकेश यसै भन्थ्यो ।

नेपालीहरु पाँच सय रिंगेट देखि, बढीमा दुई हजार रिंगेट सम्म कमाउँछन् । त्यो भन्दा बढी कमाउने नेपालीहरु विरलै छन् । बेलुकीको बसाईमै राकेशले नेपालीहरुको अवस्थाको बारेमा मोटामोटी बताइसकेको थियो ।

छटपटि र कौतुहलतामै रात वित्यो ।

विहान नहुँदै राकेश आइपुग्यो ।

नास्ता खाइओरी उनीहरुकै पूर्वयोजनामा हामी गेन्टिङ हाइल्याण्ड प्रस्थान गर्यौँ । गेन्टिङ हाइल्याण्ड आधुनिक मलेसियाको उत्कृष्ट नमूना हो । साथै पर्यटकीय स्थल पनि । यहाँ बर्षेनी हजारौँ पर्यटकहरु घुम्न आउने गर्दछन् । मजवुरी गर्नेहरुमा पनि यहाँ नेपालीहरुनै बढी छन् ।

महंगा तारेहोटलहरु, घुम्न र खेल्नका लागि पार्क, रेष्टुराँ तथा भिमकाय संरचनाले मलाई आश्चर्यचकित तुल्यायो । मानव सभ्यताको नविनतम अनुपमताबाट समय बितेको पत्तै भएन ।

हामी टोहोलाउन पार्कमा के निस्किएका थियौँ । एकजना भियतमानी युवतीले राकेशलाई हात हल्लाउँदै हाई गरी ।

राकेशले पनि अभिभादनको औपचारिकता पुरा गर्यो । तर भियतनामी युवतीले मलाई संकेत गर्दै, को भनी

‘पत्रकार’, राकेशले भन्यो ।

नेपालबाट अध्ययन भ्रमणमा आएको बतायो । उ हाई भन्दै मेरो नजिक आई । केही छिन् नै पर गई ।

‘रामजी यो दीपेनको नयाँ गर्लफ्रेण्ड हो’, राकेशले थप परिचय दियो ।

‘हैन यहाँ दिनकै गल्र्डफ्रेण्ड फेरिन्छन् र ?’, मैले आश्चर्य प्रकट गरेँ ।

‘दिनमा हैन सर, उस्तै परे घण्टामा नै परिवर्तन हुन सक्छन्’, राकेशले आँखी भौँ खुम्च्याएर बोल्यो ।

नभन्दै केही बेरमै राकेशको साथी दीपेन आईपुग्यो । उनीहरुको प्रेम रोमान्स गेन्टिङ हाइल्याण्डमा छरपष्ट भयो । तर रोमान्स गर्ने दीपेन एक्लै भने थिएन । त्यहाँ त्यस्तै पचास जती नेपाली जोडीहरु हुँदा हुन् । युवतीहरु मध्ये पनि प्रायः भियतनामी नै देखिन्थे ।

‘नेपालबाट यहाँ काम गर्न आउने युवाहरुको प्रायः भियतनामी र बर्मेली युवतीसँग नै चक्कर चल्छ’ राकेशले प्रष्ट्यायो ।

उसले अझै स्ष्पट पार्दै भन्यो, ‘भियतनामी युवतीहरुलाई पनि नेपाली युवकहरुलाई जस्तै मोजमस्ती बढी गर्नु पर्छ, यिनीहरुमा प्रेमाभाव भन्दा पनि बढी यौन आशक्ती हुन्छ । सुरा पानमा यिनीहरु नेपाली युवक भन्दा अझै अगाडि हुन्छन् । नयाँ–नयाँ केटासाथीहरु खोज्दै हिँड्नु यिनीहरुको विशेषता भित्रै पर्दछ ।’

राकेशका अनुसार भियतनामी युवतीहरुको नजरमा नेपाली युवकहरुनै अग्रस्थानमा छन् । सुरा र सुन्दरीमा आशक्त हुने नेपाली युवाहरु प्नि सजिलै थाई युवतीको अंगालोमा कस्सिन्छन् । तर तिनीहरुको प्रेममा कुनै टिकाऊ हुँदैन । मलेसियाको मौसम जस्तै बदलिरहन्छ तिनीहरुको प्रेम कथा । कतिखेर पानी पर्छ, कतिखेर घाम लाग्छ कुनै टुंगो हुँदैन ।

यहाँको प्रमे गर्नेमा सवैभन्दा बढी सचेत म्यानमारेहरु नै हुन्छन् । उनीहरु आफ्नो देशको केटा पाए सम्म अरु केटासँग आँखा लगाउँदैनन् । अरु केटाहरुप्रति आकर्षित हुँदैनन् । तर म्यानमारे केटाहरु छैन भने उसले कुनै न कुनै एउटा केटालाई प्रेममा बाँधेकै हुन्छन् । सेक्समा पनि यिनीहरु उदारै छन् । यिनीहरुको नजरमा पनि नेपाली युवकहरु नै पर्दछन् ।

यिनीहरुले पनि कार्यअवधि भर एउटै केटासँग सम्बन्ध स्थापित गरेका हुन्छन् भने कतिपयले रातारात केटा परिवर्तन गर्छन् ।

साथमा रहुनजेल श्रीमान् श्रीमती जस्तै हुन्छन् । खाना पकाएर दिने । कपडाहरु धोइदिने । तर खर्च भने केटाहरुले नै गर्नुपर्दछ । हरेक आइतबार छुट्टी हुन्छ । उक्त छुट्टीको दिन सकभर उसलाई घुमाएको हुनैपर्छ ।

मोबाइलको मामलामा उनीहरु ज्यादै सौखिन हुन्छन् । कम्तीमा दुई हजार बाइस सय रिङगेटको मोवाईल बोक्नु पर्छ । त्यो पनि केटाहरुकै खर्चमा । बचतको सवालमा उनीहरु सचेत हुन्छन् । उनीहरु सकभर आफ्नो पैसा खर्च गर्दैनन् ।

जब डिस्को र बार छिर्छन अनि रक्सीको नशामा रोमान्स दिनु सक्नुपर्छ । सेक्सको सवालमा भियतनामी केटिहरुमा बढी सेक्सको चाहाना हुने र छिट्टै आबेगमा आउने गर्दछन् ।

कतिपय अवस्थामा यसरी मादक पदार्थ सेवन गरि सेक्स गर्दा केटाको मृत्यु समेत भएको घटनाहरु बारम्बार सुनिन्छ । केटी बढी उत्तेजित भई आवेगमा आउँछन् र उनीहरुलाई सेक्स को चाहाना पूरा गर्न नसक्दा केटालाई जबरजस्ती उक्त कार्यमा लगाउँछन् ।

यसरी यौनमा लिप्त हुँदा कतिपय नेपाली केटाहरुको मृत्यु समेत भएको छ । मलेसियामा नेपाली युवाहरु सुतेकै ठाउँमा मृत्युको हुनुका प्रमुख कारण पनि यही हो । मादक पदार्थको अधिक सेवन अनि अधिक यौनलिप्तका कारण नेपाली युवाहरुको जीवन तहस नहस भएको छ ।

राकेशको कुरा सुनेर मलाई आश्चर्य लागेन पार्कमा घुम्न आएका नेपाली युवाहरुको चाल चलनले यसको पुष्टि गरी रहेको थियो ।

‘के गर्नु यहाँ नेपाली युवाहरु पानी भन्दा बढी रक्सी पिउँछन्’, अर्को साथी रेवन्तले दुःख मनाऊ गर्दै भन्यो ।

उसले अगाडि थप्योे, ‘मेरै कम्पनीमा सँगै कार्यरत नेपाली केटा छ । बाह्र वर्ष मलेसिया बस्दा उसको कमाई भनेको एक सेट मोबाइल मात्र हो,’ उ अझै अघि बढ्यो र भन्यो, ‘सालै पिच्छे युवती फेर्छ । बनाएका जती सवै गर्लफ्रेण्डलाई नयाँ–नयाँ मोवाईल, लुगाफाटो र महिना भरिलाइ पुग्ने रासन पानीमै उसको कमाई सकिन्छ ।’

यति भन्दा उसका अनुहारमा पसिनाको बुँद देखा पर्यो । र टेवलमा राखेको टिस्यु पेपरले अनुहार पुच्छ्दै एकोहोरो बाहिर हेरिरह्यो ।

यति वेला सम्म राकेशले अर्डर गरेको खानेकुरा टेबलमा आइपुगि सकेको थियो । टेवलका परिकार अघि सार्दै राकेशले भन्यो, ‘त्यस्तै मेरो अर्को साथी छ, ३ वर्षको छुट्टीमा नेपाल जान्छ तर घर नपुगी काठमाडौँ मै बिताएर फर्कन्छ । कति नेपालीले त यहाँ आएपछि घरबार समेत बिर्सिएका छन् । परिवार भताभुंग भएका छन् । लोग्ने घर नगएपछि श्रीमती अर्कैसँग पोइल गएका छन् । घरपरिवार विखण्डित भएका छन् ।’ राकेश यो पल्ट अलि बढी नै निराश देखियो ।

कुरै कुरामा चार घण्टा वितेको पत्तै भएन ।

‘अव हामी यहाँबाट पेनाङ जान्छौँ । त्यहाँ केही मेरा साथीहरु छन् । उनीहरुसँग कुराकानी गरेर बेलुका हिजोको होटल फर्कौंला ।’ राकेशले यस पछिको रुटको बारेमा बतायो ।

म भने अन्जान युवक झैँ भएको थिएँ । मानौँ, यात्रा कुराकानी र बस्तुस्थिति बुझाउने जिम्मा उनीहरुले नै लिएका थिए ।

गाडी राकेशले नै हाँकेको थियो । जमिनमा उभिएका गगनचुम्वी महल, मलेसियाको दिन दुगुना रात चौगुना बदलिँदो दृष्य भित्र नेपाली युवाहरुको रगत र पसिनाको विम्व प्रष्टै देखिन्थ्यो ।

बाटामा कतै पनि मलाया युवायुवतीहरु देखिँदैनन् । सहर बाहिरका गाउँहरु बाहेक उनीहरुको उपस्थिति त्यती छैन । मलेसियामा झण्डै पाँच लाख नेपाली कार्यरत छन् । नेपालसँग मिल्दोजुल्दो हावापानी भएकाले नेपाली युवाहरुको रोजाईमा मलेसिया परेको हुनसक्छ ।

आज मलेसिया नेपालीहरुका लागि त्यती सुरक्षित छैन । कतिखेर कसले आएर लुटिदिने हो । पछाडिबाट छुरा रोपेर कत्लेआम गरिदिने हो । कुनै टुंगो छैन । मानसपटलमा मलेसिया कैद गर्दै गर्दा पेनाङ आइपुगेको पत्तो भएनछ । पेनाङको साईंलीको होटल अगाडि उसले मलाई पुर्यायो ।

‘नाम त चाइनिज छ त ?’, मैले अनौठो मान्दै सोधेँ ।

‘हैन, नेपालीहरुको बढी आऊ जाऊ हुने भएकाले नेपालीले नै यसको नाम साईंलीको होटल राखिदिएका हुन्’, रेवन्तले अथ्र्यायो । होटल अगाडि एक जना युवक उभिरहेका थियो ।

उसले मलाई देख्ने वित्तिकै खुसीले मुखको भाव बदल्यो । तर मेरो आँखा उसले हातमा बाँधेको पट्टिमा पर्यो ।

‘हातमा के भएको ?’ मैले तत्कालै सोधेँ ।

‘मेसिनमा च्यापिएको’, उसले अनुहार निन्याउरो पारेर भन्यो ।

काम गर्दा गर्दै सय टनको मेसिनको एक पातोले उसको हात थिलिविलि पारिदिएको रहेछ । ‘यस्तो त दैनिक दश बाह्र जनाको हुन्छ’ उसैले भन्यो ‘यस वाहेक सामान्य दुर्घटनामा पर्नेको संख्या त कत्ति हो कत्ति ।’

काम गर्दा अंगभंग भए कम्पनीले कुनै जिम्मेवारी लिँदैन । थाहारो पशुझैँ गलहत्याएर निकालि दिन्छन् ।

‘अनि दुतावासले नी ?’

‘यहाँ नाम मात्रको दुतावास छ, उताबाट राम्रो कम्पनी भनेर यहाँ ल्याएर अलपत्र पारिएकाहरुलाई पनि फिर्ता पठाउन कुनै पहल गर्र्दैन ’ उसले दुःखी हुँदै नेपाली दूतावासको गैरजिम्मेवार व्यवहार बतायो ।

त्यसवेला सम्म अरु नेपाली युवाहरु पनि जम्मा भैसकेका थिए । खाजा खाँदै चिनजान पनि गर्यौँ । वेलुका भैसकेकाले त्यहीँ बस्ने निधो गरियो । ति घाइते युवक आफ्नै कम्पनी तिर लागे ।

बेलुका रेवन्तले अर्को युवकको परिचय गरायो । तर परिचय गराएको केही बेरमै उनी होटलबाट बाहिरिए ।

‘यिनको यहीँको एकजना स्थानीय महिलासँग चक्कर चलेको छ । उसले दश हजार रिंगेटको त सानो गाडी समेत किनी दिएको छ ।’ घरमा आमा र श्रीमतीको फरिया फेरिदिने धोकोका साथ विदेशिएका नौ जवान युवाहरुको ताल देखेर मेरो मनमा टिठ जागेर आयो ।

नेपालमा म्यानपावरहरुले आकर्षक काम लगाइदिने भनेर यहाँ ल्याएर अलपत्र पारेका, कति अवैधानिक कामदारका रुपमा काम गर्न विवश र कति त जेलमा समेत कोचिएका रहेछन् । त्यस वाहेक नेपालीहरुले काम गर्ने, बास बस्ने र खाने कुराको दुदर्शा शव्दमा उतार्न सकिने अवस्था नै छैन ।

‘यहाँ त अधिकांश बेचिन्छन् ?’, रेवन्तले दिक्क मान्दै बतायो ‘पासपोर्टमा छाप लगाएर बैधानिक बाटोबाट बेचिएका नौ जवान युवाहरुको पसिनाले नै मलेसिया समृद्ध बनेको हो ।’

त्यस पछि उनीहरुले मलाई त्यहाँको रेड एरिया पुर्याए । रेड एरिया जाने युवाहरुमा पनि नेपाली नै अग्रस्थानमा देखिन्थे । पारदर्शी काँचभित्र सजाईएका इन्डोनेसियन, थाइ, तमिल युवतीहरुको हाऊभाऊ र भावभंगिबाट कुनै युवा नपग्लिने कुरै थिएन । मध्यरात सम्म नेपाली युवाहरु त्यतै बरालिएका देखिन्थे । त्यो संख्या विदाको दिन झनै बढी हुँदो रहेछ ।

उनीहरुको दर बीस रिंगेट देखि पाँचसय रिंगेट सम्मको हुँदो रहेछ ।

‘यहाँ त नेपालीहरुबाटै नेपाली ठगिन्छन्’, बाटोमा आउँदा राकेशले बतायो ।

‘कसरी?’

तलव आएको दिन नेपाली युवकले तमिलसँग मिलेर नेपालीलाई नै लुट्न बेर लगाउँदैनन् । त्यसबाहेक यहाँ स्थानीय र अन्य देशका कामदारहरु मिलेर नेपालीहरुलाई प्रताडित तुल्याउनेमा पनि नेपाली नै अगाडि हुन्छ ।’ राकेशले मलेसियामा नेपालीको दुर्दशा बतायो ।

00

घुम्दा घुम्दै र नेपाली कामदारहरुले पाएको दुःख र कष्टको व्यथा नियाल्दा नियाल्दै पन्ध दिन वितिसकेछ । मलेसिया बसाईको अन्तिम रात गेन्टिङ हाइल्यान्डमा विताउने गरी म, राकेश र रेवन्त पुग्यौं । त्यस वाहेक त्यहीँ भएका नेपाली साथिहरुसँग रमाइलो गर्ने कार्यक्रम समेत तयारी गरेका थिए उनीहरुले ।

यस अघि विताएकै पार्कमा थियौँ । अचानक राकेशको मोवाइलमा फोन बज्यो ।

‘दीपन त बित्यो नी ?’

फोनमा आएको आवाज हाम्रो कानमा पनि मधुर हिसावले ठोकियो ।

‘कसरी ?’ राकेशले धर्मराउँदै बोल्यो ।

‘उ बस्ने रुम नजिकैको तमिलले छुरा हान्यो रे, अहिले उसको डेथ बढी त्यहीको स्थानीय अस्पतालमा छ’ फोनमा यति बुझियो ।

हामी सवै हतारिएर त्यहीँ पुग्यौँ । नभन्दै एक घण्टा अघि उसकै गर्लफेण्ड त्यही भियतनामी युवतीले तमिललाई छुरा हान्न लगाएर उसको हत्या गरिछे । तर यो सवै थाहा हुँदा पनि त्यहाँको प्रहरीले दोषीलाई पक्रन कुनै तदारुकता देखाइरहेको थिएन ।

मैले त्यहाँको प्रहरीसँग बुझ्ने प्रयास गरेँ । तर उसले मलाई उल्टै हप्कायो । पछि बुझ्दा त्यहाँको प्रहरीले अन्य देशका नागरिकलाई कुनै वास्ता नै गर्दा नगर्ने नेपाली कामदारले बताए ।

मेरो आँखा अघि गेन्टिङ हाइल्याण्ड, उसकी प्रेमीका र दीपेनको तस्विर चलचित्र झैँ घुम्न थाल्यो ।

त्यहाँ हामीले गर्न सक्ने केही थिएन । त्यस्तै अरुले पनि । केही बेरमा हामी होटल फर्कियौँ । उस्तै छट्पटिमै रात वित्यो ।

भोलि पल्ट मलेसियामा नेपालीहरुले भोग्नुपरेका व्यथाका पहाड, पीडाका सागरहरु मनमा कैद गरेर विमानस्थल पुगेँ । विदाइका लागि साथि राकेश र रेवन्त पनि विमानस्थल आएका थिए । काठमाडौं पुगेर यहाँको बस्तु स्थितिका बारेमा सरोकारवाको ध्यानाकृष्ट गरिदिने बाचाका साथ नेपाल फर्किएँ । किन, किन मन अमिलो भइरह्यो । अस्तु ।

गोकर्णेश्वर–१३, काठमाडौँ

(स्रोत : Nepalpati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.