निबन्ध : साहित्यमा पहिचान

~राजा पुनियानी~Raja Puniyani

आउँदै गरेको आँधी

‘अब त उमेर भयो । खै, फोनमा कुरा हुने होइन… । इन्द्रबहादुर राईसँग कुरा भएको त दुई वर्ष पो हुन लाग्यो ।’

भन्दै थिए, बैरागी काइँला । तेस्रो आयामका हस्ताक्षर ।

टिफिनपछिको अपराह्न पिरियडमा तीन महिना लगाएर पढेको मातेको मान्छेको भाषण कानमै गुन्जिरहेको छ अहिले पनि । के यिनी तिनै काइँला हुन्, जो डल्लै नेपाली साहित्यमा अभिव्यक्तिको एउटा भुइँचालोका उत्केन्द्र थिए । जसले गि्रक मिथहरुको उत्खनन गरे र नेपाली साहित्यलाई शैलीको गैँती लगाएर निकै उकासे । म तिनको सरलता देखेर सम्झँदै छु, आन्दोलित पहाडी खोला, जुन जति जति समुद्रछेउ अघि बढ्दो छ, उति उति फैलावट बढाउँछ र उति उति सौम्य बन्छ । गम्भीर बन्छ ।

काइँलाको कविमनको उत्खननको क्रम इटहरीको दुईदिने राष्ट्रिय कविता महोत्सवको कडीले जोडिदिएको थियो । इन्द्रबहादुर राई सरसँग अहिले भेटघाट कस्तो छ त भन्ने सवालको जवाफ दिँदै थिए, नेपाली कविताका एक अग्ला स्तम्भ काइँला ।

मान्छेको पहिचानको खोजीलाई नेपाली साहित्यमा तेस्रो आयामले नै चर्को पारेको हो । तेस्रो आयामको घोषणापत्रै ननिस्किए पनि दुई अंक मात्र निस्किएको पत्रिकालाई घोषणापत्र मान्दा हुन्छ । दार्जीलिङबाट थालिएको साहित्यको नयाँ आन्दोलनले सिंगो नेपाली साहित्यलाई नै एउटा नयाँ अनुहार दिएको छ । एउटा नयाँ पहिचानको दाबा ।

कवि सरिता तिवारीले सोधेकी थिइन्, अँध्यारो र उज्यालोको डाइलेक्टिक्स समात्न खोजिरहेकी कुमारी लामाको उमेर । कुमारीले अप्ठ्यारो मान्लिन् भन्ने ठानेर होला, आगोनेर उभिरहेका ‘कुल कवि’ विमल निभाले पृथ्वी आकारको चस्माभित्रबाट हेर्दै हतपती भनेे, ‘सोध्नुहुन्न उमेर त ।’ कुमारीले ‘सोध्नूस् न, के हुन्छ र’ भनेर सामान्य पारिन् । मलाई पनि इन्द्रबहादुर राईको उमेर कति नगिच हो भनेर सोध्न मन लाग्यो ।

काइँलाले भने, ‘आईबी दाइ मभन्दा निकै जेठा हुन् । हामी पढेकै स्कुलमा पढाउँथे । कताकताबाट आइपुगे ईश्वरवल्लभ । तीनभाइको सल्लाह भो । अनि क्या… गोजी खर्च भेला पारेर… निकाल्यौँ, फूल-पात-पतकर । त्यसपछि त्यो चल्यो । ‘के छ त तपाईंहरुको ?’ अब सोध्ने पालो काइँलाको । पहिचानको प्रश्नजस्तै लाग्यो । उमेरले पनि पहिचानको कडी समातेजस्तो ।

कवि हेमन यात्रीको एकल मिहिनेतमा धरानको कलरवको दुईदिने आयोजनले केन्द्र-परिधि दुरत्व छोट्टयाइरहेको प्रतीत हुन्थ्यो । अहिले नेपालमा मोफसल लेखन र राजधानी लेखनजस्तो बहसमाझ राजधानीलाई समानान्तर राख्दै पहिलो दिन उत्कृष्ट १५ कवि प्रतिभाको पहिचान गर्ने प्रयास देखिन्थ्यो । दोस्रो दिन ‘नेपाली कवितामा सांस्कृतिक चेतनाको प्रयोग’ अनि ‘आगतमा नेपाली कविताको बाटो र साहित्यमा नेपाल’को बहस ।

विचारको धूवाँ छुटाइरहेका थिए, बम देवान, श्यामल, भूपाल राई, राजन मुकारुङ, मनु मञ्जिल, मिश्र वैजयन्ती, भूपिन । जोरदार तर्कको चापले चलाएको नेपाली साहित्यका प्रतिनिधि विचारको तुफान हेर्न लायक थियो । भेलाकोठाका भित्तामा ठोक्किएर थुरिँदै एउटा विचारको आँधी आउँदै थियो, पहिचान ।

संक्रमणमा पहिचानको संघर्ष

छालाको रंग, नश्ल, धर्म र जातपातका उँचनीचको मूल सामाजिक व्यवस्थामा छ । यसलाई समस्या मानेर केवल सामाजिक स्तरमै यसको समाधान खो ज्नु फूललाई टुप्पोमा पानी हालेर बोट मार्नुजस्तै हो । हिन्दुभित्रै पनि जातपातको भेद खेतीपातीमा काम विभाजन हुँदा सुरु भएको हो । चार वर्ण विभाजनमा के हिन्दुभित्रै पनि शोषण छैन र ? हिन्दु, शूद्र के सिमान्तीकृत होइन ? वैजयन्ती मिश्रले यस्तै सवाल उठाइन् । भूपिनले राजन मुकारुङको नयाँ किताबमा सिमान्तीकृतहरुको पक्षमा लेख्ने दर्बिला कवि केशव सिलवालको नाम कसरी छुट्यो भन्ने सवाल उठाए ।

आफ्नै समुदायबाट शोषित हिन्दु महिलाको पहिचानको लडाइँ त झन् पुरुषको लडाइँभन्दा दोब्बर गाह्रो छ । पहिचानको लडाइँ हिन्दुभित्रकै शूद्रहरुको पनि छ । नेपालमा मंगोल-भोट-बर्मेली मूलका सिमान्तीकृत र खसबाहुन मूलका केन्द्रीकृतको विभेद मास्नु भौतिक वा वैचारिक लडाइँ लड्न खोज्ने शक्तिले सामन्तवाद र उपनिवेशवादलाई मूल प्रतिपक्षी शक्ति चिन्नु जरुरी हुन्छ । सामन्तवादी ताकतप्रति मौन रहेर केवल जातीय हुँकार अव्यावहारिक आक्रोश साबित हुने सम्भावना हुन्छ । जातीय सामाजिक विज्ञान अनुसार सामन्ती साङ्लाहरु चुँडाउँदै बुर्जुवा वर्गको उदयले नै वास्तवमा कुनै समुदायको राष्ट्रिय स्वरूप तय गर्छ । छुट्टै भूगोलमा साझा अर्थ-राजनीतिक-सांस्कृतिक-भाषिक बुनोटभित्र रहेका समरूपी मानिसमा सामूहिक ‘राष्ट्रिय चेतना’ वा ‘राष्ट्रिय पहिचान’को प्रादुर्भाव ‘एक’पनको साझा मानसिक अनुभवबाट हुने गरेको छ ।

सामन्ती जुवाबाट उन्मुक्त समुदायले नै जातीयताको पहिचान हासिल गर्न राष्ट्रिय मुक्तिको लडाइँ लडेको इतिहास छ । सामन्ती चक्रबाट मुक्ति पुँजीको उदयबाट मात्र सम्भव छ । यस अर्थमा पहिचानको लडाइँ भनेको राष्ट्रिय पुँजीको उत्पत्ति र प्राप्तिको लडाइँ हो । पुँजीको छिटो विकास भएको अमे रिकामा राष्ट्रिय पहिचानको खोजीले वाल्ट हि्वटम्यानको १९औँ शताब्दीको लेखनबाटै अभिव्यक्ति पायो । पूर्वी युरोपमा पुँजीको ढिलो विकासले गर्दा बहुजातीय स्वरूप भएका राष्ट्रहरु पछिसम्म रहिरहे । यता एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा भने औपनिवेशिक प्रभुत्वका कारण राष्ट्रिय पहिचानको बहुरूपी उतारचढाव पाइन्छ ।

मान्छेको अतीत र समान सांस्कृतिक गतिविधिहरुबाट उसलाई अलगथलग पारिएपछि सुरु हुन्छ, पहिचानको संकट । गाउँलाई सहर बनाइनु वा आधा सहर-आधा गाउँ । सहरलाई नगर । नगरलाई कारखाना । यसरी मान्छेको पहिचानको संकट बिस्तारै मान्छेसँगको अन्तरघातबाट मेसिनसँगको अन्तरघातमा संक्रमित हुन्छ । यो पहिचान संकटले नेपाली पहिचानको साहित्यमा स्थान कहाँ पाउने हो र कसरी पाउने हो ?

भोकको छेउछाउ

नेपालजस्तो गणतन्त्रमुखी तर सामन्ती मुलुकमा जातीय पहिचानको सवाल केवल सांस्कृतिक विषयको संकुचित घेरोभित्र राखेर हेर्न मिल्दैन । यो सवाल त राजनीतिक सवाल हो । त्यो पनि केवल नेपालको सार्वभौमिक राष्ट्रियताभित्र नभएर नेपालका अन्तर्राष्ट्रिय सम्बन्ध (जस्तै, नेपाल-भारत, नेपाल-चीन, नेपाल-अमेरिका)को पृष्ठभूमि एवं वर्तमान जमिनको सवाल हो, पहिचानको सवाल ।

नेपालको सन्दर्भमा पिछडिएका समुदायको पहिचानको वास्तविक प्रश्न केही जटिलतामा जेलिएको छ । प्रथमत: यो प्रश्न धर्म र राजनीतिको अन्तरघुलनले धमिल्याएको देख्न पाइन्छ । त्यसपछि धेरै समुदायको जातीय स्वरूप परिपक्व अवस्थामा रुपान्तरण नभइसकेको स्थिति अर्को एउटा कारक हो । साथै, संक्रमणकालबाट गुजि्ररहेको देशको अर्थ-सामाजिक एवं अर्थ-राजनीतिक चरित्र त झन् ठूलै कारक हो । यसलगायत नेपालमा विदेशी पुँजीहरुको देख्य-गोप्य चलखेल पनि गतिलै कारक हो ।

गे-लेस्बियन, नारीवाद, पारिस्थितिकीजस्ता उप-सांस्कृतिक विषयको कुरा उठाउँदा हिन्दीका वरिष्ठ कवि-चिन्तक कालिकाप्रसाद सिंहले झोक्किँदै भनेका थिए एक दिन, ‘भोकको सामुन्ने यी सवाल सेकेन्डरी हुन् । यी सवाल सत्ताले जनतालाई आफ्नो मूल समस्याबाट कटाउन प्रायोजन गरेको थाहा पाउनुहुन्न ?’

हामी पहिचानको सवाललाई अर्थनैतिक वा राजनीतिक आयामबाट बेग्लै छुट्टयाएर हेर्न थाल्छौँ भने पहिचानको अवधारणा हावामा हल्लिरहेको हुनेछ । जसको कुनै जमिन हुने छैन । त्यो भ्रामक विचार मात्र बन्नेछ, जसले जनता र पाठकलाई उत्तेजित त गर्ला तर अन्त्यमा गुमराह नै गर्नेछ ।

पहिचानको विरोधाभास

प्रचुर आन्तरिक एवं बाह्य मानव स्थानान्तरण वा माइग्रेसन भोगिरहेको, भ्रष्टाचारको दलदलमा फसिरहेको, संविधान निर्माणको दीर्घकालिक सास कष्ट सहिरहेको, अनपेक्षित राजनीतिक उथलपुथलको गवाही दिइरहेको नेपाल आफ्नै बाध्यता र परिबन्दले गर्दा अस्थिर मुलुक हो । राजनीतिक र सामाजिक तहमा हल्लिरहेको मुलुकमा पहिचानको खोजी भनेको यस्तो समूहको खोजी हो, जुन स्थिर र निश्चित छ । तर, यो एकरूपी पहिचानको खोजी पनि विरोधाभासमा जेलिन्छ ।

समाजशास्त्री हार्वर्ड के ओर्लांदो पेटर्सनका अनुसार पहिचान यस्तो चुनाव हो, जुन यति तीव्र विश्वासले तय हुन्छ कि व्यक्तिसँग त्यस विशेष समूहको हुनुबाहेक केही विकल्प रहँदैन । यहीँनेर नेपाली समाजको सिमान्त पहिचानको लडाइँको अन्तरविरोधी चरित्र अन्तरनिहित छ । विकल्पहीन समाजको लडाइँ होइन, नेपालको सांस्कृतिक अभियान । जातीय संस्कृतिलाई साहित्यमा उतार्ने कवि-सर्जकको दृष्टिकोण आफ्नो जातिको पहिचानको अन्यान्य समुदायसँगको अन्तरसम्बन्धको दार्शनिक बुझाइले नै तय गर्न सक्छ । नत्र, हरेक चोटिलो जातीय सांस्कृतिक सिर्जना पूर्वाग्रही हुने जोखिम रहिरहनेछ, जसको काम पाठकलाई उत्प्रेरित गर्नुको साटो संकुचित पार्नु नै हुनेछ ।

अतिको जोखिम

इतिहासकार एरिक हब्सबमले पहिचानमाथि २ मई १९९६ मा लन्डनको इन्स्िटच्युट अफ एजुकेसनमा पहिचानको राजनीतिमाथि दिएको व्याख्यान यस सन्दर्भमा जरुरी दस्तावेज हो । तिनले राखेका पहिचानसम्बन्धी विचार चालू मान्यताको प्रतिलोमी तर मननयोग्य छन् ।

– सामूहिक पहिचानलाई नकारात्मक रूपले परिभाषित गरिएको हुन्छ, अर्थात् ‘अरू’को विरुद्धमा । हामी एकार्कालाई साख्य यस कारण ठान्छौँ कि हामी उनीहरुबाट ‘अलग’ छौँ ।

– वास्तविक जीवनमा पहिचानलाई कपडाजस्तै फेर्न सकिन्छ वा कुनै विशेष एकथरी कपडाको सट्टा धेरै थरीको मिसाएर लगाउन सकिन्छ ।

यिदि तपाईंले तमाम सम्भावित पहिचानमध्ये कुनै एउटा छानिहाल्नुभएको छ भने पनि पहिचान वा त्यसको अभिव्यक्ति स्थिर रहिरहँदैन ।

– पहिचान सन्दर्भमाथि निर्भर गर्छ र सन्दर्भ फेरिन सक्छ ।

‘अरू’को विरोधले आफ्नो जातीय गौरव ‘जातीय अभिमान’ वा चाह्विनिजममा फेरिने जोखिम त छँदै छ । त्यसले जातीय पहिचानको कुरा फासिजममा पुग्न नसकोस् भनेर ध्यान दिनु जरुरी छ । यो अनपेक्षित अतिवादको भय हो ।

पहिचान फेर्न योग्य छ । समय अनुसार पहिचानको पनि परिवर्तन हुनु कहिलेकाहीँ आवश्यक हुन्छ । पहिचानको अभिव्यक्ति अस्थिर वा गतिमान छ । त्यसैले फेरिँदो सौन्दर्यका आधारबारे स्पष्ट हुनु जरुरी छ । कुन कुन पृष्ठभूमिमा रहेर अनुभूतिका रेखाहरु सरलदेखि वक्र र वक्रदेखि सरल बन्दै छन् भन्ने पड्ताल गर्नु आफैँमा एउटा चुनौती हो ।

सपनामा ‘नयाँ नेपाल’

कुन सामाजिक, राजनीतिक सन्दर्भमा कुरा उठाइँदै छ, यो प्रश्न टकटक्याउनै सकिँदैन । निश्चित रूपले सामन्ती समाजमा पहिचानको मुद्दा जसरी उठ्छ, पुँजीवादी समाजमा त्यो अर्कै किसिमले उठ्ने गर्छ । नेपालको परिप्रेक्ष्यमा पनि उठिरहेको पहिचानको सवाल भनेको नेपालको राष्ट्रियताको सामन्ती ने लहरुबाट वास्तविक मुक्तिको सवाल हो । एउटा ‘नयाँ नेपाल’को निर्माणको सवाल हो ।

आत्मनिर्भर र स्वावलम्बी अर्थनीतिको बलियो जगमै नेपालका साहित्यकारहरुले देख्दै गरेको सपनाको नेपाल बन्न सम्भव छ । यो ठोस सत्यलाई सोझै नकारेर वा यो सवाल फजुलको हो भनेर मुख फर्काउनुले प्रस्तावित पहिचानको सवाल भ्रामक हुन जान्छ । नेपालको परनिर्भर व्यवस्थाबाट मुक्तिले नै ने पाली जनतालाई वास्तविक पहिचान दिने हो । यो सवाललाई गौण देखेर चल्ने हो भने ‘केन्द्रीय ब्राह्मणवादी’ र ‘नव-ब्राह्मणवादी’ (योगी नरहरिनाथ वा गोपाल गुरुङमार्का) शक्तिहरुविरुद्ध क्षेत्रीय र स्थानीय तहका समस्त रंगवादी, जातीय वा गोष्ठीगत संघर्षले अर्थ र गुरुत्व गुमाउने निश्चित छ ।

बुद्ध वाज बर्न इन नेपाल

एकल वाचनको सिलसिलामा काठमाडौँ यात्रामा थिएँ । केही होटलको भित्ता, केही बसका काँचमा एकै खाले स्टिकर देखेँ : बुद्ध वाज बर्न इन नेपाल । एउटा मान्छेले आफ्नो टाउको देखाउँदै यो मेरै टाउको हो भन्नु परिरहेको अवस्थाजस्तै । नेपालले दाबी गरिरहनुपर्ने कि बुद्ध नेपालमै जन्मिएका थिए ? कति ठूलो विडम्बना ! नेपालले म नेपाल हुँ भनिरहनुपरेको स्थिति हो यो । प्यालेस्टाइनले म प्यालेस्टाइन हुँ, कश्मीरले म कश्मीर हुँ, दार्जीलिङले म दाजीर् लिङ हुँ भन्नु परिरहेको स्थितिजस्तै । अहिले पनि प्यालेस्टाइन, कश्मीर, दार्जीलिङहरुको आवाज सुनिँदैन । तिनीहरु चिनिँदैनन्, जसरी तिनीहरुको परिचय हुनुपर्ने हो । म काठमाडौँ जाँदा मोदी नेपाल आउने हल्लाले नेपालको हावा तातिएको थियो ।

भारतको आमनागरिक म फर्किएँ । प्रधानमन्त्री पुगेछन् । गौतम बुद्धले नेपालमा जन्म लिनु नरेन्द्र मोदीले नेपाल भ्रमणमा दिएको बयानले तय भएको भान हुन्थ्यो । एकातिर त्यही भारतीय समुदाय बुद्ध भारतमा जन्मिएका हुन् भन्ने अन्धा दावा र प्रचार गरिरहेको हुन्छ, अर्कोतिर त्यही देशका प्रधानमन्त्री ध्यानाकर्षणको तिकडमस्वरूप बयान दिन्छन्, ‘बुद्ध नेपालमा जन्मिएका थिए ।’ राजन मुकारुङ इटहरी महोत्सवको पहिलो दिन कवितापाठ चलिरहेका बेला हलबाहिर झोक्किँदै थिए, तिनै मोदीले जापानमा गएर चाहिँ बुद्ध जापानमा जन्मिएको भने । अब कुरा पत्याउने त ?

पहिचानको संकट यसैले नेपालको राजनीतिक घेराभित्र त छ नै बाहिर पनि छ । सन् १८१६ को ‘सुगौली सन्धि’ले नेपाललाई धेरै अर्थमा कम्प्रमाइज गर्न लगाएको हो । सन्धिअघिसम्म औपनिवेशिक ताकतअघि घुँडा नटेकेको नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय प्रभाव र दबाब त थेग्नै परेको छ । बुद्ध जन्मस्थान प्रकरण यही अन्तर्राष्ट्रिय राजनीतिक सत्यको एउटा गतिलो दृष्टान्त हो । बीचबीचमा सगरमाथाको उचाइको अन्तर्राष्ट्रिय विवाद पनि चलिरहेकै छ ।

बेनामहरूका नाममा

हामीलाई के चाहिएको छ, त्यो बुझ्ने थोरै छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले निबन्ध ‘शिक्षा’मा लेखेका छन् । साहित्यले गर्न सक्ने काम समाजको चलायमान प्रतिविम्बन हो । बदलिँदो नेपालको जमिनी सच्चाइमध्ये एक ज्वलन्त सिमान्तीकृत मुद्दा हो । यसलाई सही दिशा दिनु पनि आजको नेपालको साहित्यको ठूलै भूमिका छ । सामाजिक, राजनीतिक, आर्थिक, अन्तर्राष्ट्रिय समीकरणहरुको परिप्रेक्ष्यमा नेपालको सिमान्तीकृतको मुद्दाको स्पष्ट अडान साहित्यले नै अघि ल्याउन सक्छ । पहिचानको सवाललाई झर्रो पारेर लैजान साहित्यले नै सक्छ । यसरी यही पहिचानको व्याख्याले नै ‘नयाँ नेपाल’को शोषणमुक्त मान्छेको खाका दिन सक्ला ।

साहित्यले जिउँदो रहिरहनलाई सामाजिक सरोकारका विषयमा सामेल हुनुपर्ने साहित्यको इतिहासले सिद्ध गरेको छ । साहित्यले पहिचानको संकटलाई सम्बोधन गर्नैपर्छ र समस्याको सम्भावित समाधानमार्गतिर पनि इसारा गरिदिएको हुनुपर्छ । साहित्य आफैँमा यसरी पहिचानको लडाइँ भइदिन्छ, पाइतालातल्तिरका मान्छेका लागि, जसको रंग, उचाइ, गोत्र, थर त टाढाको कुरा, नामसमेत अपहरण भएको छ ।

प्रकाशित: आश्विन १२, २०७१

(स्रोत : नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.