~नवीन रायमाझी~
एउटा सपनाको पछाडि
दौडिरहेको छु
के थाहा ?
यो सपना पूरा हुन्छ कि हुँदैन
सपना फुल्छ कि फुल्दैन ?
तैपनि,
एउटा आशाको दियो बालेर
निरन्तर दौडिरहेको छु
निरन्तर पदचाप बनाइरहेछु ।
यो मेरो सपना
केवल सपना मात्र होइन
मेरो अतृप्त इच्छा हो
मेरा मनको ल्याप्चे
मेरो जिन्दगीको लक्ष्य
मेरो हिँड्ने राममार्ग अनि गोरेटो
सयौँ दिनदेखि
मेरो आँखामा सजाइरहेको
मनमा रोपिरहेको थिएँ ।
मेरो सपना
मेरो चाहनाको सगरमाथा ।
मैले अँध्यारा रातहरू देखेको छु
कालो चूकको साम्राज्य
बलेको दीपबाट
निरन्तर सुनौला आभाका ज्योतिहरू
बिना रोकटोक फैलेको देखेको छु
तर,
त्यसको ठीक तल
गजधम्मे
अँध्यारोलाई पनि देखेको छु ।
सपना के हो ?
पाउनु मात्र हो ?
कि त्याग पनि हो ?
कर्तव्यप्रतिको परिश्रम ?
प्रकाशित: जेष्ठ १८, २०७१
(स्रोत : नेपाल साप्ताहिक)