~रोहित खतिवडा~
म कोलम्बस,
हिँडेर कोही नहिँडेको जीवनपथ
पुग्नु छ पहिलोपल्ट
आफ्नै जीवनको अमेरिका ।
म तेन्जिङ,
उक्लिएर कोही नउक्लिएको जीवनशिखर
चुम्नु छ जीवनको सर्वोच्च आनन्द ।
त्यस्तो ठेगान नै कहाँ छ र
कसैले तोकिदिएको
पुगौं त्यहि ठेगानमा
त्यस्तो पथ कहाँ छ र
कसैले प्रदर्शन गरिदिएको
चढौं त्यसैलाई पछ्याएर ?
म प्रथमयात्री
मेरो जीवनयात्राको ।
म बुद्ध,
मेरो दुःखको कारण पत्ता लगाउनु छ
म क्राइष्ट,
आफूलाई मुक्त गर्नु छ
म वाल्मिकी,
लेख्नु छ आफ्नै जीवनको रामायण
म मार्क्स,
पत्ता लगाउनु छ
आफ्नै जीवनको दर्शन ।
केही चलेका रीतिसामू म आत्मसर्मपण गरुँ
केही भएका थितिहरु मसामू आत्मसमर्पण गरुन्
कहिले पहाड बनूँ र उभिउँ आँधी–समय सामुन्ने
कहिले नदी बनूँ र बगूँ परिवर्तन–समयसँगसँगै
अलिकति बाँचौं पुर्खाले आर्जेका अनुभव चोरेर
अलिकति बचाउँ आफूले आर्जेका अनुभव बाँडेर ।
समाजको यहि गतिलाई पछ्याउँदै
पुग्ने हूँ म यही समाजसम्म
संसारको यहि रितलाई भत्काउँदै
बाँच्ने हूँ म यही संसारमा ।
म जीवन,
ब्रम्हाण्डको सुक्ष्म अंश
बाँच्नु छ
कसैले नबाँचेको ढंगमा ।
(स्रोत : Hulaki)