~राजकुमार बास्तोला~
अनिश्चितताले रुमलिएको जीवन
बाधाहरूले भरिएको बाटो
जिउनेको जीवन छैन
हाँस्नेको मन छैन
आशा छ, पूरा हुने सपना छैन
र पनि हाँसेको छ
जसोतसो जिउने मान्छे ।
हिंसाको कोलाहलमा जिउँदा जिउँदा
कुँडिएको उसको मन
चिताहरू जलेको दृश्य देख्दा
चँुडिन लागेको उसको दृष्टि
एक रत्ति पनि नपलाउँदै ऊ कति शान्त छ
जीवन छ जीवनको रंग छैन
र पनि कति संयम छ
जसोतसो जिउने मान्छे ।
आश्वासनका अलापहरू सुन्दा सुन्दा
कानै टट्याएको छ
परिवर्तनरूपी कायाको पर्खाइमा
मन बहकिएको छ
वियोग मात्र छ, संयोग कहिल्यै छैन
जीवनरूपी रंगमञ्चमा रमाउने क्षण छैन
र पनि रमाएको छ
जसोतसो जिउने मान्छे ।
परिवर्तनको लडाइँ लड्दा लड्दा
प्रजातन्त्र हुँदै गणतन्त्र पुगिसक्यो
रगत र लासहरूको हिसाब गर्दा
असंख्य नाघिसक्यो
स्वतन्त्रता छ, ऊ स्वतन्त्र छैन
जीवन उही तर मूल्य घट्दो छ
र पनि जिएको छ
जसोतसो जिउने मान्छे ।
(स्रोत : नेपाल साप्ताहिक)