~तृष्णा राज्यश्री कुँवर~
एयरपोर्ट बाहिर विदेशिने तरखर गरिरहेका युवाहरूको ताँती छ । कोही निन्याउरो अनुहार लगाइरहेका, कोही खुसीले चहकिरहेका, कोही सशङ्कित, कोही भयभित, कसैका आमाबाबुको आँखाबाट आँसुको धारा बगिरहेको, कसैका श्रीमती अँध्यारो मुख पारेर बसेकी, यस्तैयस्तै दृश्य देखिन्छ यहाँ । “छोट्वा कागजपत्रको ख्याल गरेस्, विदेशमा एउटा सानो कागज छुट्यो भने पनि खुब दुःख पाइन्छ” म छोट्वालाई बारम्बार एउटै कुरा सम्झाइरहन्छु । “दलालीले धोखा नदिए हुन्थ्यो । कागजपत्र सबै उसैको जिम्मा लगाइयो, अब के हुने हो ? उता गएर पनि भने जस्तो हुने हो कि नाइँ ।” विमानस्थल नजिकै पुगेपछि छोट्वा झन्झन् आत्तिदैछ ।
“ठगिएँ भने त बर्बादै हुन्छ । धेरै मान्छे दलालीले गर्दा घर न घाटका भएका छन् । मेरो पनि त्यही हालत त हुने होइन ? खोई अहिलेसम्म कोही आएका छैनन् । म्यानपावर कम्पनीका मान्छेले छोट्वालाई एयरपोर्टमै भेट्ने समय दिएका थिए ।
“आउँदै होलान् तिमीहरूलाई अलि चाँडै बोलाएको होला, यसरी अत्तालिस भने उता गएर कसरी काम गर्छस् ?” म अधीर भएको छोट्वालाई समातेर आफू नजिकै बसाउँछु ।
“म त ठगिएँ क्या हो ? अब यत्रो रिन कसरी तिर्ने हो ?” छोट्वा जुरुक्कजुरुक्क उठ्दै बस्दै गर्न थाल्यो ।
“के गर्ने मानिनस् त ? यतै सानोतिनो काम गर, विदेश न जा भनेको त हो नि । रिन गरेरै कमाउन जाने आँट गरेपछि अब हिँड्ने बेलामा खुट्टा कमाउनु हुँदैन । फेरि हामीलाई पनि नजाती लाग्छ” म उसको मायाले आँखामा उम्रेको आँसु पुछ्दै भन्छु ।
“नगई सुखै पाइनँ । बाबुबाजेले सारा जिन्दगी हजुरकै माइतीमा बिताए पनि एक धुर घडेरीसम्म जोड्न सकेनन्, सुकुम्बासी भएर कतिञ्जेल बस्ने भनेर मात्रै जान लागेको ?” छोट्वा आˆनो विवशता अरूले सुन्ने गरी बोल्छ । यहाँ उभिएका सबै युवाहरूको व्यथा-कथा उस्तै त हो नि ! गरिबीको कुचक्रबाट माथि उक्लन पाइएला कि भन्ने आशामा खाडीतिर भास्सिन हिँडेका । कति दुःख पाइने हो ठेगान छैन तर अनिश्चित सुखको आशामा मुलुक छोडी मुग्लान भास्सिन आतुर छन् सबै । कतिले घर-जग्गा बन्धकी राखे होलान्, कतिले श्रीमती आमा र दिदी-बहिनीका नाक-कान रित्तो पारे होलान् । सय कडा दससम्म ब्याज बुझाउने गरी रिन काढेर दलालीको हातमा पैसाको बिटो थम्याएपछि बल्लतल्ल यहाँसम्म आइपुगेका हुन् । अझै उड्न पाइने हो कि हैन भन्ने त्रास छ । उता गएर भने जस्तो हुने हो कि होइन भन्ने डर छ । छोट्वा पनि अरू युवाहरू सरह सुईसुई सुस्केरा काढ्दै घरि यता घरि उता पल्याक्पुलुक गर्दैछ ।
ऊ हाम्रो घरको हरुवा भिखु सहनीको छोरो, भोरा सहनीको नाति हो । बाजे हाम्रो आँगनमा मरियो, बूढो बाबु हाम्रो घर छेउको कटेरोमा थला परेर काल कुरिरहेको छ । छोट्वा दुई हो कि चार कक्षासम्म हामीसँगै स्कुल जाने आउने गथ्र्यो । बाख्रा डोर्याउन सक्ने भएपछि ऊ खसीबाख्राको बथान लिएर स्कुल हुँदै खेततिर जान्थ्यो भने हामी झोला बोकेर कक्षा कोठातिर लाग्थ्यौँ । मास्टरले कदमको रूखमुनि पाठ घोकाइरहँदा छोट्वा बाख्रा हेर्न छाडेर हामीलाई नै टुलुटुलु हेरिहरन्थ्यो । उसलाई हामी बकराह भन्न थाल्यौँ । बालख छोट्वा किशोर भयो अनि भैँसी चराउने काम उसको जिम्मा पर्यो अर्थात् ऊ चरवाह भयो तर फुर्सत पायो कि म बरण्डामा बसेर पढिरहेका बेला ऊ मेरो किताब कापी वल्टाइपल्टाइ गरिरहन्थ्यो । छोट्वाका तिघ्रा र पिँडुला बलिया भएपछि भैँसी गोठालोबाट बढुवा भई ऊ पनि हरवाह नै भयो र खेतमा हलोसँगै जोतिन थाल्यो । तरुनी हुनासाथ बिहे भई म पनि काठमाडौँ आएँ । माइतीघर जादा-आउँदा गाउँका अरू केटाहरूझैँ छोट्वाले मसँग विदेशिने सल्लाह माग्थ्यो । म न जा भन्न सक्दिनथेँ किनभने यहाँ बस्यो भने उसले जिन्दगी भरिमा एउटा छाप्रो पनि कमाउन नसक्ने स्थिति थियो । फेरि त्यो बेला युवाहरू जङ्गल पस्ने डर आˆनो ठाउँमा छँदै थियो । मैले दिएको निब्र्याजी रिन दलाललाई बुझाएर ऊ आज खाडीतिर उड्दैछ ।
“माइत गएको बेला हाम्री आमालाई सम्झाइदिनु होला, फुलवालाई नपिटुन् भनेर । दुई जिउकी श्रीमतीलाई कडा मिजास भएकी आमाको भरमा मात्रै छोड्नुपर्दा छोट्वाको मनमा कस्तो हुन्डरी चलिरहेको होला ?
“हुन्छ, हुन्छ तँ यताको पिर नगर् । यस्तो गरिस् भनी के जाँगरले उता काम गर्छस् ? रिन तिर्नुपर्छ, घर बनाउनुपर्छ, स्वास्नीको मायाले चाँडै नफर्किनु नि” म मुटु नै नभएझैँ गरी उसलाई अर्ती-उपदेश दिन बाध्य भएँ ।
“म हजुरको रिन र गुन जसरी भए पनि तिर्नेछु, बाबालाई औषधि गर्न र फुलवालाई सुत्केरी गराउन …” योभन्दा बढ्ता ऊ बोल्नै सक्दैन ।
“तँ ढुक्क भएर जा न, फुलवा र बाबालाई हामी हेरविचार गरौँला” सासुबुहारीले माइतीको चुल्होचौको र घरधन्दा गरेर छाक टारिरहेको हुँदा मर्नै लागे बचाउनु हाम्रो पनि धर्म हो ।
“म पैसा पठाउँछु हजुुरले आˆनोêरिन कटाएर बाँकी बचेको घर पठाइदिनु होला” यति भन्न पाउँदा छोट्वाको अनुहार अलि उज्यालो भयो । त्यहाँ आशाका हजारौँ किरणहरू एकैसाथ झिलमिलाइरहेको देखेँ मैले ।
“तैँले भने जस्तै होस्, दुई चार वर्ष टिकेस्, दुई चार लाख कमाएरै फर्केस्” बिहान हिँड्ने बेलामा टीका लगाइदिँदै दिएको आशीर्वाद फेरि दोहोर्याउँछु म । हाम्रा गाउँका अरू ठिटाहरू चेतन, बुधन, जगना, विरुहरू पनि खाडी जान त्यहीँ उभिएका छन् । उनीहरू एउटै म्यानपावर कम्पनीमार्फत कतार जानका लागि आज उड्दैछन् ।
एजेन्टलाई भेटेपछि दङ्गदास भई झोला बोकेर उनीहरू सबै एयरपोर्टभित्र पस्ने तरखर गर्न लागे । हिँड्ने बेलामा छोट्वाको कदम फेरि लडखडायो- “मलाई त जाउँ कि नजाउँ भयो । पोहोर इराकमा रेटिएका नेपालीहरूझैँ हामी पनि उतै मरिने पो हो कि ? म मरे भने फुलवाको गर्भमा रहेका मेरो सन्तानको भविष्य के होला ? हुर्केपछि उसलाई आˆनै घरमा काम लगाएर भए पनि स्कुल पठाइदिनु होला है Û छोराछोरी जे भए पनि उसैलाई भाँडा मझाएर आˆनो रिन उकास्नु होला, म मेरो नासो हजुरलाई सुम्पेर जाँदैछु” रुँदै गरेको छोट्वालाई उसका साथीहरूले फकाइफुल्याई पारेर भित्र लगे म चिसा आँखाले ऊतिर हेर्दै ओझेल नहोउञ्जेल हात हल्लाइरहन्छु । मेरा कानमा उसको नजन्मेको बच्चाको च्याहाँच्याहाँ आवाज लगातार सुनिन्छ । “नासो कि बन्धक ?” मेरो मुखबाट फेरि यही शब्द फुत्किन्छ
(स्रोत : मधुपर्क २०६६ असार)