~दिनेश बराल~
मट्याङ्ग्रा बनाउन पनि काम लाग्छ
माटो भाडा बनाउन पनि काम लाग्छ
र त माटो जीवन र मरणको दोसाधमा
सधै उभिइरहन्छ
माटोको छुट्टै अस्तित्व छ
माटोको छुट्टै स्थायीत्व छ
त्यसैले त माटो
मुर्ति बनाउन पनि काम लाग्छ
माटोले कहिलै गरिबी उमार्दैन
अरुको पसिनाबाट सिंचित भएर
आफ्नो घमन्डका फोहोराहरु
अरुको अनुहारमा छ्यापेर
तान्डब नृत्य पनि देखाउदैन
माटोले भोक जगाउछ
तर भोकमरी छर्दैन
माटोले भोग पनि जगाउछ
तर उन्माद जन्माउदैन
त्यसैले त माटो,
माटो भएर बाच्न सकेको छ
माटो आफै कहिलै टुक्रिदैन
न कसैले टुक्र्याउन सक्छ
माटो आफै जोडिदैन
न कसैले जोड्न सक्छ
माटो तटस्थ छ
निडर छ
र स्वभिमान छ
त्यसैले त माटो
माटो भएर बाच्न सकेको छ
माटोले आफ्नै छातिमा उभिएर
आफ्नो गुणगान गाउदै
आफ्नै नाममा
सफेद कचौरा बोकेर
माग्नेहरुको भिड मन पराउदैन
र मन पराउदैन
खल्ति भित्रका चिल्साहरु
स्वेत कपडाको कफन बेरेर
खुब दानी बन्नलाई
दान पात्रमा
सियो बनेर छिर्ने सभ्यहरुको लाम
त्यसैले त माटो
माटो भएर बाच्न सकेको छ
माटो कहिलै किनिदैन
र कसैले किन्न पनि सक्दैन
ठुलो महलको सुन्दर सो केसमा
युवतीको नरम हातहरुको
मिठो स्पर्ष खादै
गाठवाला ग्राहकको
लिलाम बढाबढमा बसेर
माटो कहिलै बेचिदैन
र कसैले बेच्न पनि सक्दैन
तर
माटो किनिएका र बेचिएका
आर्जिएका र गुमाएका
थुप्रै इतिहासहरु
टेप रेकडरको भाषा
खुब रटाइन्छ
घोकाइन्छ
र पियाईन्छ
तर मलाई यि खोक्रा ईतिहासहरु
दन्त्य कथाको राक्षसका
रगतले लतपतिएर बनेको
मधुरो आकृती जस्तै लाग्छ
माटोको आफ्नै गन्ध छ
दुर्गन्ध त नाकहरुमा छन्
माटोमा आफ्नै सहनशिलता छ
उत्श्रृङखलता त खुट्टाहरुमा छन्
माटोको पनि आफ्नै नियम छ
माटो आगो हो
र पानी पनि
माटो उर्वरा हो
र भष्म पनि
नजिस्कनु माटो सगँ
अपमान पनि नगर्नु
माटोले आफ्नो दायरामा
स्वभिमान भएर
वाच्न जानेको छ
त्यसैले त माटो,
माटो भएर बाच्न सकेको छ ॥
(स्रोत : Nepalpati)